मतदाता भन्छन्–‘आश्वासनले तिर्खा मेटिदैन, हामीलाई पानी चाहियो’

डम्मर बुढा मगर, बागलुङ
“आजभोली दिनदिनै नेताहरु भोट माग्न आउँछन्, तपाईहरुको समास्या के छ हामी समाधान गरि दिन्छौँ, यस पटक जिताइ दिनु प¥यो, वृद्धभत्ता पनि बढाउँछौँ, सडक पिच गछौँ भन्छन्, चुनाव जितेर गएपछि पहिलेकै जस्तो होला, हामीलाई धेरै पटक नेताहरुले भ्रममा पारे ।” बागलुङको निसीखोला–२ का विरबहादुर विकलाई नेताहरुले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिन थालेको ३० औँ वर्ष भयो ।

३० वर्षको अवधीमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भए । तर उनको घरमा अहिले पनि खानेपानीको धारो बन्न सकेको छैन । खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनु पर्छ । गाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट ग्रसित छन् । मंसिर ४ को निर्वाचनका लागि अहिले पनि नेताहरु घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइ रहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।

विक भन्नुहुन्छ–“गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ, अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, धेरैलाई सांसद बनायो, तर हाम्रो अवस्था फेरिएन, उनीहरु सत्तामा पुगे, खाली हामीलाई झुटा र उधारा बाचा दिए पानी ल्याइदिन्छौँ भनेर, हामीहरु ल्याउलान् भने आश ग¥यौँ तर पानी आएन, अहिले पनि चुनाव आएको छ, नेताहरु दिनदिनै गाउँमा आएर भोट माग्छन्, अब त अति भयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ नत्र दिन्नौँ ।”

निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका २२० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले खानेपानीको अभावमा छन् । वर्षातको समयमा घ्याम्पोमा संकलन भएको पानी करिब डेढ महिना पु¥याउनु पर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीय छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बतानुहुन्छ । भोट माग्न आउने नेताले खानेपानी ल्याएदिएको भए अहिलेसम्म आफूहरु जीवनस्तर माथि उकासी सक्ने बताउनुहुन्छ ।

“चुनाव आयो की नेताहरु पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइ दिन्छौँ भन्न लागेको दशकौँ भयो, भनेको बेला पानी ल्याइ दिएको भए, अहिलेसम्म आम्रो जीवनशैली बदलिन्थ्यो, घण्टौँ पानी बोकेर दिन बिताउनु पर्ने थिएन, विहान उठेदेखि पानी बोक्न सुरु गरेको राती नसुतुन्जेल पानी बोक्नु पर्छ” छलिबिराले भन्नुभयो–“हाम्रो समस्या कसले देख्ने ?, कसले बुझ्ने ?, खाली भोट माग्न आउने, नानाथरी आश देखाएर भोट लगेर जाने, हाम्रो समस्या नबुझन् अब भोट दिन्नौँ ।”

उहाँले घण्टौँको यात्रा गरे पानी बोकेर ल्याउनु पर्दा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने हुँदा छोराछोरीको पढाईसमेत बिग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारो र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाई छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ ।

“भोट माग्न आउँदा एक घर एक धारो बनाउँछौँ, तपाईहरुको समस्या समाधान गछौँ भन्छन्, चुनाव जितेर गए भने हाम्रा समस्या उनी सामु राख्न पनि पाइँदैन, एक पटक पनि फर्किएर यो गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो–“नमस्कारले र तिनीहरुले दिएको आश्वासनले हाम्रो तिर्खा मेटिदैन, हामीलाई पानी चाहियो, पानी नदिए हामी भोट पनि दिँदैनौँ, हाम्रो भोटले उनी मन्त्री बन्ने सांसद बन्ने हामी काकाकुल नै रह्यौँ ।”

अर्नाकोटका अधिकांश स्थानीयहरु पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीय झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाए सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो ।

“गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, मन्त्री सांसद सबैलाई भनियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन, सानोतिनो भएको मुहान पनि सक्दै गए,” उहाँले भन्नुभयो–“यहाँ यति ठूलो बस्ती छ, तर पानीको स्रोत छैन, वर्षौँ भयो यहाँका मान्छेले पेट भरी पानी पिउन पाएका छैनन्, आयआजन गर्ने अधिकांश समय पानी बोक्नमै बित्छ, तरकारी पनि राम्रोसँग उब्जाएर खाने अवस्था छैन, गाउँमा धेरै गरिब दुःखी मान्छे छन् त्यसमाथि खानेपानीको समस्या हुँदा दैनिकी चलाउन पनि सकस हुन्छ ।”

स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका हुनेखानेहरु बसाइँसराइ गरि रहेको बताउनुभयो । अहिले गाउँमा गरिब, दुःखी र बसाइँसराइ गरेर अन्त जान नसक्नेहरु मात्रै रहेको विकको भनाई छ । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ ।

“अहिले गाउँमा गरिब, दुखी मात्रै हुन थाले, खानेपानीको समस्याका कारण हुने खानेहरु धमाधम बसाइँसरेर जान थाले, यो ठाउँ पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो, तर खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परि रहेको छ,” विकले भन्नुभयो–“चुनाव आयो, यति बेला नेताहरु यहाँका स्थानीयहरुको घरघरमा आएका छन्, उनीहरुलाई यहाँका जनताका समस्याको वास्ता छैन, सोझासाझा जनतालाई कसरी हुन्छ झुक्याएर भोट माग्ने मात्रै उनीहरुको योजना छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *