नेतालाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

डम्मर बुढा मगर, बागलुङ
आगामी बैसाख ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनले गाउँ सहरमा राजनीतिक रौनक सुरु भएको छ । राजनीतिक दलका नेता र उम्मेदवारहरु यतिबेला मतदाता रिझाउदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगि रहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्राउने चटारो छ । वर्षा भयो भने धान नोक्सान गरि दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्राउन थालेका छन् ।

उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन् । कामको मुख्य सिजनमा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्राउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्राउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै ब्यस्त छन् । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताहरुले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे ।

किसानले गाउँमा सिंचाइ, उन्नत जातका बिउ र मलको अभाव वर्षेनी पर्ने गरेको गुनासो गरेका छन् । खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सहज रुपमा सिंचाइको व्यवस्था गरि दिनु पर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । उहाँले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याई भएको भन्दै यही समयमा उम्मेदवारले भोट माग्न बारीमा आइरहेको बताउनुभयो ।

खत्री भन्नुहुन्छ–“हामीहरुलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेताहरुलाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपाली जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।”

उहाँले गाउँमा पर्याप्त सिंचाइ सुविधा नहुँदा धान, गहुँ सोचे अनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदान समेत आफूहरुले पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दिनदिनै फरक–फकर उम्मेदवारहरु आएर आफूहरुलाई आश्वासन बाढ्ने बाहेक अरु काम नगरेको सुनाउनुभयो । उहाँले भन्नुभयो–“कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिंचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिचाइको व्यवस्था गरि दिए कति राम्रो हुँदो हो ?”

ढोरपाटनका स्थानीय चुडामणि कार्कीले पछिल्लो केही दिय यता उम्मेदवार तथा नेताहरु भोट माग्न घरदेखि बारीसम्म आएको बताउनुभयो । उहाँले उम्मेदवारलाई कृषकहरुको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताउनुभयो । कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताउनुभयो ।

“हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनु भएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौँ भनेका छन्,” उहाँले भन्नुभयो–“हामीहरुले राम्रो नेता खोजेका छौँ, जनताको काम गर्ने नेता चाहेका छौँ ।”

स्थानीय प्रेमनाथ पौडेलले नेताहरुले बारीमै आएर भोट माग्न किसानहरुलाई फकाई राखेको बताउनुभयो । उहाँले सोझासाझा जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा अहिले धेरै निराश बनेको बताउनुभयो । पौडेलले समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको भन्दै अहिले जनतालाई झुक्याउने नेताको कमी नभएको बताउनुहुन्छ ।

“अहिलेको जमानामा पनि नेताहरुले जनतालाई झुक्याउन खोज्छन्, अनेकथरीका आश्वासन दिन्छन्, हामी त हैरानै भयौँ, अहिलेसम्म किसानका लागि काम गर्ने नेता यो ठाउँमा अझै आएन,” पौडेलले भन्नुभयो–“अब त धेरै नागरिक सचेत भए, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न ।”

दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ जना उम्मेदवार छन् । प्रदेश तर्फ १८ जना र प्रतिनिधि सभा तर्फ १३ जना उम्मेदवारी छन् । बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात जना उम्मेदवार छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *