स्वतन्त्र उम्मेदवार विरुद्ध सिंगो राज्य ?

सम्पादकीय
स्वतन्त्र उम्मेदवारको देशमा उभार छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले चामत्कारिक जित हासिल गरे यता स्वतन्त्र उम्मेदवार बन्ने लहड सिर्जना भएको छ । काठमाडौं महानगरपालिकामा इञ्जिनियर बालेन शाह र धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङले स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएर भारी मतले बिजयी हासिल गरेको तरंग यसपटकको प्रदेश र प्रतिनिधिसभा सम्म आइपुगेको छ । यसले राजनीतिक दल र उम्मेदवारलाई पनि झस्काइरहेको छ । उसो त स्वतन्त्र उम्मेदवार र यस अभियानमा सम्लग्न कतिपय भने स्वतन्त्र दल र लौरो अभियानमा समाहित भएका छन् ।

स्वतन्त्र उम्मेदवार काठमाडौं सहित धेरै प्रतिनिधिसभा र प्रदेश सभामा देखिएका छन् । जसमध्ये अहिले चर्चामा रहेका पात्र हुन् डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकाल । जसले केही वर्ष अघिको बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रश्न गरे पछि उल्टै देउवाले हकारेका थिए । अहिले उनी साम्पाङ शैलीमा चुनावी प्रचार प्रसार गरिरहेका छन् । मतदाता समक्ष पुग्न हातमा माइक समाएर आफ्ना कुरा राख्दै मत दिन अपिल गरिरहेका छन् । तर, यसक्रममा देउवा सम्बद्ध नेपाली कांग्रेस, गठबन्धनको घोषित अघोषित दबाब त ढकाललाई थियो नै, सोमवार त प्रचार गर्न नै रोक लगाइयो । त्यस पश्चात ढकालले सामाजिक सञ्जाल मार्फत भनेका थिए, ‘मलाई जोगाइदिनुस्, जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । मलाई अब प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको छ ।’ यसबारेको भाइरल भिडियोमा पनि उनको प्रचार प्रसारमा रोक लगाउन खोजिएको प्रष्ट हुन्छ ।

नेपालको कानुन दैवले जानुन या सानाले ऐन, ठुलालाई चैन भन्ने उक्ति छ । डडेल्धुरामा स्थानीय प्रहरी प्रशासनको भूमिका पनि यही खालको देखिन्छ । चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै माइकिङ गर्ने राजनीतिक दल, उम्मेदवारहरुलाई बिना अवरोध घुमफिर गर्न दिने, एक स्वतन्त्र उम्मेदवारले सामान्य माइकिङ गरेर पनि मत माग्न नपाउने ? यदि ढकालले अपनाएको चुनावी प्रचार शैली बिद्यमान आचार संहिता विपरित हुन्छ भने त्यो भन्दा सयौ गुणा कारबाही र सजायको भागिदार राजनीतिक दल र तिनका उम्मेदवार हुनुपर्छ । एउटा कुरा चाही मान्न सकिन्छ ढकालले कार्यक्रमको पूर्ववत जानकारी, रुटबारे प्रशासन, निर्वाचन कार्यालयमा यथेष्ट दिएका छैनन् भने बुझ्ने भाषामा भन्नुपर्छ । तर, सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमा पनि स्वतन्त्र उम्मेदवार ढकाललाई हतोत्साही बनाउने नियतबाट कदापि परिचालित हुनुहुँदैन । निर्वाचन आयोग, प्रहरी प्रशासनले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्छ । प्रधानमन्त्रीको आड भरोसा, छत्रछाया र दबाबमा चुनावी प्रतिस्पर्धामा उत्रिएका जो कोहीलाई आफ्नो प्रचारमा रोक लगाउने कुरा लोकतन्त्रका लागि शोभनीय होइन । यसमा थप गल्ती दोहोराउने काम कथमकदाचित नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *