चुनावमा फस्टाएको कुतर्क र झुटको खेती

सम्पादकीय
नेपाली राजनीति कति प्रदुषित छ ? विगतका राजनीतिक दल, नेता, कार्यकर्ताका कुरुप खेल र घटना बिर्सेर वर्तमानमा फर्किने हो भने मात्रै पनि दर्जनौ दृश्य र घटनाका उदाहरण काफी छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा फोहोरी राजनीतिका अनेक रुप रंग खुलेआम देखिदैछ । जसबाट राजनीतिक दल, नेता, कार्यकर्ताहरु लाज मान्दैनन्, स्वयंम् लाज आफै लजाउँदो हो । एउटा पार्टीका नेताले अर्को पार्टीका नेता, अर्को पार्टीका कार्यकर्ताले भिन्न पार्टीका कार्यकर्ता प्रति देखाएको व्यवहार, गरिरहेका अनेक कुतर्क र जनताका बिचमा खुलमखुल्ला झुटो आश्वासन दिइरहेको घटनाक्रमले राजनीति प्रति आशा होइन, थप निराशा र अस्थिरताको आभाष दिन थालेको छ ।

राजनीतिक दल र नेताहरुको अहिले एक सुत्रिय मिसन छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा साम, दाम, दण्ड प्रयोग गरेर किन नहोस्, चुनाव नतिजा आफु र आफ्नो पक्षमा कुनै हालतमा पार्ने । यसका लागि नेपालका मुख्य रुपमा देखिएका सबै राजनीतिक दल आन्तरिक कसरतमा छन् । यही कारण नेपालका राजनीतिक दल, नेताहरु न आफ्नो सिद्धान्तमा अडिएका छन्, न प्रष्ट दृढ विचारमा । न कुनै नैतिकताको मुल्यबोध छ ? न विगतमा गल्ती कमजोरी गरेकोमा ग्लानी । बस्, अबको निर्वाचनमा पाँच वर्षका लागि जित्नु मात्रै एक स्वार्थ दल, नेता र उम्मेदवारमा निहित देखिन्छ । र त बिभिन्न नाम र बाहनामा गठबन्धन बनेको छ । नेपाली कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो, संघीय समाजवादीको गठजोड छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि बिभिन्न स्थानमा राप्रपा नेपाल, तमलोपा लगायतका दलसँग साठगाठ गरिरहेको छ । निर्वाचनमा दलहरु कुनै शुद्ध विचार, सिद्धान्त, समयसापेक्ष व्यावहारिक एजेण्डा लिएर होइन, एकले अर्कोलाई सत्यसराप गरेर भोट माग्ने प्रतिस्पर्धा चलिरहेको छ ।

हुन त राजनीति, प्रेम र युद्धमा हर कुरा जायज हुन्छ भनिन्छ । यो नेपाली राजनीतिका पात्र र आम प्रवृत्ति हेर्दा त्यस्तो देखिन्छ पनि । तर, जित्नका लागि जे पनि गर्ने तथा जितिसके पछि जे पनि गर्ने दुवै प्रवृत्ति देश र जनताका लागि दुर्भाग्य हो । नेपाल र नेपालीले वर्षौदेखि यही प्रवृत्ति भोगिरहेका छन् । मुलुुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भए पश्चात पनि यही प्रवृत्तिको पुनर्रावृत्ति पटक पटक भइरहेको छ । अहिले चुनावी अभियानमा पनि राजनीतिक दल, नेताहरु बिच तुच्छ आरोप प्रत्यारोप छ । कार्यकर्ताहरु बिच जायज तर्क भन्दा बढी अन्धभत्त बनेर कुतर्क गर्नमा उर्जा खर्चिरहेछन् । जनताका बिचमा झुटा आश्वासन छरपष्ट छ । राजनीतिक दल, नेता र उम्मेदवारहरु आफ्ना राम्रा एजेण्डा लिएर जनतालाई बुझ्नु बुझाउने कार्यमा यसपटक पनि चुकिरहेका छन् । जुनकुनै पनि दलका उम्मेदवार, नेता, कार्यकर्ताका कुर्तक, झुटा आश्वासनमा अब अमुल्य मत साट्नु हुन्न । आममतदाता नागरिकहरु नै पहिले सचेत बन्न अपरिहार्य छ । मंसिर ४ मा कुनै दबाब, प्रभाब, आश्वासनमा होइन, विवेकले सक्षम, योग्य उम्मेदवारलाई निसंकोच मतदान गर्नुपर्छ । अन्यथा, देश र जनता पुरानै नियति भोग्न बाध्य हुने अवस्थामा पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *