डम्मर बुढा मगर, बागलुङ
“अहिले घर बनेका सबै ठाउँमा धान खेत थियो, यस्तो ठूला घरहरु बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीहरुले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेत भरी घर बने ।” निसीखोला गाउँपालिका–४ झिवाखोलाका भिमलाल रेग्मी ७० वर्ष हुनु भयो । उहाँले १२ वर्ष अगाडिको झिवाखोला बजार स्मरण गर्नु भयो ।
झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीहरुले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री वितरण गर्ने गर्थे । भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिएको थियो, तर यातायातका साधान भने चलेका थिएनन् । निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए । माथिल्लो भाग सबै धान खेत थियो । तर अहिले धान खेतमा ठूला–ठूला घर भवनले भरिएका छन् ।
रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ–“यो ठाउँमा यति भेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिएन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाक्छ, पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो, ठाउँ पनि परिवर्तन भयो ।”
उहाँले लोकमार्गले झिवाखोला बजार नजोडिदा यहाँ खेतको मुल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकाशिएर छोइ सक्नु नभएको बताउनुहुन्छ । रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुहरुले समेत बजार पाउन थालेको बताउनुभयो । मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पु¥याएको उहाँको भनाई छ ।
“अहिले यस्तो बजार बन्दो रैछ यहाँ, पहिले यस वरपर भएका खेतहरु सबै बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दो रैछ, उतिबेला ५०÷६० हजारमा बेचियो, अहिले त्यही जग्गालाई ३० लाखा घटिमा आउँदो रैनछ,” रेग्मीले भन्नुभयो “जे होस सडक आएपछि हामीहरुलाई धेरै फाइदा पु¥याएको छ, गाउँमा फलफूलहरु उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खाने सक्ने हुन्थ्यो, अहिले दुई÷चार पैसा भए पनि आम्दानी भयो ।”
निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले समय तीव्र गतिमा घर भवन बनि रहेका छन् । पछिल्लो समय दैनिक केनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताउनुभयो । उहाँले केही वर्ष अगाडिको तुलनामा व्यापार पनि बढ्दै गएको उहाँको भनाई छ । पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको संख्या पनि बढेको पौडेल बताउनुहुन्छ ।
“अहिले झिवाखोला बजार क्षेत्रमा मान्छेहरुको भिडभाड बढ्न थालेको छ, किनमल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरु दैनिक यहाँ आउने गर्छन्, पहिलेको तुलनामा व्यापार पनि केही बढेको पाएको छु, पहिले खास्सै व्यापार थिएन, अहिले राम्रै छ,” पौडेलले भन्नुभयो “पछिल्लो समय यहाँ वरपर घर घडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरेर आउनेहरु पनि बढेका छन्, सडक नआउँदा यहाँका मान्छेहरु आफ्नो जग्गा जमिन बेचेर तराई झर्थे, अहिले बाहिरी मान्छे यहाँ आएर बस्छ ।”
पूर्वी रुकुम र रोल्पाको प्रवेशद्वारका रुपमा रहेको झिवाखोला व्यापारीक केन्द्रका रुपमासमेत विकास हुँदै गएको स्थानीयको भनाई छ । विकासका हिसाबले अझै पूर्वाधारहरु निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मान्छेको आकर्षण बढेको स्थानीय चेतराम भुषालले बताउनुभयो । उहाँले लोकमार्गले गर्दा सहर बजारको केही सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरु बढेको उहाँको भनाई छ ।
“यो ठाउँ रोल्पा रुकुमको प्रवेशद्वार भएको हुँदा आवतजावत गर्ने मान्छेहरुको भिडभाड त हुनेनै भयो, यहाँ अझै राम्रो स्वास्थ्य उपचारको सुविधा छैन, त्या बाहके अझै विकास हुन बाँकीनै छ, तर पनि यहाँबाट पहिलेको तुलनामा मान्छेहरु बसाइँसराइ गरेर बाहिर भने कमै जाने गरेका छन् बरु गाउँ तिरबाट मान्छेहरु यहाँ झरेको पाइन्छ” उहाँले भन्नुभयो “ठाउँ साँघुरो भए पनि बजार विस्तार भयो, विकासलाई रोकेर रोकिने रैनछ ।”
उहाँले लोकमार्ग कालोपत्रे भएपछि अझ पनि बजार विस्तार भएको बताउनुभयो । दुई वर्ष अगाडि मात्रै यस खण्डमा कालोपत्रे भए पनि त्यस यता दर्जन घर भवनहरु ठडिएको भुषालको भनाई छ । उहाँ भन्नुहुन्छ–“सडक त १०÷१२ वर्ष पहिलेनै आएको हो, सडक आएपछि मान्छेहरुले घर घडेरी बनाउन थालेका थिए, अझ बढी त जब यो सडक कालोपत्रे भयो त्यसपछि बढी घरहरु बने, बस्तीहरु विस्तार भए ।”
स्थानीय देवी कुमारी पौडेलले बजार ठूलो बन्दै गएपछि उपभोग्य सामानहरु नजिकबाट किनमेल गर्न पाइएको बताउनुभयो । उहाँले पहिले यहाँ सामान नपाएर बुर्तिबाङ बजारसम्म झरेको स्मरण गर्दै अहिले सबथोक नजिकैको बजारमा पाइने बताउनुहुन्छ । अहिले झिवाखोला बजारको मुहारै फेरिएको उहाँको भनाई छ ।
“हामी सानो–सानो हुँदा यो ठाउँ सुनसान थियो, खोलाको किनार छेउमा स–साना घर थिए, अहिले ठूला बजारमा जस्तै घर भवन बने, ठूला–ठूला पसल पनि यही खुले,” पौडेलले भन्नुभयो “पहिले यहाँ सामान पाइएन भने बुर्तिबाङ बजारमै जानु पथ्र्यो, अब त जान नपर्ने भयो, साना ठूला पसलहरु यही छन्, भनेका सामान पनि पाइन्छन्, यहाँ अल्ली अस्पताल राम्रो भएन, राम्रो अस्पताल हुन्थ्यो भने बाहिर जानै पर्ने थिएन ।”