चुनावमा कुटपिटः अराजकताको होड

सम्पादकीय
सिंगो देश यतिबेला प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले तरंगित छ । यही मंसिर ४ गते हुने चुनावका लागि राजनीतिक दल र उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त छन् । चुनावको मिति जति नजिकिँदै छ, उति चुनाव पेचिलो बन्दैछ । निर्वाचन परिणाम आफु र आफ्नो राजनीतिक दलको पक्षमा पार्न अब करिब अन्तिम कसरतको तर्खरमा छन् । र त दलका नेता, कार्यकर्ताहरु बिच कुटपिट, झैझगडा लगायतका अराजक गतिविधि पनि बढ्न थालेको छ । आइतवार मात्र तीन जिल्लामा छुट्टा छुट्टै कुटपिटका घटनाको खबर आयो । अब यो दुर्भाग्यपूर्ण खबर मतदानको दिन सम्म मात्र होइन, चुनावी परिणाम घोषणा गर्दा सम्म आउनेछ । किनकि, नेपाली राजनीति यति खराब अवस्थामा पुगिसकेको छ कि जित्नका लागि आफ्ना अन्धभक्त नेता, कार्यकर्ता र समर्थकलाई जुनसुकै रुपमा उतार्ने नेतृत्व छ । जसले राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण एक अर्काको परिपुरक जस्तो बनेको छ ।

निर्वाचनको मिति आउन एक साता केही बढी मात्र दिन रहँदा राजनीतिक दल, नेता, कार्यकर्ता बिच कुटपिट, झैझगडाको घटना छरपष्ट हुन थालिसकेको छ । आइतवार चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरे । चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका साथै केही कार्यकर्तामाथि कुटपिट पनि भयो । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उता दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं–दार्चुला समन्वय समितिका अध्यक्ष हुन् । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा दर्जन बढीको समूहले अन्धाधुन्द आक्रमण गरेको देखिन्छ । नेकपा एमाले नौगाड गाउँपालिकाले भने चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी र सर्वसाधारणलाई गठबन्धनका कार्यकर्ताले रोकेपछि झडपको अवस्था आएको बताएको छ । यता गोरखामा पनि एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका–७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो । खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको हो । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

निर्वाचनमा प्रतिस्पर्धामा उत्रिनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर, राजनीतिका नाममा अराजक भिड बढ्ने क्रम जारी छ । असल राजनीतिक संस्कार सहितका नेता, कार्यकर्ता, समर्थक भन्दा हठ, धाक, धम्की, रवाफमा रमाउने कार्यकर्ताको होड छ । र त चुनावमा यी र यस्ता किमिसका अराजक घटना र गतिविधि बढ्छ । यो लोकतन्त्रका लागि राम्रो सूचक भने कदापि होइनन् । पहिले पहिले जस्तो साम, दाम, दण्ड जे गरेर पनि चुनाव जित्ने मनस्थिति, पात्र र प्रवृत्ति आजको दिनमा छैन । समय, परिवेश फेरिएको छ । जनतामा जागरणको उभार आएको छ । यद्यपि, यो प्रवृत्ति अहिलेको निर्वाचनमा पनि पुरै फेरिने अवस्था बनिसकेको देखिन्न । चुनाव जित्नका लागि जुनसुकै हठकण्डा अपनाउने दल, नेतृत्व र उम्मेदवार समयमै चिन्नुपर्छ र सोही अनुरुप नै अब जनताले चुन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *