चुनावमा अझै साम, दाम, दण्डको अभ्यास


सम्पादकीय/ हुन त अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो । जुन विश्वव्यापी रुपमा उन्नत व्यवस्थाको रुपमा स्थापित छ । नेपालले पनि लामो संघर्ष, त्याग, बलिदान र समर्पणबाट यो व्यवस्था ल्याइएको हो । जुन शासन व्यवस्था अनुसार दोस्रो कार्यकालका लागि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गत साता मात्रै सम्पन्न भएको छ । १ सय ६५ निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनको अहिले मतगणना र मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रत्यक्ष तर्फ पहिलो स्थानमा छ भने समानुपातिक निर्वाचन प्रणाली तर्फ नेकपा एमाले पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनबाट तेस्रो दल बनेको माओवादी, एमालेबाट बिभाजित नेकपा एकीकृत समाजवादी अझ खुम्चिएका छन् । यसपटकको निर्वाचनबाट चामत्कारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएका छन् ।

निर्वाचन विगतको भन्दा खर्चिलो, भड्किलो हुने प्रवृत्तिमा तुलनात्मक रुपमा केही कमी आएको देखिन्छ । यद्यपि, यसपटक पनि कैयन स्थानमा चुनावमा साम, दाम, दण्ड प्रयोग गरिएकै देखिए । कति मतदान केन्द्रमा कुनै दल या पक्षको प्रभाव भएकोमा एकलौटी बुथ कब्जा गरेर मतदान गरिएका भिडियो सामाजिक सञ्जालमा भाइरल भए । स्याङ्जामा त ४ सय बढी मरेका व्यक्तिको नाममा मतदान गरिएको दाबी सहितका समाचार सार्वजनिक भइरहेका छन् । देशभरका १५ स्थानमा त निर्वाचन रद्ध भएर पुनः मतदान हुने अवस्था आएको छ । अझ कैयन मतदान केन्द्रबारे निर्वाचन आयोगमा उजुरी परेको छ । यो देशको अझ उदेक लाग्दो विषय त मुलुकको सत्ता बागडोर र गृहमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाण स्वयंम्ले निर्वाचन धाँधली भएको बताइरहेका छन् । धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्ने उनी एक्ला पात्र होइनन्, सत्ता गठबन्धनबाट चुनाव लडेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सञ्चारमन्त्री मन्त्री ज्ञानेन्द्र कार्की, इलाम २ मा गठबन्धनका उमेदवार डम्मर बहादुर खड्का समेत छन् । उता, स्याङ्जा २ मा एमाले नेतृ पद्मा अर्यालले बुथ कब्जा भएको भन्दै उजुरी दिए पछि अहिले सम्म मतगणना अघि बढ्न सकेको छैन ।

निर्वाचन जित्न जे पनि गर्ने प्रवृत्तिले लोकतन्त्र बदनामी भइरहेको छ । भलै विगतमा जुन अनुपातमा अस्वस्थ प्रतिस्पर्धा, झडप, कुटपिट, बुथ कब्जा, निषेधको राजनीतिक र अराजक गतिविधि हुन्थे । त्यसमा अहिले कमी आएको छ । यो सुखद कुरा हो । बिडम्बना राजनीतिक दल र तिनका नेताहरुमा आफ्नो शक्ति भएकोमा निर्वाचत जित्नका लागि जे पनि गर्ने, जस्तो अस्त्र पनि प्रयोग गर्न नहिच्किचाउने, आफ्नो कमजोर भएकोमा अरु गरेको र गर्ने मनपरी माथि मात्र प्रश्न उठाउने कुरा नैतिक रुपमा शोभनीय देखिदैन । अतः आफुले पनि लोकतन्त्रलाई थप मजबुत र सुदृढ बनाउने गरी स्वस्थ प्रतिस्पर्धा गर्न दल र उम्मेदवार तयार हुनुपर्छ । राज्य र यसका निकायले पनि यस्ता खराब पात्र र प्रवृत्तिलाई कडाईका साथ निगरानी र नियन्त्रण गर्नुपर्छ । साम,दाम,दण्ड प्रयोग गरेर जित्ने मानसिकता राख्नेहरुलाई जनस्तरबाट समेत निरुत्साहित गर्नु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *