पञ्चकोट, पर्यटक र पर्यटन बर्ष

बागलुङ जिल्लाको आकर्षक गन्तव्य हो पञ्चकोट । सर्वसिद्धि धामको रुपमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पञ्चकोट अहिले धेरैको आकर्षण र गन्तव्य स्थल बनेको छ । पर्यटन सिजनमा त यहाँ बाक्लो उपस्थिति हुन्छ नै । अन्य इतरको समयमा पनि पर्यटन चहलपहल रहर लाग्दो रुपमा विकास भइरहेको छ । पञ्चकोटमा जिल्ला भित्रका मानिसहरु पनि दोहोराई तेहराई पुगिरहेका छन् भने बाहिरी जिल्लाबाट आउने पर्यटक पाहुनाहरु पनि यहाँ आउँदा अनिवार्य जस्तो पञ्चकोट पुग्ने रहर राख्छन् । सामाजिक सञ्जाल, समाचारहरु मार्फत पञ्चकोटको चर्चा परिचर्चा, महत्व र महिमा सुनेका धेरैले यसबारे चासो राख्ने गरेका छन् । यो समयक्रम सँगै देशमा मात्र होइन, यसको जुन सोचका साथ संरचना निर्मित छ, त्यसले बिदेशी पाहुना र पर्यटकलाई पनि आकर्षित गर्ने सामथ्र्य राख्छ ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धार्मिक आस्थाको धरोहरको रुपमा स्थापित हुने अनुक्रममा त छ नै । अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मन्दिर, शिशमहल र अन्य आवश्यक पूर्वाधारले पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने श्रद्धालु भक्तजनलाई नतमस्तक बनाउने गरेको छ । स्वामी कमलनयनाचार्य जसको पहलमा एउटा पाखा पहाड या बाघ बस्ने भिर पञ्चकोट बन्यो । उहाँ प्रतिको भक्तिभावले पनि यस स्थानमा पुग्नेको संख्या बाक्लो छ । प्राकृतिक रुपमा पनि यहाँबाट देखिने अनेक हिमश्रृखंला, दृश्य, गाउँ शहरहरु पनि उत्तिकै मनमोहक छ । बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरी, निलगिरी लगायतका दर्जन बढी हिमश्रृखंला देख्न सकिन्छ । जिल्ला सदरमुकामबाट जम्मा ८ किलोमिटरमा रहेको पञ्चकोट बाहिरबाट जिल्ला आएका पाहुनालाई घुमाउने उपर्युक्त गन्तव्य स्थलको रुपमा विकास भएको छ । अझै पनि पञ्चकोटमा आकर्षक संरचनाहरु निर्माणाधिन अवस्थामा छन् । यहाँको संरचना पूर्वाधार निर्माणमा हालसम्म करिब ३० करोड खर्च भइसकेको छ । ६० करोडको लागतमा पञ्चकोटमा निर्माण हुन थालेको १ सय ८ फिट अग्लो कलशको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यदी यो निर्माण सम्पन्न भयो भने यसले बिश्वको ध्यान तरंगित गर्नेछ नै ।

अब बागलुङ जिल्ला र गण्डकी प्रदेशको पञ्चकोट आकर्षक गन्तव्य स्थल रहेकोमा कुनै दुई मत छैन । केन्द्र सरकार र प्रदेश सरकारले सूचिकृत गरेको १ सय १ पर्यटकीय गन्तव्यमा पञ्चकोट पनि समावेश भएका छन् । अर्को तर्फ अहिले पोखरा लगायतका ठुला शहरहरुमा हुने पर्यटन, मेला र महोत्सवहरुमा गण्डकी प्रदेशको गन्तव्य स्थलको रुपमा पञ्चकोटका सुन्दर फोटाहरु ठुला ठुलो पोस्टरका रुपमा देखिन थालेका छन् । र आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिन थालेका छन् । यो पञ्चकोट र हामी समग्र जिल्लावासीका लागि सुखद बिषय हो । अबका दिनमा यसको बाँकी पूर्वाधार निर्माण सँगै यथोचित प्रचार प्रसार, प्रर्वद्धन गर्नुपर्छ । नेपाल भ्रमण बर्ष समेत अहिले शुरु भएकाले पञ्चकोट आउने पर्यटक पाहुनालाई राम्रो छाप र सन्देश लिएर जाने गरी बातावरण बनाउन आवश्यक छ ।
-जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *