सम्पादकीय
‘शताब्दी पुरुष’ अर्थात् संस्कृतिविद सत्यमोहन जोशी आइतवार विहान अस्ताए । उनी यस्तो नेपाली भाग्यमानी पात्र हुन्, जसले १०३ वर्षको उमेर आयु बाँचेनन् मात्रै, यो मुलुकका बिभिन्न पाटोमा महत्वपूर्ण योगदान दिएर अनेकन इतिहास रचे, राज्य र नागरिक, संघ संस्थाका तर्फबाट उल्लेख्य मान, सम्मान र पदवी पाए । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको समाचारले सिंगो नेपाल स्तब्ध बन्यो । वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी प्रति उच्च श्रद्धा र सम्मान थियो र छ । यद्यपि, भिन्न भिन्न शासन व्यवस्था बेहोरेका उनलाई केही राजावादी र केही अवसरवादीको आरोप भने लागेको थियो ।
औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक देखि पुरातत्व विभागका निर्देशक, नेपाल–अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी, तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भएर काम गरे । संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशीको समाजमा बहुआयामिक भूमिका र योगदान छ । उनी इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानमा पनि महत्वपूर्ण भूमिका खेलका छन् । जोशी यस्तो साहित्य सर्जकको रुपमा पनि स्थापित भए, जसले तीन पटक नेपाली साहित्य वाङ्मयको प्रतिष्ठित पुरस्कार तीन पटक सम्म पाए । वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाए भने त्यसअघि हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ साल र र नेपाली राष्ट्रिय मुद्रा ग्रन्थका लागि २०१७ सालमा मदन पुरस्कार पाए । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपालको नक्साका परिकल्पनाकार, कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि जोशी पहिलो व्यक्ति हुन् ।
जोशीको भौतिक शरीर उनकै आग्रहमा चितामा जलाइएन । उनी जीवित हुँदा जुन आदर्शका साथ जीवन बाँचेका थिए, मृत्युपर्यन्त पनि उनले शरीर दान गरेर महान कर्म र सन्देश नेपाली समाजलाई दिएका छन् । आफ्नो व्यक्तिगत स्वार्थ, खुसी, धनदौलतका लागि जे पनि गर्न तयार हुने समाजमा जीवन, मृत्यु र यसबिचमा बाँच्नुको सार्थकता खोज्न प्रेरित गरेका छन् । एक मानिस भएका हिसाबले सत्यमोहनका पनि कमजोर पाटो पनि थिए होलान् । बाँच्दा सम्म आलोचना गर्ने, खेद्ने र मृत्यु पछि प्रंशसा गर्ने परिपाटी व्याप्त छ । शताब्दी आयुको दुर्लभ जीवन बाँच्दा सत्यमोहनले समाज र देशका खातिर जे जति योगदान, भूमिका, त्याग र समर्पण गरेका छन् । त्यो सदैव स्मरणीय रहनेछ । उनी दिवंगत रुपमा अस्ताए पनि अध्ययनका लागि राखिएको उनको भौतिक शरीर, उनले छोडेका असंख्य कृतिहरु, महत्वपूर्ण योगदानहरुका कारण नेपाल र नेपालीले सम्झिरहनेछन् । अन्त्यमा, अलविदा शताब्दी पुरुष ! शताब्दी शताब्दी मृत्युपश्चात पनि बाँचिरहनेछन् आफ्ना पृथक कर्महरुले ।