यन्त्रिकरणमा किसानको आकर्षण

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीको केवैगाउँका पुर्ण बहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । मकै र कोदोको राम्रो उब्जाउ हुँने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न निकै खर्च लाग्ने गर्दथ्यो तर पुनले चार वर्षदेखि नत मकै छोडाउन कुनै श्रमिक बोलाउनुपरेको छ न कोदो चुट्न । खर्चका नाममा केही युनिट विद्युतको महशुलबाहेक पुनले अन्य केही गर्नु परेको छैन ।

“शुरुमा यसको फाइदाका विषयमा खासै ज्ञान भएन, मकै छोडाउने औजारले कोदो चुट्ला भन्ने लागेकै थिएन, विस्तारै यसको प्रयोगका विषयमा बुझ्दै गए, मकै छोडाउने औजारले कोदो पनि चुट्न मिल्दो रहेछ, अहिले कोदो चुट्ने याममा एक आगनको कोदो चुट्न छ जनालाई दिनभर लाग्थ्यो, कोदो चुट्ने औजारको प्रयोगले दुई घण्टामै काम सकिने रहेछ ।” मकैं छोडाउने औजारले कोदो चुट्नेकाम समेत गर्नेकुरा पछिमात्रै थाहा पाएको पुनको भनाई छ । पुनका अनुसार सामान्य क्षमताको विद्युतबाट चल्ने थोरै मुल्यको उपकरणबाट आफुलाई धेरै फाइदा भएको बताउनुभयो ।

उहाँले कोदो काटेर लिएर आँगनमा सुकाए मात्रै भयो, सुकेको कोदो दुई घण्टामै चुटेर सकिदा कृषिमा यन्त्रिकरणको फाइदा भएको बल्ल चाल पाएको बताउनुभयो । “छ जना ज्यालादारीका मजदुर खटाउदा कति खर्च लाग्थ्यो, जुन कोदो दुई÷चार सय विद्युत रकमको खपतमै भयो” पुनले भन्नुभयो “गाउँका अन्य किसानहरुको आगनमै पुगेर कोदो चुट्ने तयारी छ, यहाँका धेरै किसानको समय र खर्चको बचत भएको छ ।”

जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानहरुलाई राहत भएको छ । परम्परागत तरिकाले गरिने मकै तथा कोदोलाई समेत कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको बागलुङ नगरपालिकाका किसान जगन्नाथ सापकोटाले बताउनुभयो ।

“अहिले प्रचलनमा आएको मिनि टेलर हलो अधिकांश किसानको सारथी भएको छ, गोरु त पाल्नै छोडे, गोरु जोत्न समेत मान्छे पाइन छाडेपछि मिनिटेलर हलोले आफै जोत्न सकिन्छ, गोरुले जोत्ने एक दिनको मेलो एक घण्टामै ट्याक्टरले जोतिसक्छ” सापकोटाले भन्नुभयो “बाली मात्रै लगाउन हैन उत्पादन भएको बालीलाई प्रयोग गर्न मिल्ने गराउन गहुँका लागि थ्रेसर, कोदो चुट्ने मेशिन, दहीबाट घ्यु बनाउने औजारहरुको प्रयोगले किसानलाई सहज बनाएको छ ।

थोरै लगानी गरेर यस्ता उपकरणको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको किसानहरुले बताएका छन् । कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको र कृषि कार्यक्रममा समेत प्रविधि र औजारमा अनुदान समावेश भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“अहिले कृषिमा प्रविधि भित्राउनेलाई समेत अनुदान प्रदान गर्न थालिएको छ, त्यसैले किसानलाई प्रविधि प्रति चासो बढेको पाइएको छ” भट्टराइले भन्नुभयो “मिनिटेल हलो, थ्रेसर मेशिन, कोदो र मकै चुट्ने मेशिनका कारण किसानलाई सहज भएको छ ।” रैथानेबाली प्रर्बद्धन कार्यक्रम अन्र्तगत गत वर्ष १५ थान कोदो चुट्ने औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको केन्द्र प्रमुख भट्टराइले बताउनुभयो ।

पछिल्लो समय कृषि उपकरणको खरिद गर्ने किसानको संख्यामा उल्लेख्य वृद्धि भएको बागलुङ बजारका पङ्गाली मेशिनरीका सञ्चालक कलानिथी पौडेलले जानकारी दिनुभयो । “बजारमा कृषि उपकरणको माग उच्च छ, मिनि टेलर हलोका कारण गोरुनै विस्थापित भएको अवस्था छ” पौडेलले भन्नुभयो “गहुँ र धान चुट्ने थ्रेसर, काट्ने उपकरण तथा कोदो र मकै चुट्ने उपकरण पछिल्लो समय किसानको रोजाईमा पर्न सफल भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *