प्याराग्लाइडिङ रोक्ने कि सुरक्षित बनाउने ?

सम्पादकीय
एकैदिन प्याराग्लाइडिङका दुई खबर सँगसँगै आए । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना मात्र भएन, दुर्घटनामा परेर एक खेलाडीको मृत्यु भयो । खेलाडीको मृत्युको खबरले सिंगो प्रतियोगिता आयोजक, खेलाडी लगायत सबै स्तब्ध भए । प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण जित्ने अभिलाषा राखेर आकाशमा उडेका नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा क्षणभरमै धर्तिमा बिलाए । अन्ततः स्वर्ण सपनाको दुखान्त बिसर्जन भयो । गोरखा घर भई हाल पोखरा–१० अस्पताल चोक बस्ने थापा सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको करिब ५ मिनेटमै अन्दाजी १०० मिटर माथिबाट खसेका थिए ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको मृत्यु भएसँगै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको खबर सार्वजनिक भयो । जस अनुसार अब अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । एउटा दुर्घटना हुनु र देशभर प्याराग्लाइडिङ उडान बन्द गर्नुका पछाडीको कारण अझै प्रष्ट छैन । यद्यपि, नागरिक उड्ययन प्राधिकरण प्याराग्लाइडिङ उडानबारे अहिलेको ऐन, नियम, प्रावधान तथा उडान सुरक्षाको अवस्थाको समीक्षा गर्ने उडानमा रोक लगाएको बताइरहेछ । यो निर्णयलाई सरोकारवाला र विज्ञहरु अपरिपक्व मान्छन् । हतारमा गरिएको यो निर्णयले आकर्षक साहसिक खेल प्याराग्लाइडिङ गर्न चाहने पर्यटक र पर्यटन क्षेत्रमा निराशा थप्ने निश्चित छ । प्याराग्लाइडिङ यसअघि पनि दुर्घटना नभएको होइन । पर्यटकीय गन्तव्य पोखरामा प्याराग्लाइडिङ सुरु भएको साढे दुई दशक हाराहारी पुग्दा व्यवसायिक (टेन्डम) उडानमा दुई प्याराग्लाइडिङ उडान दुर्घटनामा परेका छन् र तीन जनाले ज्यान गुमाएका छन् । सोलो उडानका क्रममा भएको दुर्घटनामा भने १५ जना भन्दा बढीको मृत्यु भएको छ ।

कुनै पनि साहसिक खेलमा दुर्घटना भवितव्य हो । यद्यपि, यसमा आवश्यक सुरक्षाका यथेष्ट उपाय अपनाउनमा आयोजक र सम्बन्धित खेलाडी गर्ने हेलचेक्राइँ फरक कारक हुन सक्छ । उडान सुरक्षाको विश्लेषण र नियमन जरुर गर्नुपर्छ । अहिले हरेक डाँडाकाँडामा प्याराग्लाइडिङ उडाउने लहड चल्न थालेको छ । यसले जोखिम स्वतः बढाउने छ । यसर्थ प्राधिकरणले तय गरेको ‘प्याराग्लाइडिङ जोन’ मा मात्र सञ्चालन गर्नुपर्छ । तर, अहिलेको खेलकुदका क्रममा भएको घटनालाई लिएर समग्र व्यवसायिक उडानमाथि नै देशभर रोक लगाउने निर्णय अलि अस्वभाविक र अव्यवहारिक देखिन्छ । सरकारले सबै प्याराग्लाइडिङलाई एउटै नजरबाट हेर्दा थप समस्या निम्तिने निश्चित छ । व्यवसायिक रुपमा हुने उडानलाई रोक्ने हैन, बरु जतिसक्दो भरपर्दो र सुरक्षित बनाउन प्रयास गरिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *