बन्दीपुरमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

आदर्श अनलाइन, तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

“घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् ।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका-१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *