चट्याङ : नेपालको गम्भीर प्राकृतिक समस्या

सरोजराज पन्त
अहिले विश्वव्यापी मौसममा बदलाब आइरहेकोले नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन् । जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ । आजकल मध्यबर्खाको असार–साउन महिना जस्तै छिनछिनमा मौसम परिवर्तन हुने गरेको छ । बाढी, पहिरो, आगलागी र भूकम्पका अतिरिक्त जनधनको क्षति हुने प्राकृतिक घटनामध्ये चट्याङ पनि एक हो । आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसको अणुहरुबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङसहितको शक्तिलाई चट्याङ हो । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने डरत्रास फैलिने गरेको छ । चट्याङबाट सुरक्षित रहन के के गर्न सकिन्छ, घाइतेको उद्धार, उपचार कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतिर अहिलेसम्म भरपर्दो संयन्त्रको विकास हुन सकेको छैन । यो लेखबाट हाम्रा गाउँटोलमा यस्तो प्राकृतिक दुर्घटना भइरहने भएकाले चट्याङ के हो ? यसको विगतदेखिको असरको अबस्था कस्तो छ ? यसको असर कम गर्न सकियोस भन्ने उद्देश्यले यो लेख तयार पारिएको छ । उद्देश्यले मुलक नमुना छनोट बिधिबाट समग्र देशलाई अध्ययन क्षेत्र मानेर यो अनुसन्धान गरिएको छ । बाढीपहिरोपछि बढी प्रकोप ल्याउने चट्याङ भए पनि समाधानमा पहल नभएको पाइन्छ । एकै ठाउँमा क्षति नभएका कारण बेवास्तामा परेकोले अव निर्देशिका बनाएर संघ, प्रदेश र स्थानीय तहले अनिवार्य चट्याङ प्रतिरोधी घर बनाउनुपनर्, चेतना जगाउने काम गर्न अति आवश्यक रहेको छ । कुनै पनि प्रकारको सावधानीका उपायहरूका लागि प्रभावकारी योजना र नीति निर्माणको लागि चट्याङ गतिविधिको मौसम विज्ञान अध्ययनको सहयोग लिनु आवश्यक छ ।

प्रकोप छोटो वा लामो समयमा हुने गम्भीर प्राकृति समस्या हो जसले व्यापक मानव, भौतिक, आर्थिक वा वातावरणीय क्षति निम्त्याउँछ । प्राकृतिक प्रकोप ठूला–ठूला भौगोलिक वा मौसम घटनाहरू हुन् । भूकम्प, बाढी, पहिरो, चट्याङ, हिमपहिरो, अत्यधिक तापक्रम, खडेरी, आगोलागि , चक्रवात, आँधीबेहरी, रोग, महामारी र कीरा, पशु कष्टहरू, तातो तूफान; विकिरण, आणविक टट्टी विस्फोटन; तुफान आँधी, सुनामी र ज्वालामुखी आदि प्राकृतिक प्रकोप हुन । यस्ता प्रकोपबाट जनधन र पुर्वाधारको क्षति हुने गरेको छ । नेपाल लगायतका विकासोन्मुख देशहरूमा यस्ता ठूलो विपत्तिहरु आई रहेको र जोखिमका कारण हुने मृत्यु बढी र क्षति विकसित देशको तुलनामा विकासशील देशहरूमा हुने गरेको छ (पन्त, २०७७) ।

चट्याङ खराब मौसमको बेला आकाशबाट जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न हुन्छ र खास बाटो बनाएर चट्याङ पर्दछ । यो प्राकृतिक खतरा हो जुन अचानक हुने विद्युतीय विस्फोटन हो (विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट) । बलियो मनसुन र ओरोग्राफिक अवरोधका कारण चट्याङको खतरा नेपालमा सबैभन्दा सामान्य रूपमा दोहोरिने घटनाहरू मध्ये एक बनेको छ ।

जलवायु परिवर्तनका कारण पनि पृथ्वीको तापक्रममा क्रमशः वृद्धि भइरहेको छ । त्यसबाट झनै चट्याङको जोखिम बढाइदिएको छ । विशेषगरी मनसुन र प्रि–मनसुनको समयमा बढी मात्रामा चट्याङ पर्छ । के सहर, के बजार, के गाउँ, के तराई सबैतिर चट्याङ पर्ने गरेको छ । विशेषगरी आकाशमा कालो बादल मडारिन थालेपछि चट्याङ पर्ने सम्भावना बढी हुन्छ । बर्खायाम सुरू भएसँगै नेपालमा प्राकृतिक विपत्तिका घटनाहरू बढ्ने गरेका छन् । नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन् । जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ ।

अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’मध्ये नेपाललाई एक मानेको छ । चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएकाले नेपालमा हरेक बर्ष यसको जाखिम बढेको पाईन्छ ।कृषिमा आश्रित अधिकांश मानिस घरबाहिर काम गर्ने तथा भौगोलिक अवस्थितिका कारण नेपाल चट्याङका हिसाबले असाध्यै संवेदनशील अवस्थामा छ ।

चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । जब बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ । ‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारीका अनुसार यसले ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ । यो तापक्रम सूर्यको भन्दा बढी हो । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ । चट्याङमा विद्युतीय धारा हुन्छ भन्ने कुरा बेन्जामिन फ्रेङ्क्लिनले सन् १७५२ चंगा उडाउँदा पत्ता लगाएका थिए ।

कसरी पर्दछ चट्याङ ?
सूर्यको तापक्रमले तातिएको जमीनको सतह तथा जलाशयबाट पानीका कण बाफ बनेर उड्दै आकाशमा पुग्छन्। पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ। गतिमान बादलभित्र पानीको बाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन् । बादलको तह बाक्लो भएर प्रकाश छिर्न नसक्ने भएपछि यो कालो देखिन्छ ।

कुन मौसममा बढी
चैत–वैशाखको बेला मौसमी हिसाबले चट्याङ र हावाहुरीको समय हो । यो बेला प्रिमनसुनको सिजन हुने र प्रिमनसुनमा हावाहुरी र चट्याङ पर्ने सम्भावना बढि रहने गरेको मौसमविदहरु बताउँछन् । गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ । त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गर्छ । मनसुन पूर्वको यो समयमा सामान्य वर्षा भएपनि मौसममा खराबी आएपछि मेघगर्जनसहित हावाहुरी चल्ने गर्दछ ।

प्रि–मनसुन सुरु भएसँगै चट्याङ पर्ने क्रम बढेको छ । मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। हालै गरिएको एउटा अध्ययनले चट्याङका दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ । नेपालमा प्रति १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ। त्यसैगरी चट्याङका कारणले विद्युतीय सामग्रीको अतिरिक्त घरमा आगलागी भई हुने भौतिक क्षतिले ठूलो धनराशि नोक्सान हुन्छ। चट्याङबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि नेपालमा खासै उल्लेख्य काम भएको पाइँदैन । तर विकसित मुलुकहरूमा भने यसका लागि राष्ट्रिय मापदण्ड बनाइएको हुन्छ । परिणामस्वरूप त्यहाँ चट्याङका कारणले ज्यान गुमाउनेको सङ्ख्या नगण्य रहेको र अन्य क्षति पनि तुलनात्मक रूपमा निकै कम रहेको पाइन्छ ।

समयका आधारमा चट्याङ
चट्याङ पर्दा कुनै हलोको फाली जस्तो बज्र खस्दैन । त्यो कुनै ठोस पदार्थ नभई एक अदृश्य र शक्तिशालि करेन्ट हो । त्यसैले चट्याङ पर्दा हलोको फाली जस्तो बज्र होइन करेन्ट झर्ने गर्दछ ।चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ । सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । मुलुकमा सामान्यतया अपराह्न ४ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी चटयाङ पर्ने गरेको छ । यस्तै, पूर्वी नेपालको झापामा सबैभन्दा बढी चटयाङ पर्ने गरेको पाइन्छ । यसबाहेक पूर्वी नेपालको चुरे पर्वत श्रृंखला सुरु हुने ठाउँदेखि नवलपरासीसम्मको खण्ड चटयाङबाट बढी प्रभावित क्षेत्र रहेको तथ्यांक पाइन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा समेत यसको अधिकतम प्रभाव देखिएको छ । यसबाहेक त्रिशूली नदी क्षेत्र, पोखरा, विराटनगर, सिन्धुपाल्चोक विशेष प्रभावित क्षेत्रमा पर्छन् (बीबीसी हिन्दी र अन्य विदेशी सञ्चारमाध्यम, २०७९ ) ।

किन प्रि–मनसुनमा चट्याङ धेरै पर्दछ ?
प्रि– मनसुनको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल हुन्छ । सबै बादलमा त्यो क्षमता हुँदैन । र, सूर्यको तापले जमिनको सतहमा भएको पानीका कणलाई वाष्पीकरण गरेर बादल बनाउँछ । प्रि–मनसुनको बादलमा विद्युतीय चार्ज बनिरहेको हुन्छ । वर्षायामको बादलमा पनि हुन्छ । तर, त्यो समयमा पानी धेरै पर्छ । पानीले विद्युतीय चार्ज पानीसँगै जमिनमा झर्छ । तर, प्रि–मनसुनको समयमा पानी कम पर्दछ । बादल मडारिएर उथलपुथल हुन्छ । अनि चट्याङ पर्छ । सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङ पर्दैन । चैतको मध्य समयदेखि असारसम्म बढी पर्दछ ।

नेपालभर चट्याङको दर मौसमी, मासिक, दैनिक रुपमा भिन्न रहेको छ
मौसम अनुसार चट्याङको संख्या फरकफरक देखिन्छ । डिसेम्बर–फेब्रुअरी (शीर्ष प्यानल) को जाडो महिनाहरूमा प्रति वर्ष २७, ५४२ मात्र वर्षको ट्रोकहरू हुन्छन । दोस्रो प्यानलमा प्रि–मनसुन (मार्च देखि मे) को समयमा चट्याङको औसत ५,४०,७५२ वार्षिक स्ट्रोकमा छिटो बढ्छ र देशको दक्षिणपूर्वी भागमा केन्द्रित हुन्छ । जुनदेखि अगस्टसम्म (माथिबाट तेस्रो प्यानल) सम्मको मनसुन सिजनमा, प्रति वर्ष औसत ४६८,७०५ (३९.६%) स्ट्रोकहरू पनि बारम्बार हुन्छन् । यो नेपालको सम्पूर्ण दक्षिणी भागमा प्रचुर मात्रामा हुन्छ । यस सिजनमा भारी वर्षाको कारण पहिरो, बाढी र डुबान पनि हुन्छ। सेप्टेम्बर देखि नोभेम्बरसम्म मनसुन पछिको मौसममा वार्षिक रूपमा १,४६,२८७ स्ट्रोकहरू छन् । मनसुन पछि र जाडो महिनाहरूमा चट्याङ प्रि–मनसुन र मनसुन सिजनहरूमा भन्दा वर्ष–वर्ष धेरै परिवर्तनशील भएको देखिन्छ । प्रत्येक स्थानमा, १५ किमी भित्र कम्तिमा दुईवटा बिजुली स्ट्रोक भएको कुनै पनि दिनको रूपमा एक गर्जनको दिनको चर्चा गरिएको छ । नेपालको दक्षिणपूर्वी सीमा र मध्य भागमा प्रति वर्ष १०० दिन भन्दा बढि मेघ गर्जनका दिनहरू हुन्छन् भने उत्तरी पहाडहरूले प्रति वर्ष लगभग १० दिन मेघ गर्जनहरू अवलोकन गर्छन् ।

नेपालमा १० वर्षमा दुई हजार दुई सय ३९ स्थानमा चट्याङ खसेको तथ्याङ्क छ । जसबाट नौ सय ५२ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच ७५ जना घाइते भएका छन् । ०६९÷७८ सम्मको विवरणअनुसार चट्याङबाट एक सय २३ घर ध्वस्त भएका छन् भने तीन सय २९ घरमा क्षति पुगेको छ । चट्याङबाट सात करोड ८४ लाखको क्षति भएको तथ्यांक राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रको छ । गत वर्ष (०७८) मा दुई सय तीन ठाउँमा चट्याङ खस्दा ५६ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । १४ घरमा पूर्ण क्षति र २८ घरमा आंशिक क्षति भएको थियो । जसबाट दुई करोड १५ लाखबराबरको क्षति भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार विसं २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको थियो । यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ । त्यो विवरणसमेत जोड्दा ९९० हुन जान्छ । सबैभन्दा धेरै २०६९ सालमा १ सय ३१ जनाले चट्याङबाट ज्यान गुमाएका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अध्ययनबाट चट्याङको दृष्टिले नेपाल संसारकै उच्च जोखिममा रहेको देखिएको बताउँछन् । विगत गरिएको अध्ययनबाट के पत्ता लगायौं भने संसारमै चट्याङका तीन हटस्टपमध्ये नेपाल एक रहेछ । विसं २०६९ मा १९६ वटा घटना भएको थियो र ज्यान जानेको सख्या १३१ थिए । विसं २०७८ मा २०३ वटा घटना भए र ५६ जनाको ज्यान गयो । महानिर्देशक जोशीका अनुसार चट्याङबाट हुने मानवीय क्षति पहिरोबाट भन्दा पनि बढी छ । पछिल्लो १० वर्षको विवरण हेर्ने हो भने दुई हजार २३९ वटा चट्याङका घटना भए । त्यसबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर शीर्षस्थानमा छ ।प्राधिकरणका अनुसार २०७९ असार १५ गते मात्रै गुल्मी, बागलुङ, बर्दिया, दार्चुला, कञ्चनपुरमा चट्याङ प¥यो । बर्दियामा गेरुवामा दुई भैँसी मर्दा किसानको रु दुई लाख ४० हजार बराबरको क्षति भयो । सोही दिन कञ्चनपुरमा चट्याङकै कारण एक बालिकाको ज्यान गयो ।

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बंगालको खाडीनजिक रहेका नेपालका भूभागमा बढी चट्याङ पर्ने गर्छ । मानवीय क्षतिका हिसाबले मकवानपुर, झापा र उदयपुर अगाडि छन् । तराईभन्दा चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक हुने भएकाले चट्याङको फोर्स बढी हुने गरेको र यसले मानवीय क्षति पनि धेरै नै हुने गरेको बताइएको छ । मकवानपुरमा पछिल्लो १० वर्षमा एक सय ४९ स्थानमा चट्याङ पर्दा ६७ जनाको मृत्यु भएको छ । झापामा ७६ र उदयपुरमा ७३ ठाउँमा चट्याङ खसेको विवरण छ । तीन घटनामा झापामा २६ र उदयपुरमा ३९ जनाको मृत्यु भएको छ । पछिल्लो १० वर्षको विवरणअनुसार इलाम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, दोलखा, लमजुङ, कास्की, बाग्लुङ, गुल्मी, रोल्पा, प्युठान, दाङ, पश्चिम रुकुम, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुरमा धेरै चट्याङ खस्ने गरेको छ ।

चट्याङका कारण एकैदिन देशका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा र धादिङ जिल्लामा मृत्यु भएको हो देशका विभिन्न स्थानमा चट्याङ लागेर २४ घण्टामा १० जनाको मृत्यु भएको छ । नेपालमा प्रत्येक वर्ष औसतमा १ सय ८ जना व्यक्तिले चट्याङ लागेर ज्यान गुमाउने गरेका सरकारी रेकर्डले देखाउँछ । झण्डै ४ सयको संख्यामा घाइतेको हुने गरेका छन् । थुप्रै पशु चौपाया मर्छन् । भौतिक संरचनामा पनि क्षति हुने गरेको छ । २५ अगस्ट सन् २०२० मा जुम्लाको एउटा भेडी चरणमा चट्याङको कारणले एकै ठाउँमा पाँच सय भेडा मरेका थिए ।

नेपाल चट्याङको जोखिमको हिसाबले दक्षिण एसियामा जनसंख्याको अनुपातमा धेरै मृत्यु हुनेमा पहिलो नम्बरमा पर्छ भने विश्वभरको जोखिमपूर्ण राष्ट्रको सूचीमा पाँचौ स्थानमा पर्छ । नेपालका जिल्लाहरूमा मकवानपुरमा धेरै चट्याङ पर्छ । भूकम्पपछि दोस्रो ठूलो विपदको रूपमा चट्याङ देखिएको छ ।चट्याङका विषयमा अध्ययन गरेका अमृत साइन्स कलेजका प्राध्यापक डा. श्रीराम शर्मा चट्याङको जोखिममा रहेको तीन क्षेत्रमध्ये नेपाल एक भएको र अफ्रिकालाई छोड्ने हो भने बाँकी महादेशमा चट्याङबाट सबैभन्दा धेरै मृत्युदर भएको (प्रतिदश लाखमा) देश नेपाल रहेको बताउँछन्। उनका अनुसार, चट्याङको नक्शा हेर्दा अफ्रिकाको कङ्गो क्षेत्र सबैभन्दा जोखिममा देखिन्छ। त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र अर्को जोखिमयुक्त क्षेत्र हो। त्यसैगरी, दक्षिणपूर्वी एशियाका इन्डोनेसिया, मलेशिया हुँदै नेपाल तथा बंगालको खाडी क्षेत्र उस्तै जोखिमयुक्त रहेको प्राध्यापक शर्मा बताउँछन् ।

चट्याङ नेपालका प्रमुख प्राकृतिक प्रकोपहरू मध्ये तेस्रो स्थानमा छ । विपद् जोखिम न्यूनीकरण पोर्टल, नेपाल सरकारका अनुसार पछिल्ला वर्षहरूमा यस्ता चट्याङबाट ज्यान गुमाउने र धनजनको क्षति हुने क्रम बढ्दै गएको छ । नेपालमा सीमित सञ्चार र रेकर्डिङ प्रणालीका कारण चट्याङको गतिविधि र यसको प्रभावको ऐतिहासिक अभिलेख निकै सीमित छ । त्यसैले सम्बन्धित संस्थाहरूले खासै ध्यान दिएका छैनन् ।

जिल्लाव्यापी चट्याङको असर
जिल्लाव्यापी चट्याङबाट मृत्यु हुने दर मध्य नेपालका मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं र धादिङ पछि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रहरूमा चट्याङबाट मृत्यु हुने घटनाहरूको उच्च एकाग्रता रहेको छ । काठमाडौं (१२), कास्की (३६), कैलाली (१२) जस्ता सहरी जिल्लाको तुलनामा मकवानपुर (९४), मोरङ (८८), झापा (८३) र नुवाकोट (६३) जस्ता ग्रामीण हिमाली जिल्लामा मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । जहाँ विकासोन्मुख देशहरूमा मृत्युको उच्च संख्या ग्रामीण क्षेत्रमा अवस्थित छ । योगदान गर्ने कारकहरूमा सार्वजनिक भवन र घरपरिवारमा न्यूनतम वा कुनै बिजुली संरक्षण, व्यापक श्रम–गहन कृषि, र चट्याङको खतरा र यसको संरक्षणको बारेमा जनचेतनाको कमी रहेको छ ।

चट्याङबाट वार्षिक औसतमा सयजनाको मृत्यु हुने गरे पनि सरकारसँग चट्याङबारे सामान्य प्रक्षेपण गर्ने प्रविधिसमेत छैन । विश्वका अधिकांश देशहरूले कहाँ–कहाँ र कुन समयमा चट्याङ पर्न सक्छ भन्ने जानकारी पहिल्यै दिन सक्छन् । छिमेकी देश भारतमा पनि उक्त प्रविधि छ । भारतसहित दक्षिण एसियाका कैयौँ मुलुकले ५–६ दिनअघि नै चट्याङको प्रक्षेपण गर्ने गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले वायुमण्डलमा उत्पन्न अवस्थामा वायुको प्रभाव, स्याटेलाइट तथा तथ्याङ्कको विश्लेषण गरेर ७२ घन्टाअगाडि मौसमको प्रक्षेपण गर्ने गरेको छ । तर कहाँ–कहाँ चट्याङ पर्छ भनेर उल्लेख गर्न सकेको छैन ।

यसैगरी चट्याङको दृष्टिले नेपालको मकवानपुर जिल्ला सबैभन्दा धेरै जोखिमयुक्त छ । २०६८ देखि ७६ सालको बीचमा मकवानपुरमा मात्रै ७६ जनाले चट्याङ लागेर ज्यान गुमाएका छन्। त्यसपछि दोस्रोमा मोरङका ३९ र उदयपुरका ३४ जनाले ज्यान गुमाएका छन् । सरकारले यी तीन जिल्लासहितका वरिपरिका भूभागलाई चट्याङको जोखिम भएका क्षेत्रका रूपमा राखेको छ । विपद् व्यवस्थापन प्राधिकरणले हरेक वर्ष भएको मानवीय र अन्य क्षतिका आधारमा यी तीनसहित चितवन र झापा जिल्ला तथा यीसँग जोडिएका भूभागलाई जोखिमयुक्त क्षेत्रका रूपमा राखेको छ ।

अरु प्राकृतिक विपत्तिले एकै ठाउँका धेरैलाई प्रभावित पारेको छ । गत भदौमा जुम्लाको तिला गाउँपालिकाको पाटन क्षेत्रमा चट्याङबाट २ सय ५० भेडा र जाजरकोटको कुशे गाउँपालिकामा २ सय २३ भेडा मरेका थिए । एक वर्षका बीचमा चट्याङबाट १ हजार २ सय जति घरपालुवा जनावर मरेको गृह मन्त्रालयको तथ्यांक छ । यस बाहेक घरमा क्षति, वनमा डढेलो जस्ता दुर्घटना चट्याङले निम्त्याउने गरेको छ । यसबर्ष जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए भने ३०० भेडा हराइरहेका छन् ।

गत चार वर्षयता दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ को राहुलडाँडा, घैराङ, भैंसे, चिसापानीमा मात्रै ५ जनाले ज्यान गुमाए । जिल्लाका धेरै ठाउँमा चट्याङका कारण हरेक वर्ष मानिसमात्र नभई पशुचौपाया मरेका छन् । स्थानीय जानकारहरुका अनुसार ज्यान लिने गरी परेको हरेक चट्याङले ३ देखि ७ जनासम्म घाइते भएका छन् । तर यी घटनाको आधिकारिक तथ्यांक जिल्लाका कुनै निकायसँग छैन । चट्याङले मानव, पशुचौपायामात्र होइन भौतिक संरचनामा झनै ठूलो नोक्सानी पुुु¥याइरहेको छ । रेडियो धादिङकोसँगै टावर राखेर चलिरहेका रेडियो बिहानी, नीलकण्ठ एफएमसहित जिल्लाबाट प्रसारण हुने अन्य रेडियोले भोतिक र आर्थिक क्षति व्यहोर्नु परेको छ ।

किन शहरभन्दा गाउँघरमा बढी चट्याङ र असर पर्दछ ?
चट्याङको दुई मुख्य सिजन हुन्छन । एउटा वैशाख र जेठमा पर्दछ भने अर्को भदौ महिनामा पर्दछ । तीमध्ये अत्यधिक मात्रामा चट्याङ वैशाख–जेठ महिनामा पर्ने गर्दछ । असार–साउनमा बादल भए पनि अलिक कम चट्याङ पर्ने सम्भावना हुन्छ । पछिल्लो समय शहरी क्षेत्रभन्दा गाउँघरमा चट्याङ धेरै परिरहेको विभिन्न अध्ययनले देखाएका छन । हिमाली क्षेत्रमा चट्याङ थोरै पर्दछ भने पहाडी क्षेत्रमा बढी पर्ने गरेको छ । ‘चट्याङ जहाँ पनि पर्न सक्छ, तर बच्ने संरचनाको हिसाबले बजारका पक्की घर सुरक्षित मानिन्छन् किनकि शहरमा आरसीसी घरहरु र अर्थिङगरेका घरहरु बढी रहन्छन ।

नेपालका ग्रामीण क्षेत्रमा साधारणतया दुई किसिमका घरहरू पाइन्छन् । पहिलो किसिमका घरहरूका खर, पराल,नल जस्ता सुख्खा वनस्पतिले छाएका हुन्छन । यस्ता छानाहरूमा चट्याङ परेमा सजिलो आगो टिप्छन् र घरमा आगलागी हुने गर्दछ । दोस्रो किसिमका घरहरूको छत बिजुली प्रवाह गर्न सक्ने जस्तापाताले छाएका हुन्छन् र भित्तामा बिजुली प्रवाह गर्न नसक्ने माटो वा इँटा जस्ता सामग्रीले बनेका हुन्छन् । यी संरचनमा चट्याङ परेपछि जमिनसम्ममा चट्याङका चार्जहरू प्रवाहित हुन पाउँदैनन् । त्ससैले आगलागी मात्र होइन, विस्फोटसम्म हुन सक्दछ ।

गाउँघरमा फलामका रड प्रयोग गरेर बनाएका घर कमै हुन्छन् । शहरी क्षेत्रमा चट्याङ कम लाग्नुको अर्को कारणमा बजारका मानिस धेरैजसो घर अफिस, पसलभित्रै बढी क्रियाकलाप गर्ने गर्दछन । तर गाउँघरमा बढी काम घरबाहिर हुन्छ । जस्तै गाईवस्तु चराउने, खेतबारीमा काम गर्ने, घास दाउरा गर्ने काम बढी हुन्छन । खुला मैदान, ठूला रुखहरु गाउँमा बढी हुने र तिनैमा ओत लाग्ने भएकोले चट्याङ बढी लाग्नेमात्र होइन धन जनको क्षति पनि बढी हुने गरेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *