आदर्श अनलाइन, जनकपुरधाम
तिहार सकिएलगत्तै तराई-मधेसमा धुमधामका साथ मनाइने छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ अर्थात् भाइटीका सम्पन्न भएसँगै तराई–मधेसमा आस्था र निष्ठापूर्वक छठ मनाउने गरिन्छ ।
सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्ने गर्दछन् । यसलाई मिथिलामा ‘नहाय-खाय’ भनिन्छ । भोलिपल्ट व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर मात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरूप खाने गर्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
पर्वको मुख्य दिन षष्टी तिथिका दिन व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै ठकुवा, भुसुवा (कसार) अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाई अघ्र्य दिन्छन् । रातभरि घाटमै अर्थात् जलाशयको डिलमै बसेर छठ माताको आराधना गर्छन् भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ ।
छठका निम्ति अहिले जनकपुरधामसहित विभिन्न जलाशयको डिलको सरसफाइ शुरु गरिएको छ । छठ पर्व जलाशयमा गरिने हुँदा त्यसको सरसफाइमा स्थानीय युवा, विभिन्न युवा क्लब जुटेका छन् ।
छठ पर्वसँगै अहिले माटोका भाँडाको माग पनि बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।
सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।