सत्ताको ‘फोहोरी खेल’ बन्द होस्

सम्पादकीय
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने संघारमा छ । मंसिर ४ मा निर्वाचन रद्ध गरिएका दोलखामा पुनः मतदान भएको छ भने विवाद र उजुरीका कारण स्थगित स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । देशभरको चुनावको अन्तिम नतिजाको टुंगो लाग्दै गर्दा यसपटक कुनै पनि राजनीतिक दलको प्रष्ट बहुमत आउने सम्भावना क्षिण बनेको छ । फलतः राजनीतिक दलका नेताहरु सत्ता नेतृत्वका लागि तिब्र कसरतमा छन् । साना दलहरुलाई नजोडी सरकार बन्ने सम्भावना कम भए पछि अहिले नेपाली कांग्रेसदेखि सत्ता गठबन्धन माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरु समेत भेटघाटलाई तिब्रता दिइरहेका छन् ।

अहिलेसम्म राजनीतिक दल र नेताहरुलाई चुनाव जित्नै पर्ने दबाब थियो । निर्वाचन पछि अहिले निर्वाचनमा गठबन्धन गरेर गएको कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनकै सरकारकै सम्भावना छ । यसका लागि विगतमा अपराध र विवादित पात्रका रुपमा रहेका नेताहरुलाई अहिले सरकार गठनका लागि नेताहरुले धमाधम कारागार र निवासमै पुगेर भेटघाट गरिरहेका छन् । सदुरपश्चिममा ठुलै पार्टीको रुपमा स्थापित भएपछि अहिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग भेट्न शीर्ष नेताहरुको लर्को छ । केन्द्रीय कारागार डिल्लीबजार रहेका उनलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागारसम्मै धाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका छन् । उता, कांग्रेस नेता बिमलेन्द्र निधिले पहिले मधेस बिखण्डनको एजेण्डाबाट विवादित बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फकाइरहेका छन् ।

अहिले जनताबाट जुन अभिमत प्राप्त भएको छ । यसले कुनै पनि दल या गठबन्धनलाई बहुमत पुग्दैन । जसका कारण देशमा फेरि उही पुरानो सत्ताको फोहोरी खेल सुरु हुने र मुलुक अस्थिरतामा फस्ने खतरा छ । विगतमा पनि सत्ताका लागि जे जस्तो देश अहितको कर्म गर्न पनि पछि नपर्ने दल र नेताहरुकै कारण देशले स्थिरता, समृद्धि र विकास हासिल गर्न नसकेको खराब विगत बिच अबको पाँच वर्ष पनि सत्ता बनाउने, जोगाउने र गिराउने खेलमै नेता र सांसद सक्रिय हुने परिदृश्य जे देखिदैछ । त्यो राम्रो दृश्य र संकेत होइन । अतः अहिले जे जस्तो अभिमत प्राप्त भएको छ, त्यसमा ठुलो दलको नेतृत्वमा स्थिर सरकार बनाउने र अरु प्रतिपक्ष बनेर रचनात्मक भूमिका खेल्नुपर्छ । अब पनि सत्ताको मोहमा देशलाई अस्थिरताको दुश्चक्रमा फसाउने गल्ती र अपराध कर्म कसैबाट नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *