बागलुङको दुर्दशा: लोकमार्ग कहिले बन्छ ? तोडौ मौनता,सोधौ प्रश्न

सम्पादकीय
बागलुङ सम्भावना र अवसरको बीचमा उदाउदै गर्दा समस्या र चुनौतिको चाङले घेरिएको छ । नयाँ संघीय अभ्याससँगै जिल्लाको परिचय र अवसरलाई फराकिलो आयाम दिलाउने प्रशस्त सम्भावना बिद्यमान थियो । तर, जुन सम्भावना बोकेर पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकरी करिडोर जिल्ला भित्रियो । जसले नागरिकमा एक किसिमको खुशी र उत्साहको सञ्चार गराएको थियो पनि । यद्यपी, यो क्रमशः निराशाउन्मुख छ । करिडोरले दक्षिण क्षेत्रका गाउँमा सुगमता भित्रायो । आयआर्जनको अनेक बाटा पनि खुल्ला गरिदियो । यता, मुख्य सिमाना आए पछि जिल्ला सदरमुकाम इतर नै अझ छिमेकी जिल्ला पर्वत भएर करिडोर म्याग्दी मुस्ताङ जाने निश्चित प्रायः भए पछि जिल्लाको अरु सुगमता, सहजता र सम्भावना केही हद सम्म दुर हुने देखिएको छ । अर्को मध्यपहाडी लोकमार्ग जुन मुख्य सदरमुकाम सहित पश्चिम क्षेत्रका गाउँहरुलाई सुगम बनाउदै रुकुम जोडियो । यसले अधिक गाउँहरुलाई बजार सहित नागरिकको सहजता र दैनिकीलाई सरलतामा बदल्दि सकेको छ । यति हुँदा हुँदै पनि बजार क्षेत्रको सम्मुखको २५ किलोमिटर लोकमार्ग स्तरोन्नति सहित कालोपत्रेको काम अपेक्षित गतिमा अघि नबढ्दा चौतर्फी चिन्ता छाएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक आयोजना हो पुष्पलाल मध्यपहाडी लोकमार्ग । यस आयोजनाको बागलुङ–घोडाबाँधेको तल्लो खण्डको काम पुनः अलपत्र पर्ने निश्चित प्रायः छ । सम्झौता अवधिका हिसावले माघ मसान्त अर्थात केही दिन बाँकी छ । यस खण्डको २५ किमि मध्ये अक्षेते बिहुँ खण्डमा सन्तोषजनक काम भए पनि उपल्लाचौरदेखी अक्षेते सम्मको १२ किमि सडक निर्माण कार्यमा अहिले कामदार छैनन् । जिल्लाबासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको बिशेष पहल पछि लोकमार्गको कामले केही साता यता गति लिन थाले पनि ठेकेदारले बेवास्ता गरेको भन्दै लोकमार्गमा केही साता अघि नयाँ ढंगले काम गर्ने ठेकेदारको बाचाका साथ खटाइएका अधिकाशं कामदारले काम छोडिसकेका छन् । दुई चार जना पात्र देखाएर म्याद गुजार्ने र थप्ने रणनीतिमा ठेकेदार देखिएका छन् । निर्माणस्थलमा ठेकेदारनै नआउने र ज्यालाको समेत अनिश्चित भए पछि काम छाडेर गएकाले निर्माण कम्पनी सिद्धिसाई कन्ट्रक्सन पहिले मात्र होइन, अहिले पनि आयोजना निर्माणमा गम्भिर छैन भन्ने बुझ्न कठिन छैन । यो निर्माण कम्पनीको जस्तोसुकै तर्क र दाबी गरे पनि फिल्डमा पुगेर हेर्दा त्यो फिक्का हुन्छ । र आयोजनाको एक उदेक लाग्दो उदाहरण यहाँ देख्न र भेट्न सकिन्छ । नेपाल सरकारले शुरुवातमा केही कडाई गरे पनि खरिद ऐनको नवौ संशोधनमा अलपत्र परेका गौरवका आयोजनामा थप एक बर्ष सोही कम्पनीलाई काम गर्न दिने व्यवस्था पछि ठेकेदार कम्पनीलाई केही सहज र सुविधा अवश्य थियो । तर अनेक कारण र बाहना देखाउदै कम्पनीले जिल्लावासीलाई भुलभुलैयामा राखिरहेको छ ।

लोकमार्गले समृद्धिको सम्भावनालाई जिवन्त बनाउने प्रवल संकेत छ । यसले आम मानिसको दैनिकीमा कति सकस पु¥याइरहेको छ र यसको कालोपत्रे पश्चात भोलीका दिनमा कति सहजता हुनेछ । त्यो सजिलै अनुमान गर्न सक्छौ । गाउँमा कालोपत्रे सडकमा सवार भएर साविकको अञ्चल सदरमुकाम बागलुङ बजार नजिकको २५ किमि सडकको जुन दुरावस्था अहिले छ, त्यसले समग्र जिल्लाका नेता, सांसद, जनप्रतिनिधिदेखी सामान्य नागरिकलाई पनि लज्जाबोध बनाइरहेको छ । जिल्ला भित्र र बाहिरका सयौ नागरिकको यात्रामा लोकमार्गको ढिलाइ, यसले पाएको सास्ती र सकसको सराप कतिञ्जेल खाइरहने ? कतिञ्जेल सुनिरहने ? गौरवको आयोजनाको हालत पटक पटक बेवास्ता, लापरवाही र ढिलाई हुँदा पनि किन यस्तो मौनता हुन्छ ? अर्थात सरोकारवाला निकायको निर्देशन, पहल र दबाबले पनि ठोस उपलब्धि हासिल गर्न बाधक तत्व यो बीचमा के छ ? अब यसको समेत गम्भिरतापूर्व खोजी हुनु आवश्यक छ । अब पनि लोकमार्गको ढिलाई कुनै पनि बाहनामा थप गर्ने अवस्था या बाध्यताबाट मुक्त गर्नुपर्छ र जतिसक्दो छिटो बाँकी खण्डको स्तरोन्नति गरेर कालोपत्रे गर्नै पहल र दबाव दिइरहन जरुरी छ । -जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *