शिवशरण ज्ञवाली
संसारलाई विविधता चाहिन्छ । आँखालाई विविधता चाहिन्छ । मनलाई विविधता चाहिन्छ । अनुहारलाई विविधता चाहिन्छ । कला, साहित्य, संगीत, राजनीति, पुलिस, प्रशासन, शिक्षा, व्यापार, डाक्टर सबै विविधताका परिचय हुन् । जीवनका लागिका यी सबैको आवश्यकता छ । तब न संसार छ । चोर पनि चाहिदो रहेछ साधु पनि चाहिदो रहेछ । चोर नभए पुलिस किन राख्नु ? साधु नभए त्याग कसबाट सिक्नु । सेना विघटन गर्ने देश पनि छ, संसारमा । हामी त्यो बलको औचित्यता पुष्टि गर्न नसके पनि विघटन गर्न पनि त सक्दैनौं । सेना पनि चाहिन्छ । व्यापारी पनि चाहिन्छ । योगी पनि चाहिन्छ भोगी पनि चाहिन्छ । शिक्षक, कर्मचारी सबै चाहिन्छन् । सबै योगी हुने हो भने मानव सृष्टि रोकिन्छ । संसारका सबै उत्पतिका कारक आनन्द हो रे । खुशी हो रे । त्यसकारण भोगी पनि जोगी जस्तै पवित्र र सुन्दर छन् ।
मलाई अरुको टिप्पणी गर्नु छैन । रामवरण उमेरमै डाक्टरबाट ‘डेट एक्सपायर’ भए । शंशाक र शेखर त्यही बाटोमा छन् । उनीहरु नेता बने डाक्टर बनेनन् । शेखर र शंशाक रुख रोप्ने प्रयास गर्दैछन् । यिनीहरुले बाटो बिराएको धेरै भइसक्यो । ललितपुरमा डाक्टर तोसिमा कार्की घन्टी बजाउँदै छन् भने चितवनमा डाक्टर भोजराज हसिया हँथौडाका पेचकिला कस्दै छन् । म उनीहरुलाई प्रत्यक्ष त शुभकामना दिन पाउँदिन् किनभने मलाई आचारसंहिता लाग्छ । मनमनै पनि शुभकामना दिन नसक्ने भएँ । भोजराजको त नाम मैले खासै सुनिन । यी तोसिमा गोविन्द केसीको आन्दोलनको समर्थनमा हिड्थिन् । म उनको समर्थक बनेको थिएँ । आज उनी राजनीतिक दलमा छन् । म उनको राजनीतिको विरोध गरिरहेको छु । चुनावभन्दा पहिल्यै उनी विरोधाभाषमा फसिसकेकी छन् । अदालत र निर्वाचन आयोगको चक्कर काटिरहेकी छन् । यी सबैलाई राज्यले छात्रवृति दिएर डाक्टर पढाएको हो भने त्यो गम्भीर भ्रष्टाचार हुनेछ । त्यो नीतिगत भ्रष्टाचारमा मात्रै सीमित हुने होइन होला । प्रत्यक्ष आर्थिक भ्रष्टाचार नै होला । यिनीहरुले त्यतिबेलै डाक्टरी नपढेर राजनीति पढेको भए डाक्टर पढ्ने आकांक्षा लिएर आएको अर्को व्यक्तिले अवसर पाउँथ्यो र उसले देशको इमान्दारपूर्वक सेवा गर्दथ्यो । यी त कोही न कोहीलाई शहीद बनाएर आएका देखिन्छन् । यिनीहरुबाट मुलुकको राजनीतिमा एक अंश पनि परिवर्तन हुनेवाला छैन । उदाहरणका लागि रामवरण, शेखर र शंशाकै काफी छन् नि । यी डाक्टरहरुले जस्तै गोविन्द केसी, भगवान् कोइराला, उपेन्द्र देवकोटा, सन्दुक रुइतले बाटो बिराएर पेशा सुरु गरेको सात आठ वर्षमा राजनीतिमा हामफालेको भए के नेपालको स्वास्थ्य आजको अवस्थामा आइपुग्थ्यो ? के नेपालबाट चस्माका विकल्पमा आँखाका लेन्स विदेश पठाउन सकिन्थ्यो होला ? मुटुको यति सजिलो उपचार हुन्थ्यो होला ? ब्रेनका केस्रा केलाएर दुनियाँलाई पुर्नजीवन दिन सकिन्थ्यो होला ? स्वास्थ्य क्षेत्रका विकृति कम गर्न सकिन्थ्यो ?
कोमल वलीले रेडियो नेपालबाट समाचार भन्दा श्रोताहरु मन्त्रमुग्ध हुन्थे । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म श्रोताका कान ठाडा हुन्थे । कति राम्रो स्वर थियो । त्यस्तो स्वर कसरी आउँछ ? अध्ययनकै विषय बन्थ्यो । अनुसरणको विषय बन्थ्यो । त्यस्तो प्रष्ट नेपाली भाषाको उच्चारण कसरी गर्न सकिन्छ ? त्यो भाषा अध्येताका लागि रुचिको विषय पनि हो । त्यो त उनको दोस्रो परिचय थियो । गायिकाका रुपमा यी निकै चर्चित थिइन् । ‘तुलसीपुरमा म जाँदा खेरी, उसले भन्यो ए नानी गाजले म त मरें लाजले’ । अब कोमल वली तुलसीपुर जाने छैन । उनले सूर्यको न्यायो खोज्दै छन् । अब उनले मायाको डोरोले सबैलाई त्यसरी बेर्ने छैनन् । खादा, माला र शक्तिको लालसाले उनी भित्रको गायिकाको अवसान भइसक्यो । बाटो बिराउनेलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न । आफ्नो क्षमताको शिखरमा पुग्दै गर्दा यी बाटैबाट हराइन् । यिनले अवतरण गर्न सकिनन् । नारायण गोपाल, रामकृष्ण ढकाल, तारादेवीले बिचमै राजनीतिमा लागेका भए नेपाली सांगीतिक क्षेत्र आजको अवस्थामा हुने थियो ?
वलीजस्तै कलाकार थिइन्, नायिका रेखा थापा । नेपाली चलचित्रजगत्मा नारी ‘स्टार’ सिर्जना गरेकै रेखा थापाले हो । महिलाहरु घरबाट बाहिर निस्कन सक्छन् । पुरुषजतिकै लड्न सक्छन् । विद्रोह गर्न सक्छन् । नायिकात्व वरण गर्न सक्छन् भन्ने गराएकी थिइन् । मैले उनका फिल्म त हेर्न अवसर पाइन तर मैले उनलाई सुने । पुरुष जत्तिकै भएर महिलाहरु लड्न सक्छन् भन्ने सन्देश उनले जोडदार रुपमा उठाइन् । चुलोचौकोबाट बाहिर ल्याइन् । त्यही विद्रोह गर्दा उनले व्यक्तिगत जीवनमा क्षति पनि भोग्नु प¥यो कि ? तर उनी चलचित्रमा टिक्न सकिनन् । उनी भित्रको नायिकात्वको पनि अवसान भयो । यिनले पनि उचाइलाई टिकाइराख्न सकिनन् । गौरी मल्ल, निरुता सिंह, विपना थापा, अस्मिता केसी आदिले यसै गरेका भए नेपाली फिल्ममा डाक्टर तोसिमाले अभिनयको सानो अवसर पाउँथिन् ?
के तोसिमा, भोजराज, शंशाक, शेखर, वली र रेखाबाट नेपाली राजनीतिको दिशा परिवर्तन होला त ? म राजनीति शास्त्रको विद्यार्थी त होइन तर त्यो सम्भव छैन चाहि भन्न सक्छु । यी राजनीतिका लागि बनेकै होइनन् । यिनले बाटो बिराए । यिनीहरु भित्रको डाक्टर, गायिका र नायिकाको अवसान भइसक्यो । यिनीहरुले विविधतालाई मन पराएनन् । आफ्नो खुट्टामा आफै बन्चरो हानें । राजनीतिमा यिनीहरुका बत्तीका पुतली बनिसके । स्मरणीय यो छ कि राजनीतिमा ‘इलेक्सन’ मात्रै होइन ‘सेलेक्सन’ पनि हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, न्युरोसर्जन उपेन्द्र देवकोटा, जलस्रोतविद् दीपक ज्ञवाली यस्तै सेलेक्सनबाट मन्त्री बने । उनीहरुले दिन पनि सके समाजलाई मन्त्री बनेर । फाइल पल्टाए हुन्छ । इलेक्सनमा भिड्नेहरुका लागि अहिलेका लागि, रामराम !