शिवशरण ज्ञवाली
सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा असोज ३० गते आइतबारका दिन निधन भयो । जन्म जत्तिकै मृत्यु पनि शास्वत कुरा हो । जन्मदा आफन्तहरु हाँस्नु र मर्दा रुनु स्वभाविक कुरा हुन् । शानदार पूर्ण जीवन बाँचेर मर्नु पाउनु आफैमा दुलर्भ सौभाग्य हो । त्यो सौभाग्य सत्यमोहनलाई प्राप्त भयो । सबै मानिसहरु यस्ता भाग्यमानी हुँदैनन् । उमेर र सिर्जना दुवै कारणले उनले दुर्लभ सौभाग्य प्राप्त गरे ।
सत्यमोहनको जीवन दुई प्रकृतिले शानदार देखिन्छ । पहिलो उनी सय वर्षभन्दा पनि बढी बाँचे । मानिसको आयु सय मान्दा उनी त त्यो आयुभन्दा पनि बढी बाँचे । परिवारलाई जस्तै सबैलाई लोभ त लागेको थियो, ‘सत्यमोहन अझै धेरै बाँचून ।’ तर समय यति शक्तिशाली कुरा हो त्यो कसैले चाहेर न रोक्न सक्छ न दौडाउन नै सक्छ । समयको एउटा त्यस्तो विन्दु आउँछ जुन विन्दुमा त्यो आफै रोकिन्छ । आफ्नो उमेरको १ सय ३ वर्षमा सत्यमोहनको समय रोकियो । म यति लामो समय कसरी बाँचे भन्ने कुरा त उनी आफैलाई पनि आश्चर्य लागेको विषय रहेछ । त्यहीकारण उनले मरेर जाँदा पनि संसारलाई एउटा महत्वपूर्ण प्रश्न छाडेर गए । मान्छे लामो जीवन कसरी बाँच्छ ? त्यो तिमीहरु खोज । त्यसका लागि मेरो शरीर एउटा प्रयोगशाला हो । आफ्नो परम्परा र संस्कृति विपरीत उनले त्यो शरीर प्रयोगशालालाई दिए । कठोर मन बनाएर परिवारले पनि उनको इच्छा पूरा ग¥यो । त्यो कार्य आफैमा सजिलो थिएन । सांस्कृतिक र बौद्धिक प्राज्ञिक उचाइ प्राप्त गरेको व्यक्ति र परिवारबाट मात्रै यस्तो कुरा सम्भव हुन्छ । नभए, त समाजले नै लान्छना लगाउन बेर लगाउँदैन । मरेर जाँदा पनि उनले प्रश्न गर्न छाडेनन् । उनले अरुलाई गृहकार्य दिएर आफू अविदितको यात्रामा गए । त्यो गृहकार्य चिकित्साविज्ञानका विद्यार्थीले पूरा गर्लान कि नगर्लान त्यो भविष्यमा थाहा अवश्य पनि हुनेछ ।
दोस्रो उनले नेपाली भाषा, साहित्य, कला, संस्कृति आदि क्षेत्रमा अतुलनीय कार्य गरे । मानिसका अनुभवहरु पनि आफैमा सम्पति हुन् । त्यही भएर ज्येष्ठ नागरिकलाई सम्मान गरिन्छ । बुढ्यौली कष्टकर हुँदाहुँदै पनि त्यसले सम्पति पनि लिएर आएको हुन्छ । त्यसकारण त्यो सुखद पनि हुन्छ । त्यो त सत्यमोहनसँग छँदै थियो । सिर्जना र अनुसन्धानका अनेक पुस्तकहरु उनले रचना गरे । शोक वक्तव्य दिदा ती पुस्तकहरुको उल्लेख नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो विज्ञप्तिमा गरेकै छ । नेवार भएर पनि खस भाषाको अध्ययन गरे विकट जुम्ला पुगेर । सत्यमोहनको समूह पछि खस भाषाका अध्येताहरु खासै जुम्लाको सिंजा पुगेका छैनन् भन्ने कुरा दुई चार वर्ष पहिला सिंजा पुग्दा पंक्तिकारले पनि अनुभव गरेका कुरा हो । सिंजालाई नेपाली भाषा, कला, साहित्य, संस्कृतिको विश्वविद्यालय बनाउने फुर्सद नेपाली भाषाका कथित अध्येताहरुलाई छैन । नेपालीहरुलाई छैन । सिंजालीहरुलाई छैन । उनीहरु धर्मतिर लागे भाषा छाडे । हामीहरुलाई आफ्नो क्षमताभन्दा बाहिरका कुराको लोभ छ । त्यो भुलभुलैयामा हामीहरुले हाम्रो जीवनलाई सार्थक सम्झने छौँ । खासमा त्यो सार्थक हुनेछैन ।
सत्यमोहनले बाहिरको लोभ गरेनन् । पोशाक पनि आफ्नै लगाए । टोपी छाडेनन् । विदेश स्वदेश जहाँ पुग्दा पनि त्यो टोपी उनको शान बन्यो । भाषा पनि मूलतः आफ्नै खेलाए । नेवारी र नेपाली ! दुवै भाषाको शक्तिप्रति उनी पूर्ण जानकार थिए । संस्कृति रहनसहन पनि आफ्नै मानें । चिया पनि खाए र अयला पनि खाए । विभिन्न लोक पुगे । लमजुङ पनि पुगें । सिंजा पनि पुगें । न्युजिल्याण्ड पनि पुगें । चीन पनि पुगे । विदेश पुग्दा पनि आफैलाई लेखे । आफ्नैलाई खोजे । स्वदेशमा पनि आफ्नै देश लेखें । आफ्नो भाषालाई माया गर्नुको अर्थ विदेश भाषा नजान्नु हो पनि भनेनन् । सिर्जना पनि गरे । अनुसन्धान पनि गरे । अनुवाद पनि गरे । अर्काको भाषालाई आफ्नो भाषामा तानेर कुटुरो फुकाइदिए । अन्धानुकरणलाई चुनौती दिए । काठमाडाँैमा प्रविधिले चमत्कार गर्दा पनि उनी खुट्टाले लखरलखर हिडिरहे ।
उनको दीर्घ जीवनको रहस्यको पाटोमा केवल उनको शरीर मात्रै होइन सिर्जनात्मक कर्म र उनले अपनाएको संस्कृति पनि जोडिन्छ कि ? उनले आफैले आफैलाई चिनेको कुरा पनि अध्ययनको विषय पो हुन्छ कि ? त्यसकारण चिकित्साविज्ञानका विद्यार्थीहरुले उनको शरीरको मात्रै अध्ययन गरेर दीर्घ जीवनको रहस्यको पन्तुरो खोल्न सक्लान् जस्तो मलाई लाग्दैन । उनको दीर्घ जीवनको रहस्य खोतल्न साहित्य र संस्कृतिका विद्यार्थीहरुले पनि सघाउनुपर्ने पो हो कि ?
एउटा दुस्साहसपूर्ण टिप्पणी सत्यमोहनका सन्दर्भमा गर्न चाहन्छु । उनी नेपालका मोन्तेन हुन् । मोन्तेनले भनेजस्तै सत्यमोहनले आफ्ना लेखाइका बिषय आफैलाई बनाए । आफ्नै भाषा र संस्कृतिलाई बनाए । आफ्नै लोकलाई बनाए । आफ्नै परिवेशलाई बनाए । बाहिर फेरलाई तानेर आफ्नै घरमा ल्याए । आफैले आफैलाई हेरें । चिनें । जानें । तब न सन्तुष्टि पाए । दीर्घ जीवनको रहस्य यतापट्टि पनि खोतल्ने हो कि ?
मैले फेसबुकमा पोष्ट गरिएका दुई वटा सत्यमोहनसँग सम्बन्धित श्रद्धान्जलीमा टिप्पणी गरे । पहिलो मित्र मधुसुदन पन्थीको पोष्ट थियो भने दोस्रो धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरले राख्नुभएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा गरिएको सार्वजनिक बिदासम्बन्धी सूचना थियो । ती दुवै पोष्टमा दिएको प्रतिक्रिया समानजस्तै थियो । ती पोष्टमा मैले लेखेको प्रतिक्रिया (संशोधित) बाट बिट मार्दछु ।
सत्यमोहन जोशीबाट हामीले के सिक्ने ? के खोज्ने ? हाम्रो आफ्नै घर, बारी, बुट्यान, खोला खाल्सीका गीत, कथा, नाटक, चालचलन, भाषा, कला, शालिग्राम खोज्ने । पूर्वी नेपाल खोज्ने पश्चिम नेपाल खोज्ने । कर्णाली खोज्ने भेरी खोज्ने । पूर्व खोज्ने पश्चिम खोज्ने । उखान बखान खोज्ने । झयाउरे खोज्ने लहरी (?) खोज्ने । आफ्नो गाउँ खोज्ने घर खोज्ने । डेगुलाग्ने गन्दा शहरभन्दा मच्छर र मान्छे सँगै बस्ने हरियाली गाउँ खोज्ने । आफ्नै अनुहार हेर्ने । मलाई लाग्छ उनीबाट हामीले हामीलाई नै चिन्न सिक्ने । आफ्नै भाषाको शक्ति चिन्ने । आफ्नो अनुहार आफैं हेर्ने । जन्म र मृत्यु आफैमा नियमित हुन् । उत्सवै हुन प्रकृतिका । श्रद्धाञ्जली !