ओलीले राजावादीसँग साँठगाँठ गरेर लोकतन्त्र समाप्त पार्न थाले–केसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । बिहीबार बागलुङमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको बताउनुभयो । केसीले भन्नुभयो–“केपीले संविधान र लोकतन्त्रलाई धरापमा पारे त्यसले गर्दा हामीहरु गठबन्धन निर्माण ग¥यौँ, यो गठबन्धन चुनावपछि पनि रहिरहन्छ, नागरिकले बुझेका छन्, एमालेले देशलाई अधोगति तर्फ धकेल्यो ।”

केसीले अहिले एमालले हिन्दु राष्ट्र बनेउने राजावादीसँग साँठगाँठ गरेर लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाउनु भयो । पटक–पटक संसदलाई विघटन गरेर संविधानको मन्टो निमोठ्न खोजेको भन्दै प्रतिगामीलाई ठेगान लगाउने बताउनुभयो ।

उहाँले राजनीतिलाई व्यवसाय बनाउन नहुने भन्दै व्यवसायका लागि उद्योग धन्दा चलाउन आवश्यक रहेको बताउनुभयो । गठबन्धन स्वार्थका लागि नभएर संविधान जोगाउन गरिएको अध्यक्ष केसीको भनाई छ । मतदाताको मतलाई सदुपयोग गर्ने गरी बागलुङ जिल्लाको समग्र बिकासको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

घण्टीबजाएर लोकतन्त्र नबच्ने उहाँको भनाई थियो । उहाँले अहिलेको पाँच दलीय गठबन्धन लोकतन्त्र संस्थागत गरून्जेल टिक्ने बताउनुभयो । पत्रकार सम्मेलनमा बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दिपेन्द्र बहादुर थापाले प्रचार प्रसारका क्रममा जनताले देखाएको मायाका कारण आफू उत्साहित भएको बताउनुभयो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार डिल्लिराम सुवेदीले जनताको सेवामा इमान्दार प्रयत्न गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *