स्थानीयको सक्रियतामा ब्युतिएको विद्यालय

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्ष अघि जम्मा १७ जना विद्यार्थी थिए । कोरोनाकालमा गाउँफर्केका स्थानीय दिपेन्द्र खत्रीलाई विद्यालयको अवस्था देख्दा दुख लाग्यो ।

भण्डारीले विद्यालयको सुधारमा आफुले काम गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिनुभयो । अध्यक्षमा मात्रै चुनिनुभएन बागलुङ बजारको सदरमुकामको निजी विद्यालयमा अध्यापन गराउदै आएका आफ्ना तीन बालबच्चालाई फर्काएर सोही विद्यालयमै भर्ना गर्नुभयो । उहाँको विद्यालय सुधारको सत्प्रयासलाई स्थानीयले साथ दिए, विद्यार्थी फर्काए, आर्थिक स्रोत जुटाए । अहिले विद्यालयको अवस्था पुरानो जस्तो छैन ।

काठेखोला गाउँपालिकाले २०७७ सालमा विद्यालय गाभ्ने योजनाल्याएर निर्मल प्राविमा १२ जना विद्यार्थी भएको जनसेवा प्रावि गाभ्यो । विद्यालय गाभेपछि विद्यार्थीको संख्या २९ पुग्यो । स्थानीयहरुले एक दर्जन निजी विद्यालयमा अध्ययनरत विद्यार्थी फर्काएर निर्मल आधारभूत विद्यालयमै भर्ना गरेपछि क्रमश विद्यालय पुरानै अवस्थामा फर्केको छ ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा तीन वर्षको अन्तरालमा विद्यार्थी बढेर अहिले ४३ पुगेका विद्यालयका प्रधानध्यापक अबिराम थापाले जानकारी दिनुभयो । २०५२ सालमा सर्वाधिक विद्यार्थीहरु १०० पुगेकोमा बसाई सराई तथा निजि विद्यालयहरुको आकर्षण तथा जनसंख्या वृद्धिमा कमीका कारण विद्यार्थीको संख्या क्रमश ओरालो लागेको थियो ।

झण्डै बन्द हुने अवस्थामा पुगको सामुदायिक विद्यालयले स्थानीयकै सक्रियतामा व्युताइएको हो । दिपेन्द्र खत्रीकोे कार्यकाल सकिनै लाग्दा उहाँको व्यवस्थापनले १६ जना विद्यार्थीसंख्या रहेको विद्यालयमा ४३ विद्यार्थी पु¥याइएको छ । आर्थिक संकट भोग्दै आएको विद्यालयमा स्थानीय गौथली सामुदायिक विकासकेन्द्र र धम्जा घर भई विभिन्न स्थानमा छरिनुभएका शिक्षाप्रेमीहरुले जुटाएको आर्थिक रकमबाट विद्यालयमा दुई शिक्षक नियुक्ति समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र खत्रीले बताउनुभयो ।

“गाउँको विद्यालय धर्मराएको देख्न सकिन, आफैबाट शुरु गर्नु पर्छ भनेर दुई छोरी र एक छोरालाई बागलुङ बजारको निजी विद्यालयबाट झिकाएर यही विद्यालयमा भर्ना गराए” खत्रीले भन्नुभयो “क्रमश विद्यार्थीको संख्या वृद्धि हुदै गयो, अहिले जनसंख्या वृद्धिदरनै कम भएका कारण विद्यालयमा ४३ जना विद्यार्थी अध्ययनरत हुनेकुरा यस विद्यालयका लागि ठूलो हो ।”

अहिले विद्यालयको एक देखि पाँच कक्षा सम्म तीन जना दरबन्दीका, दुई जना राहत अनुदान र दुई शिक्षक स्थानीयको सक्रियतामा स्थापना गरिएको अक्षयकोषको व्याजबाट गरी सात जना शिक्षक तथा कर्मचारी यस विद्यालयमा रहेका छन् ।

कोरोना महामारीको समयमा विद्यालय सुधारको योजना निकै प्रभावकारी देखिएकाले हाल विद्यालयले पुरानै अवस्थामा आफुलाई ल्याउन सफल भएको प्रधानध्यापक थापाको भनाई छ । अहिले विद्यालयमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत २ कोठे पक्की निर्माणधीन अवस्थामा रहेको छ ।

स्थानीय गौथली सामुदायिक विकास केन्द्रले बिद्यालयलाई रु. पाँच लाखको अक्षयकोष स्थापनाका लागि सहयोग गरेपछि स्थानीय क्लव, आमा समूह, भजन समूह, वन समूह लगायतबाट विद्यालयमा दुई शिक्षकलाई कोषको व्याजबाटै तलब व्यवस्थापन गर्न पुग्ने गरी अक्षय कोषको व्यवस्था मिलाइएको गौथली सामुदायिक विकास केन्द्रका अध्यक्ष शिव भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा रु. १८ लाखको लागतमा ट्रस्टको विद्यालय भवन बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बजेट परेपनि विद्यालयले पक्की भवन निर्माणका लागि लागत स्टमेट तयार पारेर निर्माण थालेको र थप बजेटका लागि गाउँपालिका संग पहल गरिरहेको प्रधानध्यापक थापाको भनाई छ ।

बसाइँसराइ तथा सदरमुकामका निजी बिद्यालयमा बालबच्चा पढाउने होडका कारण काठेखोला गाउँपालिकाले तीन वर्ष अघि विद्यालय सुरधार योजना अन्र्तगत विद्यार्थी धेरै भएको विद्यालयमा दरबन्दी थप, थोरै विद्यार्थी भएको विद्यालयको दरबन्दी कटौती गरेको थियो भने न्यून विद्यार्थी भएको विद्यालयलाई गाभिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *