देश पुनः अस्थिर नबनोस्

सम्पादकीय
निर्वाचन भएको केही दिन बितिसके पनि चुनावी रौनकता र सरगर्मी उस्तै छ । अहिले पनि धमाधम मतगणना र मतपरिणाम घोषणा हुने क्रम जारी छ । एक महिना लामो निर्वाचन प्रचार प्रसार, घरदैलो लगायतका कार्यक्रम सकेर जनताको अभिमत पाएका राजनीतिक दल र नेताहरु उत्सव मनाइरहेका छन् । निर्वाचनमा पराजय बेहोर्ने दल र नेताहरु भने निराश देखिएका छन् । अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फको ८० भन्दा बढी क्षेत्रको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ । अझै थुप्रै निर्वाचन क्षेत्रको मतगणना र परिणाम आउन बाँकी नै छ । देशका १५ स्थानमा त पुनः निर्वाचनका कारण गणनामा अझै ढिलाई हुने संकेत छ । प्रत्यक्षको मतगणना सकिए पनि समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणनाको अन्तिम मत परिणाम आउन केही साता लाग्ने देखिन्छ । त्यसबाट प्रचलित व्यवस्था अनुसार कुन दललाई कति सिट छुट्याउँदा सम्म महिना दिन भन्दा लामो समय लाग्ने संकेत छ ।

यसपटकको निर्वाचनमा पनि नेपाली राजनीतिमा ठुलै उतार चढाव आएको छ । परम्परागत राजनीतिक दलहरुको एकछत्र जितमा नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको आगमन भएको छ । पार्टी स्थापना भएको पाँच महिना पुरा नहुँदै नेपाली राजनीतिमा जबरजस्त उपस्थिति हुनुलाई परम्परागत ठुला भनिएका राजनीतिक दल र नेताहरुकै अर्कमण्यतालाई कारण मानिएको छ । हुन त अहिले निर्वाचनको मतगणना चलिरहेको छ । तर, हाल सम्मको निर्वाचनको मतगणना र मतपरिणामको अवस्था हेर्दा नेपाली कांग्रेस पहिलो दल र नेकपा एमाले दोस्रो दल बन्ने सम्भावना देखिन्छ । भलै समानुपातिक तर्फ एमाले पहिलो छ । तेस्रो शक्तिको रुपमा माओवादी रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले अब के हुने भन्ने संशय पैदा गरेको छ । एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको स्थान कुन बन्ने भन्ने टुंगो छैन । राजमो लगायतका मधेसी दलहरु पनि संसदमा कति उपस्थिति जनाउने निक्र्याैल छैन । यद्यपि, अहिलेको चुनावी परिणाम, परिदृश्य र घटनाक्रम हेर्दा कुनै निश्चित एउटा दलको मात्र सरकार बन्ने सम्भावना छैन । यसमा मिलिजुली सरकारकै विकल्पमा जानुपर्ने अवस्था देखिन्छ ।

कांग्रेस या एमाले कुनै पनि पार्टीको बहुमत नआउँदा तेस्रो, चौथो, पाँचौ शक्तिसँग मिलेर सरकार बनाउने अब कसरत हुनेछ । यसमा स्वभाविक हिसाबले कांग्रेस पहिलो दल बने उसकै नेतृत्वमा सरकार बन्न सक्छ । उसो त कांग्रेस सहितको बाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनावी मैदानमा होमिएकाले माओवादी अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीका दाबेदार छन् । अर्को तर्फ राजनीतिक समिकरण र होडमा नेकपा एमाले पनि पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुग्न सक्छ । यसरी हेर्दा सरकार बनाउने र गिराउने सन्दर्भमा विगतमा जे जस्ता खराब क्रियाकलापहरु हुन्थे, त्यो फेरि दोहोरिने खतरा पनि छ । अघिल्लो चुनावबाट निर्वाचित सरकार आन्तरिक विवाद र उल्झनकै कारण ढलेको घटना ताजै छ । जसका कारण देश धेरै पछि पर्ने मात्र होइन, अहिले पनि अप्ठ्यारो अवस्थामा छ । फोहोरी राजनीतिक कर्मकै कारण कति दल र नेताले अहिलेकै निर्वाचनमा त्यसको फल भोगे पनि । अतः विगतको फोहोरी राजनीतिको निरन्तरता होइन, चुनावमा भएको स्वस्थ प्रतिस्पर्धाबाट जे अभिमत आएको छ, त्यसलाई स्वीकार गर्दै अबका दिनमा राजनीतिमा प्रतिस्पर्धा, देश बनाउने सन्दर्भमा सहमति अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *