मतदाता भन्छन्–सबै दलका एजेण्डा मतदाता झुक्याउने छन्

डम्मर बुढा मगर, बागलुङ
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारहरुले आफ्ना घोषण पत्र तथा प्रतिबद्धता पत्रहरु सार्वजनिक गरेका छन् । उम्मेदवारहरु घोषणा पत्र बोकेरै मतदातालाई भोट माग्न शहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरुले घोषणा पत्रमा महत्वकांक्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।

मतदाता रिझाउन घोषणा पत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारहरुले नयाँ एजेण्डा देखाउन सकेका छैनन् । पुरानै एजेण्डा समेटिएको घोषणा पत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन । स्थानीय टिकाराम शर्माले अहिलेसम्म उम्मेदवारहरुले सार्वजनिक गरेका घोषणा पत्रमा मतदाता झुक्याउने र भोट फुत्क्याउने बाहेक अरु एजेण्डा समावेश नभएको बताए ।

शर्माले भने–“मैले सबै दलका उम्मेदवारको घोषणा पत्र हेरे, पढेँ, तर कुनै पनि नयाँ योजना पाइन, सबै पुराना योजना समेटेका छन्, घोषणा पत्रमा वर्षौँदेखि काम हुन नसकेका योजना पनि राखेको देखियो, यो सबै मतदाता झुक्याउने मात्रै भयो, पहिलेको एजेण्डा जे थियो अहिले पनि त्यही छ, यो त सिधै मतदाता झुक्याउने उपाय भयो नि, यहाँ शिक्षा, स्वास्थ्यको अवस्था निकै दयनीय छ, एजेण्डा भने ठूलाठूला मात्रै छन्, पहिला साना काम गरे पो जनताले पनि पत्याउँछन् ।”

शर्माले जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार चाहेको भन्दै यस्ता विषयलाई कम प्राथमिकता दिएको बताए । उम्मेदवारहरूले ल्याएका चुनावी एजेण्डाहरूमा नयाँपन पटक्कै नदेखिनुले सबै उम्मेदवार परम्परागत मात्रै रहेछन् भन्ने देखाएको उनको भनाई छ । चुनावी एजेण्डाहरू सबै दलका एउटै रहेको भन्दै ति योजनासमेत पुरा नगर्ने उनी कताउँछन् ।

“अहिलेका घोषणा पत्रमा एउटा पनि नयाँपन छैन, सबै पुराना छन्, अघिल्लो पटक भोट माग्न आउँदा पनि यही सुनाउँथे, अहिले पनि यही सुनाउँछन्,” उनले भने–“हामी मतदाताहरु उनीहरुको योजना मात्रै सुन्ने भइयो, विकास देख्न र उपभोग गर्न पाइने भएन, एउटै योजना गछौँ भनेको वर्षौँ भयो तर अहिले पनि उही एजेण्डा सुनाएर भोट माग्छन् ।”

ढोरपाटन–२ का दिपक खत्रीले उम्मेदवारको एजेण्डामा गरिब, दुःखी र अपाङ्गता भएका व्यक्ति मुद्धा समावेश हुन नसकेको बताए । उनले वर्षौँदेखि स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका विषयलाई प्रमुख एजेण्डा बनाए पनि अवस्था कत्ति पनि फेरिन नसकेको बताए । निर्वाचित हुने उम्मेदवारले एजेण्डा अनुसार काम नगर्दा जनताले विश्वास गर्न छोडि सकेको उनको भनाई छ ।

“चुनावका बेला निकै महत्वकांक्षी योजना सुनाएर भोट माग्छन्, चुनाव जितेपछि कता हराउँछन्, मैले थाहा पाउने भएदेखि अहिलेसम्म जति पनि चुनाव भए नेताहरुको एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगार नै भयो, तर काम गरेको भने केही देखिदैन,” खत्रीले भने–“सडकको अवस्था हेर्नुस् कस्तो छ, शिक्षाको हालत उस्तै, रोजगारको त झन के कुरा गरौँ दिनदिनै युवाहरु विदेश पलायन भइरहेका छन्, यहाँका कुनै पनि नेताले एउटा पनि युवालाई रोजगार दिएका छैनन्, बरु पासपोर्ट बनाइ दिएर विदेश पठाएका छन् ।”

उनले एजेण्डा अनुसारको काम भएको भए पश्चिम बागलुङमा न्यूनतम विकासका पूर्वाधार निर्माण भई सक्ने बताए । एउटा सामान्य योजना पूरा गर्न वर्षौँ लाग्ने र पटक–पटक चुनावमा उही एजेण्डा लिएर आउने गरेको उनको भनाई छ । खत्रीले भने–“एजेण्डा राम्रो लिएर के गर्ने काम गर्दैनन्, चुनावैपिच्छे एउटै एजेण्डा हुन्छ, एउटा योजना पूरा गर्न वर्षौँ लगाउँछन्, चुनावका बेला आएर हामीहरुलाई अनेक आश्वासन दिन्छन्, काम गर्दैनन् ।”

स्थानीय पवित्रा कुमारी विकले आफूहरु वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेको भन्दै चुनावका बेला आश्वासन मात्रै दिने गरेको बताइन् । उनले हरेक चुनावका बेला घर–घरमा पानी धारो निर्माण गरि दिने भन्दै घोषणा पत्रमै लेखे पनि अहिलेसम्म काम भने गर्न नसकेको बताइन् ।

“हामीहरु वर्षौँदेखि खानेपानीको अभावमा काकाकुल जस्तै बनेका छौँ, चुनावका बेला किताबमै एक घर कए धारा बनाउँछौँ भनेर लेखेका हुन्छन्, नेताले पनि हामी तपाईहरुको लागि काम गछौँ भन्छन् तर चुनाव सकिएपछि कहाँ लापत्ता हुन्छन्” विकले भनिन्–“अहिले पनि चुनाव आयो फेरि पनि त्यही कुरा गरेर भोट माग्छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *