बागलुङको माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् नेता

डम्मर बुढा मगर, बागलुङ
जब निर्वाचन आउँछ, तब नेताहरु माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ मा रहेको माझी बस्तीमा उम्मेदवार तथा नेताहरु अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । विहान बेलुकाको छक टार्न मुस्किल परि रहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश मात्रै देखाउँछन् । तर काम गर्दैनन् ।
वि.सं. २०४८ सालमा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरि उनीहरुलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए पनि । तर अझै केही परिवारले पाउन सकेका छैनन् ।

उनीहरुलाई सडक, खानेपानी, रोजगार लगायतका आश्वासन चुनावै पिच्छे आउँछन् तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्नुहुन्छ–“चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरु आउनुहुन्छ, चुनाव जिते पनि एक पटक पनि हाम्रो बस्तीमा आउनु हुँदैन, काम पनि खास्सै केही गर्न सक्नु भएन, हाम्रो बस्तीमा धेरै समस्या छन् ।”

सोमबहादुरले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचाहरु पूरा गर्न नसकेको बताउनुभयो । उहाँले वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्ण रुपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउनुहुन्छ ।

“चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्नुहुन्छ, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्थापन हुन सकेको छैन, सुरुमा बाचा गर्ने चुनाव जितेपछि आफूहरु ठूलो नेता बन्ने हामीहरुका समस्या नचिन्ने, अब यस्ता नेतालाई भोट दिएर काम छैन, जसले हाम्रा समस्या समाधान गर्छ उसैलाई भोट दिने सोच बनाएको छु” उहाँले भन्नुभयो ।

विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरि चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरुले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताउनुभयो । उहाँले पटक–पटक आफूहरुले भोट दिए पनि माझी समुदायमा नेताहरुको कम पुगेको गुनासो गर्नुभयो ।

“हामीहरु समस्यामा हुँदा पनि नेताले हाम्रो लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर हेरेनन्, केही काम गर्न त थाले तर सम्पन्न गर्न सकेका छैनन्, खानेपानी, सडकको समस्या त समाधान गर्ने भनेर काम थाले तर अहिले जस्ताकोतस्तै छ,” उहाँले भन्नुभयो–“भोट माग्न आउने बेलामा गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरुलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।”

माझी समुदायको नेताहरुसँग ठूलो अपेक्षा छैन नभएको भन्दै आफूहरुका लागि रोजगार सिर्जना गरि दिए पुग्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ–“भएभरको घर सम्पत्ति सडकले खाइदिइयो, सरकारले यत्ति घर मात्रै बनाइ दिएको हो, घर मात्रै भएर नहुने, गरि खाने ठाउँ छैन, सरकारले कि गरि खाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरि दिए हुन्थ्यो, नेताहरुले भोट माग्ने बेला रोजगारको व्यवस्था हामी गर्छौँ भनेर भने तर अहिलेसम्म कुनै जागरि दिन सकेनन्, केही काम पाए पनि परिवार पाल्न सजिलो हुन्थ्यो ।

स्थानीय चन्द्रकला माझीले नेताहरुको नजर माझी बस्तीमा पुग्न नसक्दा आफूहरुको समस्या ज्युँका त्युँ रहेको बताउनुभयो । उहाँले आफुहरुको मतले नेताहरु ठूलो पदमा पुगेर पनि काम नगरेको गुनासो गर्नुभयो । माझीले नेताहरु चुनावका बेला मात्रै आउने गरेको भन्दै समस्या परेर सहयोग माग्दासमेत नसुन्ने गरेको बताउनुभयो ।

“आजभोली खुब नेताहरु भोट माग्न आइरहेका छन्, जितेर गए भने अर्को चुनाव नआउँदासम्म यहाँ आउँदैनन्, हाम्रो भोटले उनीहरु ठूलो पदमा पुग्छन्, त्यहाँ पुगेपछि हामीहरुलाई भुल्ने हाम्रा समस्या नदेख्दा रैछन्” उहाँले भन्नुभयो–“भ्रम मात्रै छर्दा रैछन्, काम गर्दा रैनछन्, अब त भोट पनि नदिउँकी जस्तो लाग्न थालि सक्यो ।”

सडक निर्माण गर्दा विस्थापित बनेका मध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन नसकेको उनीहरुको भनाई छ । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरुले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाई छ । आफूहरुलाई छिट्टै लालपुर्जा दिने आश्वासन दिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *