कांग्रेस भित्र पुस्तान्तरणको अभ्यास र आशा

सम्पादकीय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन पश्चात देश अहिले सरकार गठनको तयारीमा छ । नयाँ सरकार गठनका लागि राजनीतिक दलहरु भित्रै संसदीय दलको नेता चुन्ने चरण तिब्र छ । यसमा अधिकांश दलमा सर्वसम्मत संसदीय दलको नेता चुने पनि नेपाली कांग्रेसमा भने यसपटक तिब्र रस्साकस्सी चलिरहेको छ । त्यो पनि मुलुकको प्रधानमन्त्री रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिने गरी महामन्त्री समेत रहेका युवा नेता गगन थापा चुनावी मैदानमा उत्रिएका छन् । थापा तिनै पात्र हुन्, जसले युवा पुस्ताको आशा र उत्साहलाई जगाइ राख्न उल्लेख्य भूमिका खेलेका छन् । पार्टी भित्र र पार्टी बाहिर उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेका थापा र उनीसँगै देखिएको युवा नेतृत्वको टिमबाट कांग्रेस भित्र पुस्तान्तरणको असली अभ्यासको सुरुवात मात्र होइन, बाहिर समेत आशा र उत्साहको सञ्चार गराइरहेको छ ।

मंगलबार हुने नेपाली कांग्रेस संसदीय दलको नेतामा अन्ततः देउवा र थापा उम्मेदवारी दिएर मैदानमा आएका छन् । संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको प्रस्ताव र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का देखिए भने संस्थापन इतर समूहको नेतृत्व गरेर अहिले दलको नेतामै दाबी गरिरहेका शेखर कोइराला पनि महामन्त्री गगन थापाको समर्थकमा, प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् । ८९ सांसद रहेको कांग्रेस संसदीय दलमा अब अकं गणितको खेल त शुरु भएको छ नै, अब पटक पटक परीक्षण भइसकेका पुरानै नेताको निरन्तरता कि नयाँ पुस्ता, युवाको नेतृत्व भन्नेमा पनि कांग्रेसबाट सांसद चुनिएकाहरुले छिनोफानो गर्नेछन् । विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ । हिजो सम्म प्रधानमन्त्री तथा पार्टी सभापति देउवा सुविधाजनक बहुमतमा देखिएका थिए । संस्थापन इतर समूह आफै बिभाजित अवस्थामा थियो । त्यो सोमबार उम्मेदवारी दर्ताको क्षण सम्म आइपुग्दा माहोल पुरै बदलिएको छ । महामन्त्री गगन थापा सशक्त प्रतिस्पर्धीको रुपमा उदाएका छन् । संस्थापन इतर समूहबाट देउवासँग सभापति लडेका शेखर कोइरालादेखि कांग्रेस महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्री लडेर पराजित प्रदीप पौडेल, प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री उठेर जितेका विश्वप्रकाश शर्मा समेत गगनको समर्थनमा खुलेका छन् ।

गगनले सत्ता र संसदीय राजनीतिमा निकै चतुर मानिएका देउवालाई पराजित गर्न सक्लान्, नसक्लान् । तर, अहिलेको नेपाली राजनीतिमा जे आम अपेक्षा छ, त्यसलाई गहिरो बोध मात्र होइन, आत्मसाथ गरेर अघि बढ्ने दृढता देखाएका छन् । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवाललाई जबरजस्त समयको गतिशीलतासँगै अघि बढ्ने र बढाउने क्रममा छन् । यो प्रयास र अभ्यास नितान्त कांग्रेसका लागि मात्रै नभएर देशकै लागि सुखद कदम हो । पाँच पटक प्रधानमन्त्री भइसकेर पनि मुलुकले सम्झिने कुनै अपेक्षित काम नगरेका देउवा सँग न त आशा छ, न त भरोसा नै, तर, गगन प्रति आम रुपमा आशा, उत्साह र भरोसा छ । उनले महामन्त्री पदमा लोकप्रिय मत हासिल गरेर बिजयी हुँदा पनि आफ्नो जबरजस्त दाबी र उपस्थिति हुने अवस्था सिर्जना गरेका हुन् । अहिले भलै गुटगत राजनीतिमा गगन पराजित नै भए पनि उनले अहिले चालिरहेको जबरजस्त कदम नेपाली कांग्रेस र हरेक राजनीतिक दलका पछिल्लो पुस्ताका लागि राम्रो सिकायतको रुपमा रहिरहनेछ । जुन अहिलेको निर्वाचनको जनमत, आम अपेक्षा अनुरुप समेत छ । अब यस्तो साहस र दृढता हरेक राजनीतिक दल भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुने गरी हुनु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *