चुनावले बल्झाउँछ द्वन्द्वपीडितको घाउ

डम्मर बुढा मगर, बागलुङ
बागलुङ जैमिनी–१० का बिमल केसी, छोरा गणेश केसीको खोज तलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष पूरा भयो । सशस्त्रद्वन्द्वका बेला वि.सं. २०५८ साल मंसिर १२ मा नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो । सबै तिर हारगुहार गरे पनि केसीले अहिलेसम्म न्याय पाउन सक्नु भएको छैन । जब निर्वाचन आउँछ तब नेताहरु केसीलाई न्याय दिलाउने आश्वासन दिएर भोट माग्छन् ।

अझै पनि केसीलाई छोरो फर्किएर आउने आश छ । तर छोरा कहाँ, कुन अवस्थामा छ भन्ने अत्तोपत्तो छैन । केसी भन्नुहुन्छ–“मेरो छोरोलाई बेपत्ता पारेको २१ वर्ष पूरा भयो, अहिले ३४ वर्षको हुन्थ्यो, बुढेसकालको सहारा बन्थ्यो, के गर्नु दैव लागे, अहिले मेरो छोरा जिउँदो छ, कि म¥यो कि, केही अत्तोपत्तो छैन, न्यायका लागि धेरै ठाउँ पुगे, नेता मन्त्रीलाई गुहारे तर न्याय पाइन ।”

जहिले पनि चुनावका बेला नेता भोट माग्न आउने र छोराको खोजी गरि न्याय दिलाउने आश्वासन दिए पनि अहिलेसम्म कसैले काम गर्न नसकेको उहाँको गुनासो छ । केसीले जित्नका लागि नेताले अनेक थरीका आश्वास बाँड्ने र जिति सकेपछि फर्किएर गाउ नआउने गरेको बताउनुभयो । चुनावमा आफूहरुले भोट दिएर नेताहरुमा माथिल्लो पदमा पु¥याउने तर उनीहरुले जनताको दुःख सुखमा साथ भने दिन नसकेको केसीले दुखेसो पोख्नु भयो ।

“चुनावमा बेला घरमै आएर बस्छन्, भोट दिनु हामी तपाईको न्यायका लागि लड्छौँ, भन्छन् तर चुनाव जितेर गए भने एक पटक पनि फर्किएर आउँदैनन्, चुनाव बाहेक अरु बेला कसैको अनुहार यो गाउँमा देखिदैन, भोट हाल्ने दिन आयो भने मात्रै आउँछन्” उहाँले भन्नुभयो–“चुनावले हाम्रो ओभाउन लागेको घाउ बल्झाइ दिन्छ, हामी तपाईको न्यायका लागि लड्छौँ, तपाईको छोरोलाई न्याय दिलाएरै छोड्छौँ भन्छन् तर, यतिका वर्ष आश ग¥यौँ, नेताले गर्लान् भन्ने आश मरि सक्यो, पटक–पटक प्रहरी, प्रशासन पनि पुगियो तर न्याय पाइएन ।”

ताराखोला–२ की कमला विकका घरमा पनि नेताहरु दिनदिनै भोट माग्न जान्छन् । उहाँलाई पनि बिमल केसीलाई जस्तै न्याय दिलाउने आश्वासन दिन्छन् । विकका बुबा परविर विकको २०६१ सालमा द्वन्द्वकै क्रममा मृत्यु भएको थियो । बाबाका न्यायका लागि पटक–पटक सम्बन्धित निकायहरु धाए पनि अहिलेसम्म न्याय पाउन नसकेको उहाँले गुनासो गर्नु भयो ।

“बुबाको न्यायका लागि वर्षौँदेखि लड्दै आयौँ तर न्याय पाउन सकेनौँ, अब त आश मरि सक्यो, न्याय पाइएला भन्ने लाग्न छोड्यो, अहिले चुनाव आएको भएर होला दिनदिनै नेताहरु भोट माग्न आउँछन्, न्यायका लागि हामी लड्छौँ भन्नुहुन्छ, तर उहाँहरु चुनाव जितेपछि फर्किएर गाउँमा आएको मैले देखेको छैन” विकले भन्नुभयो ।

विकले चुनावका बेला द्वन्द्वपीडितका घरमा पुगेर सहिदको सपना पूरा गर्न आफूहरुलाई भोट दिनु पर्ने भन्दै भ्रम छर्ने गरेको बताउनुभयो । सुरुसुरुमा आफूहरुलाई विश्वास लागे पनि अहिले लाग्न छोडेको उहाँको भनाई छ । विक उहाँ भन्नुहुन्छ–“भोट माग्ने अरु बहाना नभएर होला सहिदको सपना हामी पुरा गर्छौँ भन्नुहुन्छ, हामीलाई उहाँको विश्वास लाग्न छोडिसक्यो, पहिले पनि त्यस्तै भन्नुहुन्थ्यो, केही गर्न सक्नु भएन, अहिले पनि फेरि त्यही भन्दै आउनुहुन्छ, हामी पीडितका लागि सानो भए पनि काम गरेको भए चित्त बोझ्थ्यो तर केही गर्नु भएन, उहाँहरुलाई भोट दिएर पनि केही अर्थ छैन ।”

ताराखोला–५ का द्वन्द्व पीडित हरि सुवेदीले उम्मेदवारहरुको पुरानै एजेण्डा लिएर भोट माग्न आउने गरेको बताउनुभयो । उहाँले द्वन्द्व पीडितका लागि काम गर्छौँ भनेर वर्षौँदेखि आफूहरुलाई झुक्याउने तर उम्मेदवारले आफ्नो घोषणा पत्रमा समेत आफूहरुको बारेमा केही समावेश नगरेको बताउनुभयो । भोटका लागि नेताहरुले अनेक भ्रमहरु छरेर मत फुत्क्याउने तर जितेपछि आफ्नो परिवारको बाहेक जनताको केही काम नगर्ने उहाँको भनाई छ ।

सुवेदीको द्वन्द्वका बेला २०५८ सालमा माओवादीले ४५ लाख बढीको घर, जग्गा र भएभरको सम्पत्ति कब्जा गरेको भन्दै आफूलाई सुकुम्बासी बनाएको स्मरण गर्नुभयो । उहाँ भन्नुहुन्छ–“२०५८ सालमा मेरो घर सम्पत्ति सबै कब्जा भयो। म सुकुम्बासी भएँ, आफन्तर र इष्टमित्रले मलाई सहयोग गर्नु भयो र अहिले जसोतसो जीविका चलेको छ, चुनावका बेला अनेक आश्वासन दिन्छन् तर काम गर्दैनन्, नेतालाई भोट मात्रै दिएर सत्तामा पु¥याउने हाम्रो अवस्था जस्ताको तस्तै छ ।”

उहाँले अहिलेसम्म आफूका लागि कुनै पनि निकायले सहयोग नगरेको बताउनुभयो । दुई छोरा, दुई छोरी र श्रीमतीसहित आफुले अहिले जसोतसो जीविका चलाएको बताउनुहुन्छ । सुवेदीले भोट माग्न आउने नेताले न्याय दिलाउने आश्वासन बाँडे पनि अहिलेसम्म कुनै पनि सहयोग दिन नसकेको गुनासो गर्नुहुन्छ ।

बागलुङमा द्वन्द्व प्रभावित जिल्लाहरु मध्ये अग्र स्थानमा पर्छ । सशस्त्र द्वन्द्वका बेला एक सय ४९ जनाले ज्यान गुमाउनु परेको थियो भने २४ जना अझै वेपत्ता छन् । सरकारले आफूहरुका लागि काम गर्न नसेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *