सामाजिक सञ्जाल, प्रेम र अप्रिय घटना

सम्पादकीय
सामाजिक सञ्जाल गास, बास र कपास जस्तै मानिसहरुका लागि अपरिहार्य विषय बनिसकेको छ । यसको प्रयोग आम मानिसका लागि एक किसिमको लत भइसकेको छ । आजकाल मानिसहरु चिया पसल, चौतारा या घरमै भेटघाट हुँदा पनि सामान्य सञ्चो बिसञ्चोका कुरा पश्चात उही वाइफाइ र पासवर्डको सोधनी हुन्छ । अनि सबै आआफ्नै ढंगले फेसबुक, टिकटक, युट्युव लगायतमा रनभुल्ल हुन्छन् । भर्खरका बालबालिका गेममा भुल्छन् भने युवायुवती फेसबुक र टिकटकमा रम्छन् । अनि बुढेशकाल लागेकाहरु भने युट्युवमा आउने गीत संगीत र सिरियलमा व्यस्त हुन्छन् । सामाजिक सञ्जालले मानिसहरुलाई समय सापेक्ष रुपमा अपडेट हुन सिकाएको छ । सूचना, समाचारहरु तत्काल थाहा पाउने माध्यम बनेको छ । तर, यसको फाइदाका साथै गलत नियत र दुरुपयोगले समाजमा अपराध र अप्रिय घटनाहरु समेत भइरहेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा भएको ताजा घटना यसको एक उदाहरण हो । पञ्चेश्वर–४ को फेउलीकी २० वर्षीया माया लुहार र शिवनाथ गाउँपालिका ४ का २२ वर्षीय भरतराम कोलीबिच फेसबुकबाट चिनजान मात्रै भएन, कुराकानी गर्दै जाँदा प्रेम पनि बस्यो । त्यही क्रममा आफूसँग भेटेका बेला फोन आएपछि मायाले नउठाएर गोजीमा हालेपछि भरतले शंका गरेनन् मात्रै, को हो भनेर सोध्दा जवाफ नदिएपछि उनले मोवाइल खोसेर आफूसँगै राखे । पछि मोवाइल लिन बोलाएर हत्या नै गरे । अहिले युवक प्रहरी हिरासतमा छन् । यता काठमाडौंमा विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षको घर अगाडि नै गएर पेट्रोल छर्किदा जलेर पुष्पा न्यौपानेको मृत्यु भएको छ । यो हत्या, आत्महत्या या आत्महत्या दुरुत्साहन के हो ? यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । न्यौपानेको मृत्यु पछि इन्गेजमेन्ट गरेका धुम्बराही निवासी २९ वर्षका मधु संग्रौला लगायतलाई पक्राउ गरेको छ । संग्रौला दरबारमार्गस्थित पुष्पाको शोरुममा आउने क्रममा चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट गरेका उनीहरु बिच एक वर्षभित्र विवाह गर्ने सहमति थियो । तर, १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेका थिए ।

यी दुई प्रतिनिधि घटना पछिल्लो समयका ताजा अप्रिय उदाहरण हुन् । प्रेम सम्बन्धको सुरुवात गराउनेदेखि प्रेम कसिलो बनाउने काममा सामाजिक सञ्जाल सहयोगी बनेका छन् । तर, यसको यथोचित उपयोग मात्र नभई क्षणिक स्वार्थ र लाभ उठाउने नियतका कारण समाजमा अपराध र अप्रिय घटनामा पनि बढावा आएको छ । कुनै पनि सम्बन्ध सुरुवात र विस्तार गर्दा सामाजिक सञ्जालबाट आवरणमा देखे बुझेको आधारमा मात्र होइन, अरु सबै पृष्ठभूमि, आनाबानी, व्यवहार, परिवार, भविष्य हेरेर गर्नुपर्छ । अचेल सामाजिक सञ्जालबाट बनेका सम्बन्धहरु छोटो समयमै विघटन भएका प्रशस्त उदाहरण छन् । सम्बन्धहरु बिच्छेद मात्र होइन, हत्या, आत्महत्याले अमुल्य जीवन नै बर्बाद पार्ने कार्य दुखद र बिडम्बनापूर्ण छ । यसमा हरेक युवायुवती विकसित प्रविधि, समय र सामाजिक सञ्जाललाई पछ्याउनु पर्छ । तर, यसको दुरुपयोगबाट भइरहेको अप्रिय घटना र अपराधको शिकार बन्नबाट भने सचेत हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *