तीन वर्षमा आठ आफन्तको निधनले विक्षिप्त दर्जी परिवारको सडकमा बास

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ३ का देवीराम दर्जी नौ वर्षदेखि बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा छ जनाको परिवारसहित बस्दै आउनु भएको छ । उहाँको घर, जग्गा, जमिन र सम्पत्ति नभएर होइन । गाउँमा घर सम्पत्ति भएर पनि दर्जी परिवार ढोरपाटन–२ स्थित दुलेमा बस्नुको कारण एउटै छ । आफन्त गुमाउनु ।

दर्जीले तीन वर्षमा परिवारका आठ सदस्य गुमाएपछि घरै छोडेर हिड्नु भएको हो । घर अशुभ भएको हुँदा परिवार गुमाउनु परेको उहाँको दाबी छ । दर्जी भन्नुहुन्छ–“तीन वर्षमा मैले मेरो तीन भाई छोरा, दुई बहिनी छोरी, आमाबाबा र छ वर्षको भतिजी गुमाए, मेरो छोराछोरीहरु ठूल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, मत निकै ठूलो पिर परेर घरबारी छोडेर यो बाटोमा आएको हुँ, अहिले मैले घर नछोडेको भए अहिले जिउँदो रहेको कान्छो छोरो, जेठी र कान्छी छोरी पनि मर्ने छैन् ।”

उहाँले घरमा वर्षै पिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छोडेका बताउनुहुन्छ । “घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परे होला त्यो बेला ?,” दर्जीले भन्नुभयो “अति भयो र काठमाडौँमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि मराण लिन्छ भन्नु भयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँनै छोडेर हिँडेको हुँ ।”

अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जिवितै हुनुहुन्छ । छोरीहरुले विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाती, नातिनी र बुहारी उहाँसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेउँमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ ।

उहाँले भन्नुहुन्छ–“आफ्नो भएरको घर सम्पत्ति सबै छोडेर यहाँ आइयो, यस्तो बाटोको छेउमा छ छाप्रो पनि, गाडीहरु चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने ?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बुढेसकाल लाग्यो, काम गरि खान पनि सकिन्न ।”
दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बुढेसकाल लागेपछि परिवार पाल्न गह्रो भएको बताउनुभयो । छोराले पनि काम नपाएर यतिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गर्नुहन्छ ।

“अहिले त बुढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिटी बालुवा कुटेर परिवार पाले, अब गाह्रो होला जस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाएत उसले कमाएर ल्याउँथ्यो होला” दर्जीले भन्नुभयो “म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन् ।”

दर्जीकी श्रीमती मिना पुरानो घरमा बसेको भए आफूहरु पनि अहिलेसम्म जिउँदो नरहने बताउनुहुन्छ । “हामी नौ वर्ष पहिले घर छोडेर यहाँ आएको हो, त्यस बेला घर नछोडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिलेनै घर छोडेका भए हाम्रा छोराछोरीहरु पनि बाँच्ने रहेछन्, ढिलो बुद्धी आयो” उहाँ भन्नुहुन्छ–“ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरु सबै मरि सक्थ्यौँ होला ।”

दर्जीले सडक छेउमा बस्न निकै गाह्रो भएको अनुभव सुनाउनु भयो । उहाँले बाटोमा दिन रात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउनुहन्छ । “यस्तो ठाउँमा छ घर, घर पनि के भनौँ यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउसभरी काम गरेर थकाई लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिदैन” उहाँले भन्नुभयो ।

उहाँले घर गत्तिलो नहुँदा पानी पर्दा चुहुने र हुरी चल्दा छानो र बारहरु सबै उडाइ दिने गरेको बताउनुभयो । उहाँले सरकारले सानो भए पनि घर बनाई दिए आफूहरुलाई ठूलो राहत मिल्ने बताउनुहुन्छ । दर्जी भन्नुहुन्छ–“घर पानी पर्दा चुइन्छ, हुरी चले घरको छानो र बारहरु सबै उडाइ दिन्छ, यसरी पनि रात दिन बिताएका छौँ, सरकारले हाम्रो दुःख देखेन, सानो भए पनि ओत लाग्ने घर बनाई दिए हाम्रा लागि निकै ठूलो राहत हुने थियो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *