आदर्श सञ्चार : जेष्ठ सदस्यलाई पेन्सन, अपाङ्गतालाई भत्ता

आदर्श अनलाइन, बागलुङ

सहकारीले सिद्धान्त अनुरुप काम नगरी नाफा मात्रै कमाउन थालेको भन्दै चर्को आलोचना हुन्छ । सहकारीको अन्तराष्ट्रिय सात सिद्धान्त अनुरुप नचल्दा अहिले केही सहकारीहरु टाट पल्टने अवस्थामा समेत पुगेका छन् । तर यहाँको एक सहकारीले सञ्चार, बचत तथा ऋण संगै सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउदै आएको छ ।

साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई वर्षेनी पेन्सन र अपाङ्गता भएका शेयर सदस्यहरुलाई भत्ता वितरण गर्दै आएको छ ।
संस्थाले विगत पाँच वर्ष देखि जेष्ठ शेयर सदस्यलाई वर्षको दुई हजार ४०० का दरले र अपाङ्गता भएका शेयर सदस्यहरुलाई वार्षिक एक हजारका दरले अपाङ्गता प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिनुभयो । सहकारीले सञ्चार माध्यम सञ्चालनलाई मुख्य उद्देश्य मान्दै आएको छ ।

“सहकारीका सात सिद्धान्त अनुरुप सहकारी चल्नुपर्दछ, हामीले सहकारीमा शेयर सदस्य भई ७० वर्ष नाघिसकेका सदस्यहरुले मासिक दुई सयका दरले वर्षको दुई हजार ४०० र अपाङ्गता भएका शेयर सदस्यहरुलाई वार्षिक रु. एक हजारका दरले प्रोत्साहन भत्ता दिदै आएका छौं” अध्यक्ष जिसीले भन्नुभयो “सामाजिक उत्तरदायित्व निभाउदै सहकारीले पेन्सन, अपाङ्गता भत्ता, स्वास्थ्य सेवा अक्षय कोष संगै विभिन्न विपद्मा परेकालाई सहयोग प्रदान गर्दै आएको छ ।”

पाँच वर्ष अघिदेखि शुरु गरिएको जेष्ठ नागरिक पेन्सनबाट चालु आर्थिक वर्षमा २६ जना लाभान्वित भएका छन् भने तथा अपाङ्गता भत्ताबाट २० जना अपाङ्गता भएका शेयर सदस्य लाभान्वित भएका हुन् । १२ औं साधारणसभामा १३ जनालाई पेन्सन दिन थालिएकोमा अहिले १६ औं साधारणसभामा आउदा उक्त संख्या बढेर २६ पुगेको छ ।

सहकारीले बागलुङ बाट रोजगारीका लागि कोरिया पुग्नुभएका नेपालीहरुले बागलुङ सम्पर्क समाज दक्षिण कोरिया मार्फत स्थापना गरेको स्वास्थ्य सेवा अक्षय कोषबाट समेत ४० जनालाई पाँच हजारका दरले स्वास्थ्य उपचारका लागि रकम प्रदान गरिसकेको सहकारीका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारीमा विगत १० वर्ष देखि सदस्य भई ७० वर्ष नाघेका शेयर सदस्यले मासिक दुई २०० का दरले पेन्सन पाउने व्यवस्था गरिएको सापकोटाको भनाई छ । पेन्सन वितरणका लागि सहकारीले पेन्सन कोषको व्यवस्था गरेको छ । कोषमा नयाँ बन्ने शेयर सदस्यले एक पटक एक सय र अन्य सबै सदस्यले एक पटक ३ हजार रुपैया कोषमा योगदान गर्नु पर्ने हुन्छ । पेन्सनको नाम संस्थाले योगदानमा आधारित पेन्सन भन्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको छ ।

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *