प्रतिगमनको परिभाषा बदल्न गठबन्धनलाई एमाले अध्यक्ष केसी सुझाव

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ क का प्रदेशसभाका प्रत्यक्ष उमेदवार हिरा बहादुर केसीले प्रतिगमनको परिभाषा बदल्न गठबन्धनमा आवद्ध राजनीतिक दलहरुलाई सुझाव दिनु भएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिकाको बुधवार आयोजित सचिवालय बैठकलाई सम्बोधन गर्दै केसीले खासमा प्रतिगमन कसरी हुन्छ भन्ने विषयमा जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

गठबन्धनमा आवद्ध दलहरुसंग चुनावी एजेण्डा छैन, राष्ट्रियता, आर्थिक अवस्था, नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता विषयमा गठबन्धन बोल्नै सक्दैन, उसको एउटै नारा छ, एमाले प्रतिगमनकारी हो, एमालेलाई हराउनु पर्छ, केसीले भन्नुभयो–प्रतिगमनको खास परिभाषा के हो भन्ने कुरा जनतालाई बुझाउन आवश्यक छ ।

प्रतिगमन एमालेले नभई सर्वोच्च अदालतले गरेको केसीको भनाइ छ । संसारमा प्रतिगमन अदालत र सेनाबाट भएका थुप्रै उदाहरणहरु प्रस्तुत गर्दै केसीले नेपालमा पनि सेना र अदालतको आडमा प्रतिगमन भएको दावी गर्नु भयो ।

नेपालको सार्वभौम सत्ता जनतामा निहित छ, जनताले आवधिक निर्वाचनमार्फत आफ्ना प्रतिनिधिलाई संसदमा पठाएर सरकार निर्माण गर्छन, त्यो सरकारलाई सेना वा अदालत लगाएर खारेज गर्नु र परमादेशबाट सरकार निर्माण गर्नु खासमा प्रतिगमन भएको केसीको भनाइ छ ।

सरकार बनाउने काम संसदको हो, संसदलाई थाहै नदिई सर्वोच्च अदालतले सरकार बनाएकाले वर्तमान सरकार प्रतिगमनकारी सरकार भएको केसीको आरोप छ । यो सरकार प्रतिगमनकारी हो, यो गठबन्धन प्रतिगमनको मतियार हो, हामी यही कुरा लगेर जनताका बीचमा जादैछौ केसीले भन्नुभयो ।

संसद विघटन गरेर निर्वाचनमा जाने कुरा प्रतिमगन देख्ने गठबन्धनले अदालतको आडमा आफै प्रतिगमन गरेको कुरा जनतालाई बुझाउन सिंगो एमालेजनलाई केसीले आव्हान गर्नु भयो ।
गठबन्धनसंग चुनावमा जाने एजेण्डा नभएपछि प्रतिगमनको राग अलागेको आरोप लगाउदै केसीले परमादेशबाट बनेको सरकारले यो डेढ वर्षमा गरेका काम, राष्ट्रियता, नागरिकता विधेयक, आर्थिक अवस्था लगायतका विषयमा जनताले धेरै बुझिसकेकाले आगामी मंसिर ४ गते एमालेलाई मत दिनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

बागलुङको सन्दर्भमा गठबन्धनमा रहेका दलहरु भित्रै धेरै अन्योलता रहेको चर्चा गर्दै केसीले एमसीसी, एसपीपी, नागरिकता विधेयक, राष्ट्रियता लगायतका विषयमा मौनता साध्नेहरु जनताका प्रतिनिधि हुन नसक्ने केसीको भनाइ छ ।

बैठकमा एमाले पोलिटव्यूरो सदस्यहरु लिला बहादुर थापा मगर, पोलिटव्यूरो सदस्य मना केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा लगायतले पार्टीको सम्पूर्ण शक्ति एकतावद्ध भएर गठबन्धनलाई पराजित गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न वैठकले पालिकाका ८ वटै वडामा निर्वाचन केन्द्रीत अभियान सञ्चालन, युवा महिला लगायत जनसंगठनको परिचालनका विषयमा योजना निर्माण गरेको सचिव विद्यापती शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *