नवनिर्वाचित प्रदेश सांसदको जोड : सक्षम र समृद्ध गण्डकी प्रदेश


खेमराज गौतम, बागलुङ

बागलुङबाट नवनिर्वाचित चार वटै गण्डकी प्रदेश सांसदले प्रदेश सरकार बलियो बनाउन आफूहरुले केही समृद्धिका योजनाहरु ल्याएको बताएका छन् । पाँच दलीय गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसबाट निर्वाचीत चार वटै गण्डकी प्रदेश सभासदस्यहरुले प्रदेशसरकार खर्चिलो, औचित्यहिन र खारेजीको माग यताकता सुनिएको भन्दै प्रदेश सरकारलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेशमा बागलुङका चार प्रदेश क्षेत्रबाट क्रमश दिपेन्द्र बहादुर थापा, डिल्लिराम सुवेदी, जित शेरचन र दोर्ण कुँवर विजयी हुनुभएको छ ।

विजयी प्रदेश सांसदहरुले सक्षम र समृद्धि गण्डकी प्रदेश सरकार बनाउन आवश्यक रहेको बताउदै संघ र स्थानीयतहको पुलको रुपमा काम गर्ने योजना बनाएको सुनाएका छन् । बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य जीत शेरचनले प्रदेश सरकारलाई सक्षम बनाउनका लागि नागरिकलाई उत्पादन संग जोड्ने अवधारणा ल्याउनुपर्ने बताउनुहुन्छ ।

शेरचनले प्रदेश सरकारको औचित्यमाथी प्रश्न नउठ्नेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । “बदर मत पत्रमा प्रदेश सरकार खारेजीको माग गरिएको, मत जाहेर नगरी बाकसमा खसालेको जस्ता कुरा सुनिन्छ, प्रदेश सरकारले आर्थिक भार बढी बनायो भन्ने समेत छ, तर नागरिकलाई उत्पादनसंग जोड्न सके प्रदेश प्रदेश सरकार सक्षम बनाउन सकिन्छ” शेरचनले भन्नुभयो “प्रदेश सरकारले संघ र स्थानीय तहको समन्वयकारी भुमिका बढाउदै नागरिकको आम्दानी बढाउन सक्ने योजना ल्याउन सके प्रदेश सरकार बलियो र समृद्धम बन्नेछ ।”

शेरचनका अनुसार नागरिक उत्पादनसंग जोडिएपछि मात्रै प्रदेश सरकारको राजश्वमा वृद्धि हुने र आफ्नै खर्चले प्रदेश सरकार चल्न सक्ने अवस्था ल्याउनुपर्ने छ । नागरिकलाई कृषिमा आधुनिकरण र पर्यटनको विकासबाटमात्रै आम्दानी वृद्धिका लागि अभिप्रेरित गर्न सकिने शेरचनको बुझाई छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट नवनिर्वाचित गण्डकी प्रदेश सदस्य डिल्लिराम सुवेदीले गण्डकी प्रदेशलाई मजबुद बनाउन आफुहरुले उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । उहाँले योजनाका साथ काम गर्ने, जनमुखी बजेट बनाउने र नागरिकको रोजगारी, आम्दानी बढाउने क्रियाकलापलाई प्रोत्साहन गर्न सकेमा प्रदेश सरकार सक्षम हुने बताउनुभयो ।

“आर्थिक बोझका रुपमा प्रदेश सरकारको अपव्याख्या गरियो प्रदेश सरकारले पाँच वर्षमा केही राम्रा काम गरेको छ, अब यो पाँच वर्षमा प्रदेश सरकार सक्षम हुँनेगरी नीति तथा कार्यक्रमहरु ल्याउने र कार्यान्वयन गर्ने छ” सुवेदीले भन्नुभयो “नागरिकको नजिकको सरकार स्थानीय सरकार भएपनि जनताको दुख, दुुखमा काँध थाप्नेगरी प्रदेश सरकारले भूमिका खेल्नु पर्दछ, जनताको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी सम्म प्रदेश सरकार पुग्नका लागि मैले सक्दो पहल गर्नेछु ।”

सुवेदीले अहिलेको गण्डकी प्रदेश सरकारमा युवा सांसदहरुको जमात देखिएकाले फरक ढंगले काम गर्ने अवसर आएको बताउनुभयो ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित प्रदेस सांसद दिपेन्द्र बहादुर थापाले प्रदेश सरकारलाई बलियो र सक्षम बनाउन आफू अहोरात्र खट्ने बताउनुभयो । थापाले संघीयता कार्यान्वयनपछि प्रदेश सरकारका विषियमा विभिन्न टिका टिप्पणी भएपनि प्रदेश सरकारले यसको जवाफ काम बाट दिनुपर्ने बताउनुभयो ।

“बागलुङ बासीको मायाले दोस्रो प्रयासमा प्रदेशसभा सदस्यमा निर्वाचित भएको छु, सबल गण्डकी प्रदेश बनाउनेमा हामी अहोरात्र खट्नेछौं, प्रदेश सरकारलाई आर्थिक रुपमा मात्रै हैन अन्य क्षेत्रमा समेत सक्षम बनाउन सकिने थुप्रै आधारहरु छन्” थापाले भन्नुभयो “प्रदेश सरकार जनताको दोस्रो नजिकको सरकार हो, पर्यटनबाट प्रदेश समृद्धि बनाउन सकिन्छ, हामीसंग योजना छ, प्रदेशसभा पुगेपछि कार्यान्वय तर्फ लाग्नेछौं ।” यस्तै बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित दोर्ण कुँवरले बागलुङको पश्चिम क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी नागरिकको आयस्तर बढाउदै प्रदेश सरकारको आम्दानीको स्रोतको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा रहेको ढोरपाटन क्षेत्र चर्चित पर्यटकीय गन्तव्य भएपनि यहाँ आउने पर्यटकहरु कम रहेको भन्दै पर्यटकहरुलाई ल्याउनका लागि प्रदेश सरकारले थुप्रै योजना ल्याउने बताउनुभयो ।

बागलुङबाट निर्वाचित चार वटै प्रदेशसभासदस्यहरुले गण्डकी प्रदेस सरकारलाई सबल र सक्षम बनाउन विभिन्न खानीहरुको उत्खनन् गर्ने, जडिबुटीको उत्पादन र निकासी गर्ने, जलविद्युतको उत्पादन बढाउनु पर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *