किवी खेती प्रति जनप्रतिनिधिको आकर्षण : एकै सिजनमा लाखौँ आम्दानी

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय गाउँबाट बसाइँसराइ गरि बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीयहरु सहर बजार तिर झर्न थालेसँगै गाउँहरु सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवाहरु पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिनहरु वनमाराले ढाकिँदै गएका छन् । तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा मासेर व्यवसायिक कृषि गरि राख्नु भएको छ ।

घर्तीले थापागाउँमा सात वर्ष पहिले सुरुको किवी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको । गत स्थानीय तहको निर्वाचनमा निसीखोला गाउँपालिका–४ का वडा सदस्यमा निर्वाचित हुनु भएका घर्ती लामो समय विदेशमा दुःख गरेपछि स्वदेश फर्किएर व्यवसायिक कृषि गर्न थाल्नु भएको हो । कतार र भारतमा एक दशक बिताउनु भएका घर्तीले स्वदेश मै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताउनुहुन्छ ।

“विदेशमा दुःख संघर्ष धेरै नै गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाई गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गाहरुमा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ” घर्तीले भन्नुभयो ।

घर्तीले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीको विरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताउनुहुन्छ । उहाँले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती विस्तार गर्नु भएको छ । आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको बताउनुहुन्छ ।

“किवी बहुउपयोगी फल हो, नेपालमा यसको माग विस्तारै बढ्दै छ, विदेशमा भने निकै पहिलेदेखि यसको उत्पादन भएको पाइन्छ, सुरुमा मेरो गाउँमा हुन्छ कि हुँदैन भने परीक्षणका लागि थोरै विरुवा लिएर रोपे, राम्रो हुँदै गयो, अब यसको खेती बढाउँदै जाने तयारीमा छु” उहाँले भन्नुभयो–“काम कहिल्यै पनि सानो ठूलो हुँदैन, गरे जे पनि संभवन हुँदो रैछ ।”

घर्तीको बारीमा अहिले किवीका १०० बोट छन् । ति सबैले फल दिन थालेको उहाँको भनाई छ । यस वर्ष तीन हजार ५०० किलो किवी बेचेको उहाँले बताउनुभयो । एक किलोको ३५० देखि ४०० सम्म पार्ने घर्तीले एक सिजनमा मात्रै १० लाख बढीको किवी विक्री गरेको बताउनुभयो । किवी विक्रीका लागि समस्या नभएको भन्दै यसको माग अनुसारको उत्पादन गर्न नसकेको उहाँको भनाई छ ।

जिल्लाको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले पनि ५ वर्षदेखि किवी खेती गर्दै आउनु भएको छ । अध्यक्ष लामिछानेले परीक्षणकै क्रममा पनि राम्रो उत्पादन भएको बताउनुभयो । उहाँले अहिले आफ्नो बारीमा दुई दर्जन बढी किवीका बोट रहेको भन्दै सबैले उत्पादन दिएको बताउनुभयो ।

अध्यक्ष लामिछाने भन्नुहुन्छ–“पछिल्लो समय केवी खेती गर्ने कृषकहरु बढ्दै गएका छन्, पहिले यो फलको खेती निकै कमले मात्र गरेको पाइन्थ्यो, मैले पनि ट्रायलका रुपमा लगाएको राम्रो भएको छ, यसको बजार पनि राम्रो छ, अरुको जस्तो समस्या छैन ।”

उहाँले यस वर्ष ५०० किलो किवी विक्री गरेको बताउनुहुन्छ । थोरै बोटबाट पनि एक सिजनमा डेढ लाख आम्दानी भएको अध्यक्ष लामिछानेको भनाई छ । उहाँले किवी खेतीका लागि अरु फलफूललाई जस्तो झण्झट गर्न नपर्ने बताउनुहुन्छ । एक पटक लगायो भने ५० औँ वर्षसम्म फल दिन सक्ने उहाँको भनाई छ ।

“अहिले गाउँ–गाउँमा कृषकहरुले किवी लगाउन थालेका छन्, यसको खेती गर्न धेरै गाह्रो छैन, सुरुमा लगानी गरियो भने वर्षौँसम्म लगानी गर्न पर्दैन, फल दिन थाल्यो भने आम्दानी हुन थाल्छ, कृषकहरुले यसको खेती गर्न थाले भने छोटो समयमै राम्रो आम्दानी गर्न सक्छन् ।”

बडिगाड गाउँपालिकाका पूर्व अध्यक्ष मेयरसिंह पाइजाले २०५८ सालदेखि किवी खेती गर्दै आउनु भएको छ । पाइजा जिल्लामै किवी खेती गर्ने पहिलो किसान मध्यमा पर्नु हुन्छ । उहाँले करिब ४० रोपनी क्षेत्रफलमा किवी खेती गरेको जानकारी दिनुभयो । यो वर्ष पाँच लाखभन्दा बढीको किवी विक्री गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *