सम्पादकीय
नेपालमा स्वास्थ्य सुरक्षा र सचेतताको अवस्था अझै पनि कमजोर अवस्थामा छ । आम रुपमा भनिन्छ र स्वीकार गरिएको छ कि रोग लाग्नु भन्दा रोग लाग्नै नदिन उत्तम उपाय हो । तर, यसको आफ्नै जीवनमा व्यावहारिक प्रयोग गर्ने सन्दर्भमा अधिकांश मानिसहरु चुकिरहेका छन् । र त कुनै न कुनै रोगबाट आफु र आफ्ना परिवारका सदस्य स्वास्थ्यको जटिल समस्याबाट ग्रसित बनिरहेका छन् । रोग लागिसके पछि मात्र सचेत हुने आजको अवस्था बिद्यमान छ । जतिबेला उपचार, सचेतता र समाधानका हिसाबले धेरै ढिलाई भइसकेको हुन्छ ।
देशमा शिशु तथा मातृ मृत्युदरको तथ्यांक र पछिल्लो अवस्था हेर्ने हो भने पनि यसको आभाष हुन्छ । केही वर्ष अघि सम्म शिशु तथा मातृ मृत्युदरको अवस्था डरलाग्दो थियो । यसबिच स्वास्थ्य क्षेत्र र नागरिकमा आएको सचेतनाका कारण सुधार आइरहेको अवस्था छ । तर, अझै पनि अपेक्षाकृत रुपमा नेपालमा मातृ तथा शिशु मृत्युदरमा कमी आउन सकेको छैन । आर्थिक वर्ष २०७६÷०७७ मा नेपालमा एक सय ३७ आमाको मृत्यु भएकोमा आव २०७७÷०७८ मा केही घटेर एक सय आठमा आयो । गत आवमा भने देशभरको संख्या घटेर ८४ मा आएको छ । देशव्यापी तथ्यांकमा मातृ मृत्युदरमा कमी आए पनि गण्डकी प्रदेशको तथ्यांकले भने झस्काएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा गण्डकी प्रदेशमा ९ जना आमाले ज्यान गुमाए । आव २०७७÷०७८ मा यो संख्या बढेर १३ पुग्यो । अहिले देशव्यापी मातृ मृत्युदर घट्दै ८४ मा आउँदा गण्डकीमा अझ बढेर २१ पुगेको छ । गर्भवती भएदेखि सुत्केरी भएको ४२ दिनसम्मको मृत्युलाई मातृ मृत्युदरमा सूचीकृत हुन्छ । गत वर्ष मृत्यु भएका २१ आमामध्ये १३ जना समुदायमा सुत्केरी भएका थिए ।
आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकार र दातृ संस्थाहरुले अनेकन सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । तर, किन मातृ मृत्युदरमा सुधार आएको छैन ? यो निकै गम्भिर र संवेदनशील सवाल हो । यी र यस्ता विषय अहिले निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारका घोषणापत्रमा कम प्राथमिकतामा छन् । पछिल्लो समय संस्थागत प्रसुति, गण्डकी प्रदेश तथा केन्द्र सरकारको हेलिकप्टर मार्फत गर्भवतिको आकस्मिक उद्धार तथा उपचार लगायतका कार्यक्रमले मातृ तथा शिशु मृत्युदरमा कमी भएको छ । गण्डकीमा सुरक्षित मातृत्वका सूचकाङ्क अझ कमजोर अवस्थामा छ । स्थानीय सरकार, स्वास्थ्य संस्थाले सही तथ्यांक व्यवस्थापन, नियमित चेकजाँच, संस्थागत सुत्केरी, सुत्केरीअघि सुरक्षित रुपमा स्वास्थ्य संस्था नजिकै आवास, उचित स्याहारको सुनिश्चितता हुनुपर्छ । यसका साथै दुरदराज सम्म स्वास्थ्य सुरक्षा र संवेदनशीलताबारे यथेष्ट जनचेतना फैलाउनु पर्दछ ।