उम्मेदवारको प्रतिबद्धता पत्र : विकास र समृद्धिको आश

आदर्श अनलाइन, बागलुङ

बागलुङका उम्मेदवारुहरुले बागलुङको विकास र समृद्धिका खाका तयार गरिएको प्रतिबद्धतापत्र लिएर निर्वाचनको मैदानमा उत्रेका छन् । बागलुङमा चुनावी मैदानमा उत्रेका गठबन्धन र अन्य दलका अधिकांश उम्मेदवारहरुले सार्वजनिक गरेको प्रतिबद्धता पत्र अनुसार बागलुङको विकासका लागि ठूला सडक कालोपत्रे गर्ने, विमानस्थल चलाउने, शिक्षा र स्वास्थ्यको विकासमा काम गर्ने र समग्र बागलुङलाई राष्ट्रिय विकास संग जोड्ने उल्लेख गरेका छन् ।

सत्तारुण गठबन्धनको तर्फबाट आइतबार प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र संस्थागत विकासका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा राष्ट्रय राजनीतिमा बागलुङको आवाजलाई बुलन्द गर्न, अलपत्र विकासका योजना अगाढी बढाउन, सम्मुनत बागलुङ, सम्मानित बागलुङ बासी बनाउनका लागि निर्वाचनमा आएको उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्नमा पहल गर्ने, पालिका केन्द्र सम्म पक्की सडक पु¥याउने, वडाको केन्द्र सम्म स्तरीय सडक पु¥याउने, व्यवसाय सञ्चालनमा युवालाई अनुदानका कार्यक्रम ल्याउने, धौलागिरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती गरिने, मनोपरामर्श केन्द्र स्थापना गर्ने, कृषिमा आत्मनिर्भर गराउने, महत्वपूर्ण पर्यटकीयस्थलहरुको विकास गर्ने लगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सांसदले संसदमा नीति बनाउदै विकासमा सहज बातावरण बनाउने भएपनि जनतासामु विकासको माग धेरै रहेको गठबन्धनबाट बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनुभयो ।

“संसदको काम भनेको नीति निर्माण गर्ने हो, विकास निर्माणमा मन्त्रालय छ तर जनताको आवाज विकास रहेको छ, मैलेनै संसद विकास कोष चाहिदैन भन्दै हिडे, अहिले जनताकोमा जादा कोष चाहिने रहेछ भन्ने लाग्यो” केसीले भन्नुभयो “बागलुङ विकासमा पछाडि छ, बागलुङको समग्र विकासमा हाम्रो गठबन्धनको मुख्य भुमिका रहन्छ ।”

गठबन्धनको तर्फबाट जारी भएको घोषणापत्रमा बस्ती विकास, कैकल्पिक उर्जा, खानेपानीको पहुँच, उद्योग, व्यापार र रोजगारीलाई बढी जोड दिइएको छ । यस्तै नेकपा एमालेको तर्फबाट हालै सार्वजनिक भएको घोषणापत्रमा बागलुङका ठूला योजनाबाटै समृद्धि हासिल गर्न सकिने उल्लेख गरिएको छ । घोषणापत्रमा पर्यटनबाट बागलुङको विकास गर्न सकिने र निकै सस्तो परियोजनाको रुपमा रहेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना शुरु गर्न सरकारलाई दवाब दिने, ढोरपाटन क्षेत्रको विकास गर्ने लगायतको योजनाहरु घोषणापत्रमा समावेस गरिएको छ ।

एमाले बागलुङले जारी गरेको घोषणापत्रमा ग्रामिण शहरलाई प्रविधिमैत्री बनाइने, सिटिहल निर्माण गरिने, एक पालिका एक बारुण यन्त्र खरिद गर्ने, बलेवा विमानस्थललाई सञ्चालनमा ल्याइने, एक वडा एक सहकारी, घर घरमा रोजगारी, एक घर एक स्वरोजगार, बाङ्गेचौरलाई रङ्गशाला निर्माण गरिने, उद्यमीसंग हाम्रो बाँचा मेड इन बागलुङको ब्राण्डिङ र बजारीकरण, भूमिहिन र सुकुम्बासीसंग हाम्रो सङ्कल्प सबैको हातमा लालपूर्जा लगायतका योजना समावेश गरिएको छ ।

नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुुर्य पाठकले जनतालाई विकास संग जोड्दै समग्र बागलुङको विकास र समृद्धिका लागि एमालेको जीत आवश्यक रहेको बताउदै आफ्ना एजेण्डा सहित निर्वाचनमा होमिएको जानकारी दिनुभयो ।

“मैले पाँच वर्षमा बागलुङका थुप्रै समस्याका विषयमा सदनमा राखेको छु, बागलुङका ठूला विकासे योजना निर्माणमा सहकार्य गरेको छ, अस्पतालमा आइसियु बनाउन समेत संसद विकास कोषको रकम हालेको छु” निर्वतमान सांसद समेत रहनुभएको डा. पाठकले भन्नुभयो “पाँच वर्षमा केही कामको थालनी भएको छ, बलेवा विमानस्थल कालोपत्रे भएको छ, कालीगण्डकी करिडोर कालोपत्रेको चरणमा पुगेको छ, थुप्रै अधुरा काम गर्नका लागि पुन पार्टीले चुनावी मैदानमा पठाएको छ ।”

एमालेको स्थानीय प्रतिबद्धता पत्रमा भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र बनाउने, जीर्ण सडकको स्तरोन्नती, पालिका जोड्ने सडक कालोपत्रे र वडाहरुलाई स्तरीय सडकलाई कालोपत्रे गर्ने लगायतका योजनाहरु सार्वजनिक गरेको छ । यस्तै अन्य साना दलहरुले समेत आफ्ना विकासे एजेण्डा सहित चुनावी प्रचार प्रसारमा लागेका छन् । बागलुङमा दुई प्रतिनिधि र चार प्रदेशस सांसदको पदमा ३१ जना चुनावी मैदानमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्