मतदाता शिक्षामा खटिएका कर्मचारी ‘दलका प्रतिनिधि’

आदर्श अनलाइन, बागलुङ
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मतदातालाई शिक्षा दिन स्थानीय तहबाट खटिएका कर्मचारी राजनीतिक दलका प्रतिनिधि भएको भन्दै बागलुङका स्थानीयले गुनासो गरेका छन् ।

सदर मत बढाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय बागलुङसँगको सहकार्यमा जिल्लाका १० वटै स्थानीय तहले प्रत्येक वडामा एक÷एक जना महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि परिचालन गरेका छन् ।

बागलुङ नगरपालिका–४ को मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहेको स्थानीय शान्ती विकले बताउनुभयो ।

‘स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको झण्डा बोकेर भोट माग्न आउनुभएको थियो,’ विकले भन्नुभयो ‘अहिले नगरपालिकाबाट खटाएर आएको भन्दै मतदाता शिक्षा दिदैं हिँड्नुभएको छ ।’

मतदाता शिक्षामा खटिने कर्मचारी कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको र उसको एकाघरका परिवारका सदस्य समेत राजनीतिक दलमा क्रियाशील नभएको हुनुपर्ने व्यवस्था भए पनि सक्रिय राजनीतिमा रहेका व्यक्तिलाई मतदाता शिक्षा कर्मचारीको रुपमा खटाइएको पाइएको हो ।
बागलुङ नगरपालिका ४ को मतदाता शिक्षामा खटिएकी सरिता आचार्य नेपाली काँग्रेस, काठेखोला गाउँपालिका ७ मा खटिएकी मिना कार्की नेपाली काँग्रेसका पुर्व वडा सभापतिको बुहारी, गलकोट नगरपालिका ११ मा खटिएकी मिना राना राष्ट्रिय जनमोर्चा निकट रहेको स्थानीय मतदाताको गुनासो छ ।

राजनीतिक दलमा आवद्ध नभएको व्यक्ति भेटाउन गाह्रो हुने भन्दै आफुलाई उहाँ कुन दलमा आवद्ध हुनुहुन्छ भन्ने जानकारी नभएको र महिला स्वास्थ्य स्वयंसेविकाको हैसियले आचार्यलाई छनौट गरेको वडा नम्बर ४ का अध्यक्ष कुमार विक्रम क्षत्रीले बताउनुभयो ।

गाउँपालिकाबाट वडा सचिव र स्वास्थ्य चौकीमा एसइई पास र कुनै पनि राजनीतिक दलमा सक्रिय नभएको व्यक्ति सिफारिस गरी पठाउनको लागि जानकारी गराएको र आफुले सोही व्यक्तिलाई मतदाता शिक्षामा खटाएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले बताउनुभयो ।

मतदाता शिक्षाका लागि खटिएका कर्मचारीले कुनै पार्टी र व्यक्तिलाई किटान गरेर मतदाता शिक्षा प्रदान गरेकाले हालसम्म कुनै सूचना जानकारी प्राप्त नभएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत धर्मभक्त बस्यालले बताउनुभयो । ‘राजनीतिक दल प्रति आस्था हुन सक्छ, तर चुनावी गतिविधि, भूमिकामा देखिनु भएन,’ बस्यालले भन्नुभयो ‘निर्वाचन आयोग र आफ्नो आचारसंहिता भित्र रहेर सबैले काम गरे समस्या आउदैन ।’

एसइई पास गरेको, प्रष्ट रुपमा राजनीतिक दल प्रतिको आस्था नखुलेको महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाको लागि खटाउन स्थानीय तहलाई आग्रह गरिएको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनुभयो । ‘स्थानीय व्यक्ति भएपछि कुनै न कुनै दलप्रति झुकाव पक्कै हुन्छ,’ रिजालले भन्नुभयो ‘प्रष्ट देखिने खालको नहोस् भन्ने ख्याल गर्न सचेत रहन आग्रह गरेका छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *