एक कलाकार माथिको शासकीय दुराशय

सम्पादकीय
हाँस्य कलाकार अपूर्व क्षितिजले नेवारी समुदाय माथि गरेको स्ट्याण्ड अफ कमेडी उनका लागि निकै महँगो बनिरहेको छ । अर्को अर्थमा भनौ, उनले यस्तो गम्भिर अपराध गरेका छन् कि उनलाई अनिवार्य कडा सजाय दिइनुको विकल्प नभएको घटनाका रुपमा राज्यले जबरजस्त स्थापित गर्ने दुस्प्रयास गरिरहेको छ । एक नवोदित कलाकारले आफुले कमेडी गर्ने क्रममा भएको कमजोरीमा माफी माग्दै युट्युवबाट सामग्री हटाउँदा समेत पटक पटक पक्राउ गर्ने, मुद्धा अघि बढाउने नियतका पछाडिको कारण र रहस्य बुझिनसक्नुको छ । जबकि नेवार समुदायले समेत माफी मागिसकेकाले मुद्धा अघि नबढाउन आग्रह गरिसकेको सार्वजनिक अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।

मुलुकमा अहिले लोकतान्त्रिक व्यवस्था छ । जुन व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता छ । स्वतन्त्रताको अर्थ जे बोल्ने पनि छुट भने छैन । अपूर्वको सवालमा उनी माथि नेवाः समुदायको भावनामा आँच पु¥याएको जुन आरोप छ । त्यसमा उनलाई पक्राउ गरेर चौतर्फी दबाब र विरोध पछि १० दिन पश्चात छोडिएको पृष्ठभूमि छ । यसमा फेरि सोमबार प्रहरीले पक्राउ गरेपछि गम्भीर प्रश्न र संशय स्वभाविक उठिरहेका छन् । आफ्नो प्रस्तुतिका कारण एउटा समुदायको भावनामा चोट पुगेको भनेर भिडियो हटाएर माफी मागिसकेका छन् । तर, प्रहरीले अपूर्वलाई सोही कसूरमा पुनः पक्राउ गर्दै प्रहरी हिरासतमा राख्नुले के संकेत गर्छ ? उनी विरुद्ध विभिन्न चार वटा छुट्टाछुट्टै मुद्दा चलाउने र पाँच वर्षसम्म जेल सजाय माग गर्ने प्रहरीको तयारीले एक कलाकार माथि कुन हद सम्मको प्रतिशोध कसरी साधिन्छ ? यो निकै सोचनीय विषय बनेर आएको छ । भलै प्रहरीले अदालतमा पेश गरे पछि अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मुद्धाको फैसला हुन बाँकी नै छ ।

यो तथ्य पनि बिर्सिनु हुँदैन कि अपूर्वले नेवारी समुदायको संस्कृति र भावना माथि सतही ढंगले व्यंग्य र टिप्पणी गरेका छन् । कलाको स्तर र कलाकारको चेतनाको हिसाबले उनले ठिक गरे ? कदापि अपूर्वले गलत गरेका छन् । हाँस्य व्यंग्यका नाममा उनी चुकेकै छन् । यस बीचमा उनले सामग्री हटाएर माफी समेत मागिसकेकाले गहिरोसँग बोध पनि गरिसकेका होलान् । तर, एक व्यक्तिले क्षमा समेत मागिसकेको अभिव्यक्तिको कसूर माथि समेत सिंगो राज्य संयन्त्र किन यति अनुदार बनिरहेको छ ? गल्ती अञ्जानबश हो कि नियतबश भन्ने बुझ्न पनि यति कठिन ? अभिव्यक्तिमा भएको कमजोरी सुधार्ने तरिका व्यक्तिको बोल्न पाउने अधिकार माथि प्रतिबन्ध लगाएर होइन, राज्य शक्तिको दुरुपयोग गर्दै तर्साएर होइन । आलोचनात्मक चेतको सम्मान गर्दै सुध्रिने र सच्याउने अवसर दिएरै गरिनुपर्छ । यसमा राज्यका निकाय निसन्देह चुकेको छ । अब ढिलै भए पनि अपूर्वले जस्तै राज्यका निकायले पनि गल्ती सच्याएर उनलाई सहज दैनिकी र लयमा बाँच्ने र आफ्नो कर्म गर्ने अवसर दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *