आदर्श सञ्चार सहकारीको १६ औं साधारणसभा मंसिर तेस्रो साता

आदर्श अनलाइन, बागलुङ
धौलागिरीको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभा आगामी मंसिर २० गतेदेखि हुने भएको छ ।

एकाईगत रुपमा ७ दिन र एकाई प्रतिनिधिहरुको सभा एक दिन गरी ८ दिनसम्म सञ्चालन हुने साधारणसभाले संस्थाको गत वर्षको योजना कार्यक्रम र वित्तीय प्रगतिको समग्र समिक्षा र पारितसंगै आगामी योजनाका बारेमा छलफल गरेर संस्थालाई थप प्रभावकारी रुपमा अगाडि बढाइन मार्गनिर्देशन गर्ने संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

संस्थाको असोज १४ गते सम्पन्न सञ्चालक समितिले मंसिर २० गतेदेखि २७ गतेसम्म साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष जिसीले बताउनुभयो । कात्तिक २० गते सार्वजनिक सूचना जारी गरी संस्थाले सम्पूर्ण शेयर सदस्यहरुलाई आ–आफ्नो एकाईगत साधारणसभामा सहभागिताका लागि आव्हान गरेको छ ।

३ हजार ३ सय जना शेयर सदस्य रहेको आदर्श सञ्चार सहकारीको एकाईगत साधारणसभा अन्तरगत पहिलो दिन मंसिर २० गते काठेखोला गाउँपालिका वडा नं ७ रेश, दोस्रो एकाई सभा मंसिर २१ गते जैमिनी नगरपालिकाको कुश्मीसेरा बजार र तेस्रो एकाई सभा मंसिर २२ गते बरेङ गाउँपालिकाको हुग्दिशिर घट्टमा सञ्चालन गरिने भएको छ । यस्तै चौथो एकाई सभा मंसिर २३ गते, पाचौ एकाई सभा मंसिर २४ गते, छैठौ एकाईसभा मंसिर २५ र सातौ एकाई सभा मंसिर २६ गते बागलुङ बजारमा सम्पन्न गरिने भएको छ ।

चौथो एकाई सभामा बागलुङ नगरपालिका वडा नंं १ र २, पाचौमा बानपा–३ र ४, छैठौ एकाईसभामा बानपा–५ देखि १४ सम्मका शेयर सदस्यहरुको सहभागिता रहने भएको छ । सातौ एकाईसभामा काठेखोला गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ८ तथा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका शेयर सदस्यहरु सहभागि हुने संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

साधारणसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम र आगामी योजनाका बारेमा कार्तिक १९ गते समिक्षा तथा योजना निर्माण गोष्ठी सम्पन्न गरिएको थियो । गोष्ठीमार्फत संस्थाले आगामी दिनमा गर्ने योजना र कार्यक्रम तयार पारिएको छ । १६ औं वार्षिक साधारणसभा सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन समेत गर्ने भएको छ ।

सूचना र सञ्चारका क्षेत्रमा आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।

वित्तीय कारोबार समेत गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य, ५ करोड ५२ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड ऋण लगानी र ४४ करोड कुल सम्पत्ती रहेको प्रवन्धक सापकोटाले जानकारी दिनुभयो ।

संस्थाले २०७० सालमा निर्माण गरेको १० वर्षे रणनीतिक योजना अन्तरगत आगामी असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर रकम, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी र ५८ करोड कुल सम्पत्ती बनाउने लक्ष्य लिइएको छ ।

२०७० सालमा बनाएको १० वर्षे रणनीतिक योजना अनुसार आदर्श सञ्चार सहकारीले आफ्ना योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको र लक्ष्य प्राप्ती सन्तोषजनक रहेको अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले बताउनुभयो । आगामी आर्थिक वर्षमा संस्थाले २० वर्षे रणनीतिक योजना बनाएर सवल, सक्षम र प्रभावकारी संस्था निर्माणका लागि काम गर्ने लक्ष्य लिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *