राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल म्याग्दीको अध्यक्ष ध्रुव जिसी

अमृत बास्कुने, म्याग्दी
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा ध्रुव जिसी चयन हुनुभएको छ । बेनीमा सम्पन्न प्रतिष्ठानको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितीय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देवी जिसी, सचिवमा बिजुन केसी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सहसचिवमा सुनिल बानियाँ र सहकोषाध्यक्षमा नारायण पौडेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा बलबहादुर परियार (सङ्गठन विभाग प्रमुख), शंकर पौडेल, जीवन कार्की (प्रवक्ता), तोपबहादुर कार्की, रामकुमारी पुन, विजय परियार र राजकुमार परियार निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष जिसीले अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने र नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । जिसीले कार्यसमितिमा अटाउन नसकिएका र जिल्लाभन्दा बाहिर तथा विदेशमा समेत रहेका कलाकारहरुलाई समेटेर आफू अगाडि बढ्ने योजना रहेको सुनाउनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लोक, कला र संस्कृति राष्ट्रको पहिचान भएकाले संरक्षण गर्नुपर्ने तथा कलाकार गहना भएको हुँदा सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले स–साना बालबालिकादेखि बुढाबुढीसम्मका सबैलाई जुनसुकै लोकगीत, सङ्गीत मनपर्ने बताउँदै कलाकारले दुःख, पीडा, उकाली, ओराली र भन्ज्याङ, चौतारीका भाकामार्फत समाज परिवर्तन हुने खालका सन्देशमूलक गीतसङ्गीतहरु बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

म्याग्दीले जिल्ला भित्रका मात्रै नभएर जिल्ला भन्दा बाहिरका कलाकारहरुलाई उचित ठाउँ दिए पनि म्याग्दीका कलाकारहरुलाई भने छिमेकी जिल्लामा समेत त्यति ठाउँ नदिएको आरोप लगाउनु भयो । उद्योग बाणिज्य संघका अध्यक्ष कटुवालले जिल्लाभन्दा बाहिरका कलाकारहरुले म्याग्दीका कलाकारहरु प्रति केही सकारात्मक हुनु पर्ने भन्दै आगामी दिनमा सबैले सबैलाइ समेट्न तर्फ कलाकार लाग्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्यहरु जीवन दाहाल, तारानाथ आचार्य, कुमार पुन, संस्थापक केन्द्रीय सदस्य एवं म्याग्दीका सल्लाहकार धनकुमारी थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार प्रकाश पौडेल, वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, द्वितीय उपाध्यक्ष आरसी पौडेल, सदस्य नकुल ढकाल र सङ्गठन विभाग सदस्य अमित विश्वकर्माले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती परियार खड्का, पर्वतका अध्यक्ष पुजा कार्की पौडेल, महिला उद्यम विकास समिति म्याग्दीका सभापति लक्ष्मी भण्डारी कार्की र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष कृष्ण जिसी पनि बोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *