पर्यटक आकर्षणको केन्द्र बन्दै गलकोट दरबार

डम्मर बुढा मगर, बागलुङ
तल्तिर हरिचौर बजार र दरमखोला । माथि पट्टी घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकहरुको भिड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । वि.सं. १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्म शैलीमा बनेको यो दरबार जीर्ण बन्दै गएको छ ।

पछिल्लो समय दरबारको वरपर तस्बिर खिच्ने, भिडियो बनाउने र रमाउनेको संख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटकहरु घुम्न आउन थालेका छन् । दरबार नजिकै टेउवाको मूर्तिकला र ताराखोलाको गाईघाट झरना छन् । मूर्तिकला र झरनामा घुम्न आउने अधिकांश पर्यटक दरबारसम्म पुग्ने गरेका छन् ।

दरबारसम्मै गाडीमा पुग्न सक्ने भएपछि दिनप्रति दिन आन्तरिक पर्यटक दरबारमा आउने गरेको स्थानीयको भनाई छ । भरतपुर चितवनबाट ढोरपाटन घुम्न आउनु भएका आकाश परियारले गलकोट दरबारको पनि अवलोकन गरे । उनले शान्त वातावरणमा रहेको दरबारले यहाँ आउने जोकोहीलाई आकर्षित गर्ने बताउँछन् ।

परियार भन्छन्–“सयौँ वर्ष पुराना सम्पदाहरु अहिले पनि देख्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो, यस्ता एतिहासिम महत्व बोकेका सम्पत्तिहरु अहिले पनि छन् हाम्रो देशमा, यो ठाउँ पनि धेरैलाई आकर्षित गर्ने खालको रैछ, त्यसमाथि यति सुन्दर दरबारले मलाई अझै केही दिन यतै बसेर घुमौँ–घुमौँ गरायो ।

जापानमा बस्ने परियार बिदामा स्वदेश फर्किएको बेला बागलुङ घुम्न आएको बताए । बागलुङ आएको यसला ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, टेउवाको मूर्तिकला र गलकोट दरबार घुमेर जाने योजना बनाएको बताए । उनले यहाँका संरचनाको मर्मत सम्भार गरि व्यवस्थित बनाउन सके देशी तथा विदेशी पर्यटकलाई तान्न सकिने बताउँछन् ।

“यो पटक बागलुङ मज्जाले घुम्ने भइयो, यो दरबारको बारेमा मैले युट्युवमा एउटा भिडियो देखेको थिएँ, भिडियो देख्दा यहाँ आउने रहर जागेको थियो, विदेशमा भएको हुँदा पहिले चाहेर पनि आउनु पाइएन” परियारले भने–“बागलुङ आएको बेला यहाँ भएका धार्मिक तथा पर्यटकीय ठाउँहरु घुमेर जाने हो ।”

गुल्मीको मुसिकोटबाट घुम्न आउनु आएका दीपेश गिरीले गलकोट दरबारको धेरै वर्षदेखि चर्चा हुँदै आएको भन्दै आफू पाँचौँ पटक यहाँ घुम्न आएको बताए । उनले सामान्य कामले गलकोट बजारमा आएको बेला दरबारसम्म आएरै छोड्ने गरेको बताए ।

“पहिले त यहाँसम्म आउने सडक राम्रो थिएन, अहिले त सडक पनि राम्रो छ, दरबार हटिया बजार नजिकै भएर पनि होला, यहाँ धेरै मान्छेहरुको चहलपहल हुँदो रैछ, हामी सानो हुँदादेखि नै मान्छेहरु गलकोट दरबार घुम्न जाने भन्दै आउँथे, अहिले पनि घुमफिर गर्न आउनेहरु धेरै हुने रहेछन्,” गिरीले भने– “म पाँच पटकसम्म यहाँ घुम्न आएँ, फेरि पनि मेसो मिले आउँछ, सडक राम्रो छ, यहाँ आउन धेरै समय पनि लाग्दैन ।”

स्थानीयका अनुसार यहाँ दैनिक २०० बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिदाको दिन अझ बढी आउने गरेको उनीहरुको भनाई छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलकोट दरबारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकिर्षत गरेको बताए । दरबारले एउटा बिरासत बोकेको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताउँछन् ।

प्रवक्ता भण्डारीले भने–“यो दरबार अहिले पनि व्यक्तिगत स्वमित्वमा रहेको छ, व्यक्तिगत स्वामित्वमा रहेको संरचनालाई हामीहरुले पनि मर्मत सम्मभार गर्ने गरि छलफल गरेका थियौँ, अहिले केही जीर्ण बनेको छ, अहिले त्यसलाई मर्मत गर्न लाग्नु भएको छ ।”

दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा थिए । यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरतबम मल्ल थिए । उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए ।

तत्कालीन राजा भरतबम मल्लका पनाती मञ्जेशबम मल्लले अहिले दरबारको संरक्षणमा जुटेका छन् । उक्त दरबार मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधवबममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशत्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षबाट हत्या भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो ।

राजा भरतबमका पनाती मञ्जेशबमले अहिले दरबारको मर्मत सम्भार गर्न थालेमन छन् । उनले पछिल्लो समय दरबारमा पर्यटक आउन थालेको भन्दै जीर्ण बनेको दरबार पुरानै शैलीबाट मर्मत सम्भार गर्न लागेको बताए ।

मल्लले भने–“दरबारलाई हामीहरुले पुरानै शैलीमा मर्मत गर्न थालेका छौँ, दरबारको तल्लो तलालाई संग्राहलयका रुपमा विकास गर्ने र माथिल्लो तलाहरुलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरि पुनःनिर्माण हुँदैछ, यहाँ थप अरु संरचना पनि व्यवस्थित रुपमा निर्माण गर्ने गरि लागेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *