ट्रयाक खुलेको १६ वर्षपछि मल्म–पाण्डवखानी सडक स्तरोन्नती हुँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नम्बर १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समय तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नु परेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्ने छ । सडकलाई बाह्रै महिना संचालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलो मिटर कच्ची सडक स्तरोन्नती हुने भएपछि स्थानीयसमेत खुसी भएका छ । ट्रयाक खुलेको १६ वर्षपछि सडक स्तरोन्नती हुन लागेको हो ।

यो सडकको वि.सं. २०६३ सालमा ट्रायक खुलेको थियो । संघीय सरकारले विनयनोजन गरेको तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नती गर्न थालिएको हो । सडक स्तरोन्नतीका लागि जागृति निर्माण सेवाले एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सभ इन्जिनियर विजय शर्माले जानकारी दिनुभयो । निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उहाँको भनाई छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इन्जिनियर शर्माले माघ महिनासम्म स्तरोन्नतीको कार्य सम्पन्न हुने बताउनुहुन्छ ।

“सडक स्तरोन्नतीका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्र रुपमा काम गरेको छ, माघ महिनासम्म सक्ने गरि सम्झौता भएको छ,” इन्जिनियर शर्माले भन्नुभयो “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।”

उहाँले यस पटक सडकलाई नौँ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताउनुभयो । सडकको केही खण्डमा निकैँ अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरि नयाँ खोल्नु पर्ने भएको उहाँको भनाई छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नती गर्ने तयारी रहेको बताउनुभयो ।

“सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्ने छ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटर जति सडकको रुटनै परिवर्तन गरेर नयाँ खोल्नु पर्ने भएको छ” उहाँले भन्नुभयो ।

यो सडक स्तरोन्नती नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाई छ । स्तरोन्नति यात्रा र सामान ढुवानी गर्न सहज हुने बताउनुहुन्छ ।

“यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नती हुन सकेको थिएन, अब हुन्छ भन्दा निकै खुसी लागेको छ, सडक भरी खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो,” थापाले भन्नुभयो “अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।”

थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना संचालन हुने अपेक्षा गर्नु भयो । बर्खामा गाडी नचल्दा गाउँलेहरुले सामान बोकेर उपभोग गनु परेको बताउनुभयो । अब यो समस्याको समाधान हुने थापाको भनाई छ । “यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन” थापाले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *