एग्रो पर्यटनमा नयाँ आयम : हाँडिकोटको काखमा ढोरपाटन ‘फार्मस्टे’


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लामा पछिल्लो समय घरबास पर्यटन फष्टाउदो छ । आन्तरिक पर्यटकहरु चाडवाड तथा विदाको समयमा पर्यटकीयस्थल भ्रमण गर्ने र घरबासमा पुगेर अर्गानिक परिकारको स्वाद लिदै रमाउने परिपाटी बढिरहेको छ ।

बागलुङमा रहेका २८ वटा सामुदायिक घरबास मध्ये एक दर्जन घरबास पर्यटकहरुका कारण चर्चित बनेका छन् । घरबास पर्यटन फष्टाउन थालेको बागलुङमा कृषि पर्यटनको अवधारणा समेत भित्रिएको छ । जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले कृषि पर्यटकलाई लक्षित गरी ‘ढोरपाटन पारिवारिक फार्मस्टे’ सञ्चालनमा ल्याउनुभएको छ ।

जैमिनीको चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको हाँडिकोटको काखमा फार्मस्टे सञ्चालनमा ल्याइएको हो । २०७३ सालबाट कृषि खेतीमा नयाँपन दिदै नयाँ– नयाँ फलफूल तथा जडिबुटीको अवधारण ल्याउदै आउनुभएका आचार्य जैविक नमूना कृषि फार्मका सञ्चालक केदार आचार्यले कृषि विषयको अध्ययन तथा अवलोकन सहित फार्ममै सुविधास सम्पन्न ढंगले अर्गानिक खानाको सवाद सहित बस्न मिल्ने व्यवस्थापन सहित ‘फार्मस्टे’को अवधारण भित्राउनुभएको हो । इको घरबासको प्राविधिक तथा समन्वयमा बागलुङमा पहिलोपटक फार्मस्टे सञ्चालनमा ल्याएको फर्मका सञ्चालक केदार आचार्यले बताउनुभयो । ३८ वर्षका आचार्यले मलेसियामा तीन वर्ष काम गर्दादेखिनै कृषिमा संभावना देखेर नेपाल फर्कनुभएको थियो ।

विदेशी भोलेन्टियर र कृषि तथा कृषि विज्ञान अध्ययन गरिरहेका विद्यार्थी तथा पर्यटकहरुलाई लक्षित गरी ढोरपाटन पारिवारिक फार्मस्टे सञ्चालनमा ल्याएको आचार्यको भनाई छ । “अध्ययन तथा अनुसन्धानका लागि पाँच रोपनी जग्गामा फलफुल र जडिबुटी विरुपा उत्पादन गरिरहेको छु, सोही स्थानमा गड्यौला खेति समेत भइरहेको छ, अन्य १५ रोपनी जग्गामा फलफूल, तरकारी र जडिबुटीको व्यवसायीक खेती गरिरहेको छु” आचार्यले भन्नुभयो “म नेपालका धेरै कृषि फर्म पुगे, आफ्नो फर्म अवलोकन गर्न समेत धेरै कृषि विज्ञ, पर्यटक तथा सरकारी निकायका मानिसहरु आए, उनिहरुलाई खान बस्नको सुविधा भएन, मेरो लक्ष्य एग्रो रिसोर्ट हो त्यसैको सानो रुप अहिले फार्मस्टे सञ्चालमान ल्याएको छु ।” फार्मस्टेमा अहिले एक रातमा छ जना पर्यटकको क्षमता रहेकोमा त्यसलाई थपेर १० पु¥याउने लक्ष्य रहेको आचार्यको भनाई छ । फार्मस्टेबाट पैदलमार्फत हाँडिकोट पुग्न डेढ घण्टा लाग्छ । पछिल्लो समय हाँडिकोट पुग्ने पर्यटकहरुमा उल्लेख्य वृद्धि समेत भइरहेकोले फार्मस्टेले सघाउ पुग्ने बताइएको छ ।

कृषि पेशामा मलेसिया गएपछि आकर्षित भएको बताउदै आचार्यले कृषि पर्यटनको संभावना राम्रो देखेको बताउनुभयो । उहाँले बस्नको राम्रो व्यवस्था भएपनि पछिल्लो समय अर्गानिक खानाको व्यवस्था नदेखिएकाले आफ्नै फर्ममा मौसम अनुसारको जे उत्पादन हुन्छ त्यही पाहुँनालाई खुवाउने गरी फार्मस्टे सञ्चालनमा ल्याएको बताउनुभयो । फार्मस्टेमा आउने पर्यटकहरुलाई प्याकेजमै कार्यक्रम ल्याउने र जैमिनीको हाँडिकोट, माइकोस्थान र ढुङ्गाखानी सहित विभिन्न दृश्यावलोकन समेत गराउने लक्ष्य आफू संग रहेको आचार्यको भनाई छ ।

आचार्यको पाँच रोपनी जग्गामा गड्यौला खेती, माहुरी पालन, फलफुलका विरुवा नर्सरी र जडिबुटीका विरुवा उत्पादन गर्ने नर्सरी रहेको छ भने अन्य १५ रोपनी जग्गामा अलैची, फलफुल बगैचा, च्याउ, जडिबुट खेती रहेको छ । फलफुलमा सुन्तला, कागती, एबोकाडो, किबी, उखु, अम्बा, ओखर, जापानिज नास्पती, पैयु प्रजातीको टेरी र अजिर लगायतको उत्पादन भइरहेको छ । यस्तै जडिबुटी खेतिमा अस्वगन्धा, रोजमेरी, सतुवा, टिमुर, गुर्जो र बिहारी लहरो आदी खेति भइरहेको छ ।
पहुँनाका लागि लोकल कुखुरा, हाँस र टर्की समेत पालिएको छ ।

“नयाँ अवधारणा हो, मेरो कृषि फर्म जैविक लक्षित छ, मेरो लक्ष्य भनेको गाउँलाईनै कृषि पर्यटनको हव बनाउने हो, अहिले सम्म सफल भएको छु, एग्रो टुरिजमको अवधारणा नेपालमा सफल भइसकेको छ, विषादी मुक्त फलफूल, तरकारी र अन्न उत्पादन गरेर पर्यटकलाई आर्कर्षित गर्ने हो” आचार्यले भन्नुभयो “अहिले कृषि विज्ञ तथा आन्तरिक पर्यटकहरु फर्म अवलोकन तथा अध्ययन अनुसन्धानका लागि आएका छन्, यो एउटा ठूलो अवधारणा हो लामो समय लाग्छ यस्ले पूर्णता पाउन ।”

आचार्यले जैविक फर्म तथा ढोरपाटन पारिवारिक फार्मस्टेका लागि रु. ५५ लाख भन्दा बढी रकम लगानी गरिसक्नुभएको छ । उहाँलाई सरकारी निकाएको समेत राम्रो सहयोग रहेको छ । संघ, प्रदेश र स्थानीय निकायबाट गरी रु. २७ लाख अनुदान बापत फर्मले प्राप्त गरिसकेको छ ।
आचार्यले आफ्नो जैविक फर्मलाई दुई भागमा विभाजन गर्नुभएको छ । पहिलो परिक्षण केन्द्र र दोस्रो व्यवसायीक उत्पादन । उहाँले आफ्नो फर्ममा परिवारका अन्य सदस्यहरुको राम्रो सहयोग रहेकोभन्दै मौसम अनुसार ज्यालादारीमा कामदार खटाउने गरिएको जानकारी दिनुभयो ।

आचार्यले जैविक कृषिका २० विधामा अध्ययन, अनुसन्धान संगै प्रयोग र उतपादन गर्दै आउनुभएको छ । उहाँले फुर्सदको समयमा नेपालका विभिन्न कृषि फर्महरुको समेत अध्ययन गर्दै आफ्नो कृषि सम्बन्धी ज्ञानलाई बढाउदै आउनुभएको छ । आचार्यले स्थापना गरेको ढोरपाटन पारिवारीक फार्मस्टेले विद्यार्थी, प्राध्यापक, सरकारी अधिकारी, अन्वेषक, इन्टर्न, स्वयंसेवक आदिलाई खाना, बस्न र सिकाइ अभ्यासको काम गर्ने छ भने फर्म, अध्ययन तथा अनुसन्धान गरी त्यहाँको समुदायसँग राम्रो सम्बन्ध स्थापित गर्न मद्दत पु¥याउनेछ ।

आचार्यले रोजगारीको शिलशिलामा मलेसिया गएका युवाको कथा, विदेशीबाट आफ्नै देशको मूल्य थाहा पाएर आफ्नै जन्मभूमि हाँडीकोटको काखमा फार्मस्टे सञ्चालनमा ल्याउनुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *