गाउँ–गाउँमा विजयी उम्मेदवार : मतदातालाई धन्यबाद दिँदै खुसी साट्दै

डम्मर बुढा मगर, बागलुङ
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित उम्मेदवारहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यबाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नव निर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसद घरदैलोमा पुगेर धन्यबाद दिन थालेका हुन् । निर्वाचित भएको भोलिपल्टदेखि नै विजयी उम्मेदवारहरु समय तालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् ।

बागलुङ–१ बाट निर्वाचित हुनु भएका राष्ट्रिय जनमोार्चका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१) मा विजयी बन्नु भएका दीपेन्द्र बहादर थापा र बागलुङ–१ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगि राख्नु भएको छ । बागलुङ–१ (१) बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यबादसहित उनीहरुको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो ।

सांसद थापा भन्नुहुन्छ–“हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरुलाई डिस्टर्व पनि ग¥यौँ हाला, अब उहाँहरुलाई धन्यबादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरुले सक्ने समाधान गरेरै छोड्छौँ ।”

थापाले निर्वाचनको परिणाम आएदेखिनै आफूहरु मतदातालाई धन्यबाद दिँदै घरघरमा पुगेको बताउनुभयो । बागलुङमा मंसिर ७ गते नै प्रत्यक्ष तर्फको मत परिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मंसिर ९ गतेदेखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समय तालिका बनाएको भन्दै साही अनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताउनुभयो ।

बागलुङ–१ बाट निर्वाचित चित्रबहादुर केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । केसीले जनताले आफूहरुलाई भरोसा गरेर जिताएको भन्दै अब जतनाको आवश्यकता र समस्यालाई समाधान गर्ने गरि काम गर्ने बताउनुभयो ।

“अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरुको समस्या पहिले जस्तो थियो अहिले पनि उस्तै छ,” केसीले भन्नुभयो–“हामीलाई विश्वास गरेर जिताउनु भएको छ, अब उहाँहरुको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।”

बागलुङ–२ (२) बाट निर्वाचित दोर्ण कुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसदमा समेत उनीहरुको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखिनै पिछडिएको हुँदा यहाँका समस्याहरु समाधानका लागि आफू लागि रहने प्रतिबद्धता जनाउनुभयो ।

कुँवरले भन्नुहुन्छ–“मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्न मात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यबाद दिने गरि म बस्ती बस्तीमा पुगि रहेको छु ।

कुँवरले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यबाद दिने र खुसी साट्ने गरि कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ–२ (१) बाट निर्वाचित कांग्रेस कागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यबाद दिँदै गाउँ–गाउँमा पुग्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *