अपाङ्गताले नरोकेको खड्काको स्वरोजगार कर्म


–खेमराज गौतम, बागलुङ
जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो । उपचार अभावमा खुट्टाका सबै औला झरे । जन्मेको छ महिनामा अपाङ्ग हुनुभएका ७९ वर्षका खड्काको जीवन संघर्षले भने अझै विश्राम लिएको छैन ।

अहिलेपनि उहाँ लौरोको सहाराले बाख्रासंगै बनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्ष देखि बाख्रा ।

४५ वर्षदेखि बीजका लागि ब्याठे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालन पालन र शिक्षा दिक्षा गर्न सफल हुनुभएको छ । “४५ वर्ष अघि रु. १० राँगोको टुट थियो, अहिले एक हजार ५०० पुग्यो, अहिले ८५ हजारमा विउँ राँगो खरिद गरेर ल्याएको छु” अहिले वर्षमा १२० भन्दा बढी गाउँका भैसीलाई गर्भाधान मेरै राँगोले गराउदै आएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालन समेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहार सुसार गर्दै दिन वित्छ ।”

खुट्टाको अपाङ्गता भएपनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्ने गरेको बताउनुभयो । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्काले सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुहुन्छ । “खुट्टाको अपाङ्गता भएपनि त्यसबेला लाउन खान समस्यानै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहाल बापत कतिले रकम दिन्थे त कतिले अन्नपात” उहाँले भन्नुभयो “७० नपुगुन्जेल महिनाको ५०० अपाङ्गता भत्ता आउथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउछ, एउटा छोरा कतार छ एउटा छोरा म संगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौला ।”

अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफु अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उहाँको दुखेसो छ । एक वर्ष अघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाई छ ।

उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विबाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीको रुपमा रहेको बताउनुभयो ।

“राँगोलाई डो¥याउन पर्दैन आफै पछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैंसीको गोठ सम्म पु¥याउने मात्रै हो” खड्काले भन्नुभयो “युवा देखि बुढेसकाल सम्म राँगोकै संगतले जीवन वित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएर समेत कसैसंग हात थापेर खान परेन, खुसी लाग्छ ।”
खड्काले तीन÷चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *