एमाले बागलुङले तोक्यो चुनावी कमाण्डर


आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका सवै उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर तोकेको छ ।

पार्टीको मंगलवार बसेको जिल्ला सचिवालय बैठकले जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका ६ सिटमा नै पार्टीका उम्मेदवारलाई जिताउने उद्घोषका साथ निर्वाचन कमाण्डर तोकेको पार्टी अध्यक्ष हिरा बहादुर केसीले बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य लिला वहादुर थापा मगर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को कमाण्डर भएका छन । सोही क्षेत्र प्रदेश सभा ‘क’ को कमाण्डरमा पार्टीका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा र ‘ख’ को कमाण्डरमा केन्द्रिय सदस्य सावित्रा रानालाई चयन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को कमाण्डरमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द नेपाली र सोही क्षेत्रको प्रदेश सभा ‘क’ को कमाण्डरमा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य बाबुराम नेपाली र ‘ख’ को कमाण्डर देव कुमार नेपालीलाई तोकेको जिल्ला सचिव विष्णु भुषालले बताए ।

बैठकले पार्टीभित्रको सुदृढ एकता, विपक्षभित्रको अन्तरकलह र एमालेप्रतिको जनताको आकर्षणका कारण जिल्लाका सवै सिट एमाले जित्ने निश्कर्ष निकालेको छ । त्यसका लागि ६ वटै क्षेत्रमा सहकमाण्डर पनि तोकेको छ ।

बैठकले जिल्ला निर्वाचन परिचालन कमिटी गठन गर्दै जिल्लाका सवै पार्टी नेता र कार्यकर्ताहरुलाई निर्वाचन खट्न निर्देशन दिई विशेष कार्ययोजना निर्माण गरेको छ ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा डा सूर्य पाठक, प्रदेश सभा ‘क’ मा हिरा बहादुर केसी र ‘ख’ मा नवराज पौडेल तथा क्षेत्र नं २ मा मञ्जु चालिसे, प्रदेशसभामा ‘क’ मा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सहयोग गर्ने र ‘ख’ लक्ष्मण पुनलाई उम्मेदवार बनाएको छ ।

आफ्ना पार्टीका उम्मेदवार अरु पार्टीका भन्दा अब्बल र जनतासँग घुलमिल भएकाले पनि पार्टीको जीत सुनिश्चित रहेको पार्टी सचिव भुषालले बताए ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य लिलवहादुर थापा, मन कुमारी केसी, केन्द्रिय सदस्य गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, कृष्ण वहादुर केसी, सूर्य पाठक, सावित्रा राना र प्रदेश कमिटीका सदस्यहरुले पार्टी कामलाई ब्यवस्थित बनाउदै जनताको घरदैलोमा पुग्न निर्देशन दिए ।

जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षतामा भएको बैठकको सञ्चालन जिल्ला सचिव विष्णु भुषालले र स्वागत उपाध्यक्ष लक्ष्मण पुनले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *