उदार पूँजिवादले निम्त्याउने संकटबाट समाजलाई जोगाउन सहकारी सफल हुनुपर्छ : एमाले महासचिव पोखरेल

आदर्श अनलाइन, काठमाण्डौ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उदार पूँजिवादले संसारभर निम्त्याउने संकटबाट समाजलाई जोगाउन सहकारी क्षेत्र सफल हुनु पर्ने बताउनु भएको छ ।

सहकारीलाई सामान्य अर्थतन्त्रको अंगको रुपमा नभई समुदायलाई पर्न सक्ने संकटबाट जोगाउने माध्यमका रुपमा अगाडि बढाउनु पर्ने उहाँको भनाइ छ ।

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी विनारण विभागको आइतवार काठमाडौंमा आयोजित वैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संकट समाधानको क्षमता सहकारीहरुले विकास गर्नु पर्ने बताउनुभयो ।

समुदायको प्रत्यक्ष सहभागिता रहने र सदस्यहरुको विकास र व्यवस्थापनमा व्यवसायिकता हुने भएकाले सहकारी क्षेत्रलाई वित्तीय रुपमा आउने संकटलाई सहज रुपमा पचाउन सक्ने क्षेत्रका रुपमा लिइन्छ, महासचिव पोखरेलले भन्नुभयो–‘उदार पूँजिवादले सिर्जना गरेको समस्याबाट समुदायलाई जोगाउने खालको नीति र व्यवस्थापन गरेर सहकारी क्षेत्र अगाडि बढ्नु पर्छ ।’

नेपालमा सहकारी सञ्चालनमा केही समस्याहरु देखिएका छन् । सञ्चालन प्रक्रिया, व्यवस्थापन शैली लगायत सुशासन र पारदर्शीतामा पनि समस्या देखियो, पार्टीका नेताहरुको संलग्नतामा सहकारीको गलत अभ्यास भएको पनि उहाँले चर्चा गर्नु भयो ।

वित्तीय सहकारीहरु पनि सहकारीको सिद्धान्त अनुसार चलेका छन् कि छैनन् ? मेरो मनमा प्रश्न छ ? भन्दै पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभियानका साझा संस्थाहरु र राज्यका संयन्त्रहरुको क्षमता विकास गरी अनुगमन नियमनलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । सहकारी सदस्यको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने संस्था हो, त्यसैले सदस्यहरुको क्षमता विकास गरी सक्षम बनाउने, सहकारीलाई समुदायले निगरानी गर्ने खालको अवस्था आवश्यक रहेको पोखरेलको भनाइ छ ।

सहकारी विभागले पार्टी पंक्तिलाई सहकारी बुझाउन पार्टी स्कुल विभागसंग समन्वय गरेर काम गर्न उहाँले निर्देशन दिनुभयो । समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सहकारी सहितको तीन खम्बे अर्थनीतिको पहलकर्ता दल एमाले हो, एमालेले आफ्नो नीतिमा सहकारी राखेकै कारण सहकारी क्षेत्र अहिलेको अवस्थामा आएको पोखरेलको दावी छ । समाजवादका आधार स्थापित गर्ने एउटा माध्यम सहकारी हो, सहकारीमा समस्या छन्, समस्या भएकै कारण छलफल हुन्छ र समस्या समाधानका लागि प्रयास गरिन्छ ।

कुनै पनि संस्थाको नेतृत्वका बारेमा समग्र विशेषतालाई ध्यान दिन सुझाव दिदै उहाँले विधि र प्रक्रियाका नाममा आलोपालो गर्ने कार्यले सक्षम मान्छेलाई किनारा लगाउने बताउनुभयो । एमालेको सहकारी विभागमा रहेका नेताहरुको नेतृत्वमा रहेका सहकारीहरु संकटमा जोगिने हुनु पर्छ, संकटमा जोगिनका लागि यसको मूल मर्म र भावना अनुसार चल्नुका साथै पारदर्शिता र सुशासन आवश्यक हुन्छ । राजनीतिक प्रसंग कोट्याउदै पोखरेलले पछिल्लो निर्वाचनमा चौतफी घेरावन्दीका बीच पनि एमालेले मुख्य प्रतिस्पर्धीसंगको अन्तर कम पारेको बताउनुभयो । २०७४ मा २ वटा दल मिल्दा कांग्रेस २३ सिटमा झरेको थियो, २०७९ मा पाँच दल मिल्दा पनि एमाले ४४ प्रत्यक्षमा जित्न सफल हुनु र समानुपातिकमा पहिलो दल बन्नु एमालेले लिएको नीति र नेतृत्वका कारण संभव भएको महासचिव पोखरेलको भनाइ छ ।

पछिल्लो समय राजनीतिक रुपमा सबै भन्दा बढी दलगत रुपमा एमाले र नेतृत्वका हिसावले अध्यक्ष केपी शर्मा ओली माथि प्रहार भएको थियो, निर्वाचनबाट दल र नेतृत्व दुवैलाई जोगाउन आफुहरु सफल रहेको निष्कर्ष उहाले सुनाउनु भयो । बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले एमालेको नीति नियममा सहकारीलाई प्राथमिकता दिने विषयसंगै सहकारी क्षेत्रमा देखिएको विद्यमान संकट समाधानका लागि पार्टीका तर्फबाट खेल्न सकिने भूमिका प्रभावकारी बनाउन लागिएको बताउनुभयो ।

सहकारीमा देखिएका समस्या समाधानका लागि प्रमुख दलका सहकारी विभागहरुसंगको समन्वयमा दलका शिर्ष नेतृत्वसंग छलफल गर्ने तयारी लगायत विभागको तर्फबाट गरिने कामका बारेमा चौलागाईले जानकारी गराउनु भएको थियो ।

सहकारी र पार्टीको सम्बन्धलाई थप व्यवस्थित गराउदै देशव्यापी रुपमा प्रशिक्षण लगायत अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने लगायतको निर्णय वैठकले गरेको विभागका सचिव के.बी.उप्रेतीले जानकारी दिनुभयो । महासचिव पोखरेलले विभागमा थप भएका सदस्यहरु ज्ञान बहादुर तामाङ, दामोदर अधिकारी, शान्ति अधिकारी, सिता ढकाल, सुमन केसीलाई सपथ ग्रहण गराउनुभयो ।

बैठकले राष्ट्रिय सहकारी बैंक र अन्य संघहरुको निर्वाचन परिचालन र सहकारी प्रशिक्षणका लागि विभागीय प्रमुख चौलागाई, प्रदेश र जिल्ला संघहरुको निर्वाचन परिचालनका लागि सदस्य रमेश पोखरेल, आर्थिक व्यवस्थापनका लागि परितोष पौड्यालको संयोजकत्वमा परिचालन समिति गठन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *