जसको बनोस्, दिगो सरकार बनोस्

सम्पादकीय
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब अन्तिम नतिजा सार्वजनिक सँगै सरकार गठनको तयारी हुनेछ । यसमा कस्तो सरकार बन्ला ? भन्नेमा चौतर्फी चासो र चिन्ता देखिएको छ । चासो यसर्थमा कि कुनै एक, दुई दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन । यस्तो अवस्थामा कसरी सरकार गठन होला ? चिन्ता यसर्थमा कि अब बन्ने सरकार कति स्थिर होला ? २०७४ सालको निर्वाचनमा बहुमत प्राप्त सरकार हुँदाको बेला त देशले स्थिरता र विकासको अनुभूति गर्न पाएन । सत्तारुढ दलकै नेतृत्वका विषयमा आपसी विवाद उत्कर्षमा पुग्दा दुई दुई पटक संसद विघटन भएर देश अस्थिरतामा पुग्यो । यसपटक अभिमत अझ छिरोलिएको हुनाले कसको नेतृत्वमा सरकार बनाउने ? को प्रधानमन्त्री बन्ने ? या आलोपालो नेतृत्व गर्ने लगायतका सवालले मुलुकमा पुनः अस्थिर खेल सुरु हुने त होइन ? भन्ने प्रश्न र संशय उठेको छ ।

जसमा प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले ५७ क्षेत्रमा बिजयी हासिल गरेर पहिलो दल बनेको छ । समानुपातिक तर्फ भने दोस्रो स्थानमा रहँदै ३२ सांसद गरेर ८९ सांसद संसदमा प्रवेशन गर्नेछन् । अघिल्लो निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले भने यसपटक दोस्रोमा खुम्चिएको छ । एकाध क्षेत्र बाहेक पाँच दलीय गठबन्धनसँग एकल चुनावी मैदानमा उत्रिएको एमालेको प्रत्यक्ष तर्फ ४४ र समानुपातिक तर्फबाट ३४ सिट गरेर ७८ सांसद हुनेछन् । तेस्रो दल माओवादी केन्द्र प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फ १४ गेर ३२ सिट ल्याएको छ । एमालेबाट बिभाजित भए पछि पहिलो निर्वाचन फेस गरेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट ल्यायो । तर, समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित रह्यो । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक नतिजा हासिल गरेको छ । उसले जनअभिमतमा प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिक तर्फ १४ सिट गरेर २१ सांसदलाई संसद प्रवेश गर्ने अवसर दिएको छ । मधेशमा प्रभाव क्षेत्र रहेको जनता समाजवादी पार्टीले प्रत्यक्ष तर्फ ७ सिट र समानुपातिकमा १२ सिट गरी १९ सिट जितेको छ । सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टीको रुपमा उदाएको छ । उसले प्रत्यक्ष तर्फ जम्मा १ सिट जिते पनि समानुपातिक तर्फ ५ सिट प्राप्त गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्ष तर्फ ४ सिट जितेको छ । समानुपातिकमा भने थे्रस होल्ड कटाउन सकेन ।

अहिलेको राजनीतिक दलहरुले प्राप्त गरेको अभिमतले पुराना ठुला भनिएका परम्परागत पार्टीहरुले विगतमा मनपरी शासन गर्दाको खिलापमा जनस्तरबाट केही विद्रोहको संकेत प्रष्ट आएको छ । अहिले राजनीतिक दल, शीर्ष नेताहरुका बिचमा प्रधानमन्त्री बन्ने, सत्ता शक्तिको भागबण्डा, राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत र दलीय स्वार्थमा केन्द्रित परिपाटी व्याप्त देखिन्छ । यसले अबको पाँच वर्षको समय पनि उही अस्थिरता र बर्बादीको दिशामा जाने त होइन भन्ने भय छ । यसलाई निरुपण गर्दै चाहे अहिलेको सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेतृत्वमा होस् या माओवादी नेतृत्वमा होस् या अरु दल । जसको सरकार बने पनि त्यो दीगो सरकार बनोस्, जसले राजनीतिक स्थिरता, विकास, समृद्धि र अहिलेको संकटमा रहेको अर्थतन्त्रलाई प्राण भरेर नियमित लयमा ल्याउन सकुन् । केबल च्याखे थापेर देशलाई बन्धक र बिफल बनाउने प्रयास कोही कसैबाट नहुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *