बेलढुङ्गामा बढे आन्तरिक पर्यटक


–खेमराज गौतम, बागलुङ

पछिल्लो समय चर्चामा आएको पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । स्थानीयको प्रचार प्रसार तथा पर्यटकीय पूर्वाधारका कारण बेलढुङ्गा आउने पर्यटकको संख्यमा क्रमश वृद्धि भएको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको सिमामा अवस्थित बेलढुङ्गा पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भइरहेको छ ।

बेलढुङ्गाको माथिल्लो भाग पहिरोले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा आकर्षण पर्यटकीय पूर्वाधार निर्माण संगै बेलढुङ्गा आउने पर्यटकहरुको संख्यामा वृद्धि भएका हो । बेलढुङ्गा आउने पर्यटकहरुलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको स्थानीयको भनाई छ ।

बेलढुङ्गा आउदा निकै आनन्दित र आफूलाई थप उर्जा थपिएको बेलढुङ्गा भ्रमणमा पुग्नुभएका बागलुङको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार, सामाजिक सञ्जालमा त सुनेको थिए तर सुने भन्दा राम्रो लाग्यो, चिसो स्थानमा व्यवस्थित पदमार्ग र एक दर्जन बढी हिमालहरुको दृश्यले मनै लोभ्यायो” केसीले भन्नुभयो “ढुङ्गा छापेर बनाइएको रेलिङ सहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यू टावरको रुपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले पर्यटकहरुलाई थप आकर्षति गरेको रहेछ ।”

बेलढुङ्गाबाट एक दर्जन हिमऋङ्खला, म्याग्दी सदरमुकाम बेनी बजार सहित उच्च पहाडी भागहरु अवलोकन गर्न सकिन्छ । नेपालमा भ्यूटावर बनाउने होड चलिरहेको सन्र्दभमा यहाँ भने प्राकृतिक पहाडको टुप्पोलाई नामाकरण, प्रचार प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटकहरु यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसले जानकारी दिनुभयो ।

“हामीले बेलढुङ्गाको प्रचार प्रसारमा काम गर्दै आएका छौं, पालिका र गण्डकी प्रदेश सरकारको सहयोग पूर्वाधार निर्माणमा छ, बेलढुङ्गामा क्रमश आन्तरिक पर्यटकहरु आउन थालेपछि पाँच वर्षदेखि घरबास सञ्चालन गर्दै आएका छौं” बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक समेत रहनुभएका श्रीसले भन्नुभयो “अहिले शुक्रबार शनिबार सय भन्दा बढी पर्यटक बेलढुङ्गा पुग्ने र अन्य बारमा समेत धेरै थोरै पर्यटकहरु आउने गरेका छन् आएका मध्ये आधाभन्दा बढी पर्यटकहरु घरबासमा एक रात बिताउने गरेका छन्, जस्कारणले यहाँका घरबास सञ्चालकहरु आय आर्जनमा जोडिएका छन् ।”

दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन बेलढुङ्गालाई राष्ट्रिय रुपमानै चिनाई सकेको छ ।

गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको बेलढुङ्गामा पर्यटकीय पूर्वाधार निर्माणले समेत तिब्रता पाउदा पर्यटकहरुलाई त्यहाँ पुग्न सहज भएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्ष अघि रु.२० लाख र चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेट, स्थानीयको श्रमदानमा पदमार्ग, प्रवेशद्वार तथा बेलढुङ्गाको देउरालीमा चौतारी लगायतका संरचाना निर्माण भएपछि पर्यटकहरुलाई थप आर्कषित गरेको छ ।

प्राकृतिक भ्यू टावर रहेको बेलढुङ्गा अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आएर पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने गन्तव्यमा म्याग्दी तर्फबाट समेत सजिलै आउन सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार ६१२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको बेलढुङ्गा पुग्ने पर्यटकहरुले प्रतिकृया दिएको स्थानीय मन कुमारी भण्डारीले बताउनुभयो ।

बेलढुङ्गा कोरोनाकालपछि एकाएक चर्चामा आएको स्थानीयको भनाई छ । बेलढुङ्गाबाट धौलागिरि, निलगिरि, माछापुच्छ«े, अन्नपूर्ण, गुर्जालगायतका दर्जन बढी हिमशृङ्खला, हरियाली जङ्गल र धौलागिरिका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिन्छ ।

भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु. दुई लाख ५९ हजारमा मर्मत सम्भार गरिएको थियोभने गण्डकी प्रदेश सरकारको रु. ४० लाखको लागतमा चिटिक्क पारिएको छ । ओख्लेको देउरालीसम्म सडक पुगेको छ भने त्यहाबाट २६० मिटर पदमार्गमा बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकन संगै बिहानको उदाउने सूर्योदय पनि यहाँको मुख्य आर्कषण हो । अधिकांश पर्यटकहरुले बेलुका सामुदायिक घरबासमा बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् । बेलढुङ्गालाई धार्मीक पर्यटकीय स्थल पञ्चकोट संग जोड्नका लागि गण्डकी प्रदेश सरकारले अग्रसरता देखाएको बागलुङका गण्डकी प्रदेशका निर्वतमान सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *