फेरियो भोट माग्ने शैली, मतदाता रिझाउन खेतबारीमा उम्मेदवार

आदर्श अनलाइन, बागलुङ
मध्य कात्तिकमा कामको चटारो छ । अहिले गाउँका घरहरुको ढोका बन्द देखिन्छन् । किसानहरुलाई धान, कोदो भित्राउने चटारो छ । धान र कोदो मात्रै हैन वर्ष भरी पशु आहाराको रुपमा रहेको पराल र नल थन्काउन समेत किसानहरु व्यस्त रहेको सन्दर्भमा प्रतिनिधि सभा र प्रदेसभाको निर्वाचन नजिकिदै आएको छ ।

किसानहरु खेतबारीमा व्यस्त भएपछि यस पटकका उम्मेदवारहरुले मतदातालाई भोट माग्ने शैलिलाई परिवर्तन गरेको पाइएको छ । कोणसभा र आम सभामार्फत आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै आएका उम्मेदवारहरुले यसपटकको निर्वाचनमा भने बागलुङका उम्मेदवारहरुले फरक तरिकाले भोट मागेको पाइएको छ ।

उम्मेदवारहरु अहिले मतदाता रहेको स्थल खेत बारीमै पुगेर आफ्ना चुनावी एजेण्डा बताउदै मत मागेको सामाजिक सञ्जालमा प्रष्ट देखिन्छ । कामको चटारो र निर्वाचन आयोगको निर्वाचन प्रचार प्रसार मापदण्ड अनुसार अहिलेका उम्मेदवार घरदैलो र खेतबारीमै पुग्नुपर्ने देखिएको छ ।

“अहिले सामाजिक सञ्जालको जमाना छ, कुन उम्मेदवारले कसरी भोट मागिरहेको छ, के एजेण्डा बोकेर गाउँपसेको छ भन्नेकुरा क्षण भरमै घरमै बसेर थाहा पाइन्छ गत निर्वाचनमा वडा वडामा कोणसभा आयोजना गर्ने चर्को भाषण गर्ने काम हुन्थे” सामाजिक अगुवा काजी गाउँले श्रेष्ठले भन्नुभयो “अहिले भड्किलो प्रचार छैन, घरदैलो र मतदाता भेटघाटमै उम्मेदवारहरु लागेको पाइन्छ, यो कामको सिजन भएर होला मतदातहरु किसानले काम गरेकै स्थानमा पुगेको सामाजिक सञ्जालमा देखन सकिन्छ, अहिले भोट माग्ने शैलि अलि फेरिएको पाइयो ।”

बागलुङ क्षेत्र नाम्बर १ प्रतिनिभिसभाका उम्मेदवार डा. सुर्य पाठकले आफ्नो फेसबुक पेजमा खेतबारीमा पुगेर मत माग्द गरेको, घरमा कोही फेला नपरे चिठि लेखेर छोडेको फोटो तथा भिडियो राख्दै आउनुभएको छ । पाठकले भोट माग्न घरमै पुगेर भिडियोकल मार्फत अन्य स्थानमा रहेका आफन्तलाई समेत सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यस्तै पाँच दलीय गठबन्धबाट बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका युवा नेता डिल्लिराम सुवेदीले सकभर सबै जनताको घरमा पुगेर मत माग्ने प्रयास गरिराख्नुभएको छ ।

“जनता अब उम्मेदवार संग हैन उम्मेदवार जनतासंग पुग्नु पर्छ भन्ने मान्यताका साथ मतदाताको घर र घरमा फेला नपरे खेत बारीमा पुगेको छु” उम्मेदबार सुवेदीले भन्नुभयो “यस पटकको निर्वाचनमा आमसभा भन्दा घरदैलोमै पुगेर मतदाताको सुख दुख बुझ्ने र आफ्ना एजेण्डा बताएर मत मागिरहेको छु ।” सुवेदीले आफ्नो क्षेत्रको पहिलो प्रचार प्रसारको कार्यक्रम सकेर दोस्रो अभियान शुरु गर्न थालेको बताउनुभयो । उहाँले युवाहरुसंग प्रश्न उत्तर कार्यक्रम आफ्नो क्षेत्रका तीन वटै पालिकामा आयोजना गर्ने बताउदै आफू लगायतका गठबन्धका उम्मेदवारले भोट माग्ने शैलिलाई परिवर्ततन गरी खेतबारीमा पुगेरै मत मागिरहेको बताउनुभयो ।

अहिले भोटमाग्न गाउँ–गाउँ पुग्ने क्रममा मतदाताहरुको घर बन्द रहेको पाइएकाले आफुले मतदाता खोज्दै खेतबारीमा पुग्ने गरेको उम्मेदवार डा. सुर्य पाठकले बताउनुभयो । “अहिले कामको चटोर छ हामीलाई मत माग्ने चटारो छ, मतदाताहरुलाई हाम्रो एजेण्डा सुन्ने भन्दा धान तथा कोदो भित्राउने चटारो छ, हामीले धान चुट्दै गरेको, धान काट्दै गरेको, दार्य हाल्दै गरेको कोदो काट्दै गरेको स्थानमै पुगेर भोट मागिरहेका छौं ।”

आमसभा र तडकभडकको प्रचार भन्दा मतदाता भेटघाटनै प्रभावकारी देखिएको कतिपय उम्मेदवारहरुको बुझाई छ । बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (क) का गठबन्धनका उम्मेदवार जित शेरचन तथा सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले आफ्नो चुनावी कार्यक्रम घरदैलो केन्द्रित भएको बताउदै आएका छन् ।

कतिपय कार्यकर्ताहरुले छिटो भन्दा छिटो आफ्नो कामको चटारो सकेर उम्मेदवारसंग भोट माग्न हिड्ने योजना बनाइरहेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र गरी ६ पदका लागि विभिन्न उम्मेदवारहरु मतदाता रिझाउन गाउँ–गाउँमा पुगेका छन् । सत्तारुण गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले १६ दिन देखि उम्मेदवारहरुको घरदैलोमा पुग्दै आएका छन् । राष्ट्रिय स्वतन्त्रपार्टीबाट बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका खिमानन्द कँडेलले आफ्नो चुनावी अभियानलाई फरक शैलिमा अगाडी बढाउनुभएको छ । उहाँले सामाजिक सञ्जालको प्रयोगबाट मत माग्ने कामलाई तिब्रता दिनुभएको छ भने वडा तहमा आफ्नो चुनावी अभियान पु¥याउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्ना चुनावी एजेण्डा र धारणा समेत सार्वजनिक गर्दै गाउँ–गाउँ पुगेका हुन् । बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु गरी ३१ जना चुनावी मैदानमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *