आदर्श सञ्चार : थप गतिशील र गन्तव्य

सम्पादकीय

आदर्श सञ्चार सहकारी धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी हो । आदर्श सञ्चार त्यतिबेला स्थापना भयो, जतिबेला सञ्चारमा व्यक्तिगत र केही समूहगत प्रयास भएको थियो । तर, संस्थागत रुपमा सञ्चार सहकारीको अवधारणाबाट मिडिया सञ्चालन गर्ने, यसको दीगोपना लगायतका विषय पनि संशयमा थियो । अरु धेरै क्षेत्रको विषयगत सहकारीको रुपमा सञ्चालनमा आए पनि सञ्चार सहकारी मार्फत अझ स्वतन्त्र र सबल रुपमा मिडिया र आर्थिक कारोबारको ध्येय सहित आदर्श सञ्चार स्थापना भयो । र आजको दिन सम्म आइपुग्दा आदर्शले अनेकन कठिनाई र चुनौतीका बाबजुद एक सफल सञ्चार सहकारीको रुपमा आफुलाई स्थापित गरेको छ । धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, धौलागिरी टेलिभिजन सञ्चालनमा साझेदारी, आदर्श सञ्चार अनलाइन निरन्तर सञ्चालन गरिरहेको छ ।

आदर्श सञ्चारले धौलागिरी क्षेत्रमा आफ्नो पृथक छाप सहकारी र सञ्चार कर्म र गतिविधिबाट बनाइरहेको छ । पछिल्लो समय गण्डकी प्रदेशमा नै आफ्नो दायरा फराकिलो बनाउने कोसिसमा छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड सहकारीमा पनि अगुवा सहकारीको रुपमा स्थापित छ । यस संस्थाले गत सोमबार सम्पन्न १६ औं वार्षिक साधारणसभा मार्फत २०९० सालको रणनीतिक योजना सार्वजनिक गरेको छ । जस अनुसार त्यसबेला सम्म ५० हजार भन्दा बढी शेयर सदस्य र साढे ५ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको छ । अबको १० वर्षमा ५० करोड शेयर पूँजि, ४ अर्ब ६० करोड बचत, ५ अर्ब कर्जा लगानी सहित साढे ५ अर्ब कुल सम्पत्ती पु¥याउने योजना छ । आदर्शले २०७० सालमा १० वर्षे रणनीतिक योजना बनाएर अभियान सञ्चालन गरेको थियो । २०८० सालको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पुँजि, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित ५६ करोड कुल सम्पत्ती बनाउने लक्ष्य लिएको थियो । संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य, ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पति छ । आदर्शका यसअघि सञ्चालित शेयर सदस्यहरुसंगको सम्बन्ध बढाउदै प्रत्येक शेयर सदस्यले वार्षिक २ जना शेयर सदस्य थप गर्ने ङइच वन क्याच टु’ अभियान, सदस्य भेटौ, सदस्य सुनौ अभियान, वित्तीय साक्षरता, विद्यालयमा सहकारी शिक्षा, प्रत्येक महिना पाँच गाउँ : सहकारी अभियान गर्दै जाउ, स्वास्थ्य सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

झट्ट सुन्दा आदर्शको अहिलेको १० वर्षे अभियान महत्वकांक्षी लाग्छ । तर, कुनै पनि काम या उपलब्धि ठोस योजना र रणनीति बिना सम्भव हुँदैन । संघीय राजधानी काठमाडौंमै सहकारी डुबेको, शेयर सदस्य र बचतकर्ता ठगिएका दुर्भाग्यपूर्ण खबरहरु आइरहेका बेला आदर्शले वित्तीय कारोबार गरेर आफ्ना शेयर सदस्यलाई नाफा दिलाउने मात्र होइन, आम सञ्चार पत्रकारिता मार्फत सामाजिक उत्तरदायित्वको बोध समेत जिम्मेवारीपूर्वक निर्वाह गरिरहेको छ । आदर्श व्यावसायिक रुपमा तर समाज र देशलाई पनि सँगै संगठित र समृद्ध बनाउने अभियानमा छ । आदर्श हरेक नागरिक आत्मनिर्भर, स्वाबलम्बी बन्ने बनाउने कोसिसमा छ । मिडिया मार्फत समाजमा सुशासन, जवाफदेही र पारदर्शिता कायमका लागि निरन्तर खबरदारीमा छ । यो कुनै एक व्यक्ति या संस्थाले मात्रै गरेर सम्भव र सफल हुने कुरा त होइन । तर, व्यक्ति, समूह, संस्था जसले जहाँबाट जे जति सकिन्छ, सकारात्मक रुपमा भूमिका र योगदान दिन प्रयास गर्ने हो भने अवश्य आम अपेक्षा अनुसार समाज र देश बदलिन धेरैबेर लाग्ने छैन । यही आदर्श सञ्चारको दृढ विश्वास हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *