सहकारी महासंघको नयाँ नेतृत्वलाई मन्त्री अर्यालद्वारा वधाई ज्ञापन

‘सहकारीमार्फत समाज रुपान्तरणका लागि एकीकरण, समृद्धि र प्रविधिमा ध्यान दिऔ’

आदर्श अनलाइन,ललितपुर

भूुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत समाज रुपान्तरणका लागि एकीकरण, समृद्धि र प्रविधिको प्रयोगतर्फ अग्रसर हुन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार आफ्नै निवासमा वधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो ।

सहकारी अभियानको सबै भन्दा माथिल्लो निकाय राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वले आगामी दिनमा सहकारीलाई थप प्रभावकारी बनाउनका लागि एकीकरण प्रक्रियालाई तिब्र बनाउने, सदस्यहरुलाई समृद्धिसंग जोड्ने र प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्ने तर्फ ध्यान दिनु पर्नेमा मन्त्री अर्यालको जोड थियो ।

सहकारी समृद्धिको आधार हो, सहकारीमार्फत समाज रुपान्तरण सहज र प्रभावकारी बनाउन सकिन्छ, त्यसका लागि सहकारीलाई सदस्यको आर्थिक विकाससंग जोडेर काम गर्नु पर्छ, मन्त्री अर्यालले भन्नुभयो । सहकारी क्षेत्रमा धेरै सकारात्मक कुराहरु छन्, सबै क्षेत्रमा जस्तै यो क्षेत्रका कमजोरीहरु पनि छन्, कमजोरीहरुलाई सुधार गरेर जनताको जीवन स्तरमा परिवर्तन ल्याउनका खालका योजना निर्माण गर्न र सरकारसंग समन्वय गर्न उहाँले महासंघको नेतृत्वलाई सुझाव दिनुभयो ।

महासंघका नवनिर्वाचित अध्यक्ष मीनराज कंडेलले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न सहकारी क्षेत्रले सहजीकरण गर्ने धारणा राख्नुभयो । उहाँले सहकारी ऐनका कारण सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा उत्पादन, प्रशोधन र बजारीकरणमा लैजान नसकिएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । संसदको हिउदे अधिवेशनबाट सहकारी ऐन र अन्य ऐनसंग बाझिएको विषय तथा सहकारीलाई अप्ठेरो पार्ने विषयहरु परिवर्तन गर्नु पर्ने बताउनुभयो ।

महासंघको २७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष कंडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुलाई मन्त्री अर्यालले खादा ओढाएर वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *