धौलागिरी अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा


आदर्श अनलाइन, बागलुङ

एम्बुलेन्सको अभाव खेपिरहेको धौ लागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स भित्रिएको हो ।

फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताउनुभयो । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उहाँको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो ।

एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख खर्चेको हो । अष्टे«लियामा रहेका नेपालीले रु ४८ लाख र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै रु ३२ लाख सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताउनुभयो ।

यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो ।

बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौँलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो ।

एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धौलागिरी अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *